बाढीले जुम्लाका विजुलीका संरचना बगाउदा विद्युत आपूर्ति अवरुद्ध



जुम्ला ः बेमौसमी बर्षाको बाढीपहिरोले विद्युत गृह, नहर र बाँध बगाएपछि विद्युत आपूर्ति अवरुद्ध भएको छ । बाढीले आधा दर्जन बढी प्रभावित हुदा विद्युत आपूर्ति अवरुद्ध भएपछि जुम्लाका गाउँबस्त अन्धकार भएका हुन् ।
तातोपानी गाउँपालिका र तिला गाउँपालिका क्षेत्रभित्र रहेका विद्युत गृहमा बाढीले क्षति गरेको हो । विद्युतगृहमा क्षति पुगेपछि दुई स्थानीय तहका बासीन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।
तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिका भित्रका ५ जलविद्युत आयोजनामा क्षति पुगेको बताए । तातोपानी ८ को घट्टेखोला साना जलविद्युत आयोजना २१ किलोवाट, इमिल्चा साना जलविद्युत आयोजना ९ किलोवाट र तातोपानी ७ को ताम्ती साना जलविद्युत आयोजना १८ किलोवाट पुर्ण रुपमा क्षति भएको हो । यी तीनै आयोजनाको विद्युतगृह नहर र बाँध बगाएको उनले बताए । उनले भने, ‘यी आयोजनाको सबै संरचना बाढीले बगाइसकेको छ ।’
यसैगरी तातोपानी गाउँपालिका ४ स्थित गिरीखोला साना जलविद्युत आयोजना २ सय किलोवाटमा क्षति पुगेको छ । हाँकु गाउँमा रहेको साना जलविद्युतमा पनि क्षति पुगेको उनले बताए । गिरीखोला विद्युत आयोजनाबाट भर्खर मात्र विजुली निकालेर गाउँमा लगिएको थियो । यो क्षेत्रको तीन गाउँमा दुइ साता देखि विजुली बलेको थियो । बाढीले आयोजनाको २ सय किलोवाट क्षमताको विद्युत गृहमा रहेको आउटलेट क्यानल ५७ मिटर, इन्टेक कटान गरि पुरै संरचना पुरिएको विद्युत आयोजनाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए ।
यो आयोजनाले तातोपानी गाउँपालिकाको बाइराका देखि चन्दननाथ नगरपालिकाको श्रीढुस्का बस्ती सम्म विद्युत सेवा दिने तयारी भइरहेको थियो । विद्युतमा क्षेति पुगेको गाउँवस्तीमा केन्द्रीय प्रसारण लाइन विस्तार गर्न पहल भइरहेको गाउँपालिका अध्यक्ष न्यौपानेले बताए । उनले भने, ‘तत्काल विकल्पका रुपमा सोलारको व्यवस्थापन गर्न गाउँपालिकाले जिल्ला विपद व्यवस्थापन समितिलाई आग्रह गर्ने छौँ । त्यो संगसंगै राष्ट्यि प्रसारणलाइन जडानमा पनि प्राथमिकता दिन्छ ।’
विद्युत गृहमा समस्या आएपछि मोवाइल चार्ज गर्न समेत समस्या भएको छ । जसले गर्दा त्यो क्षेत्रमा संचार सम्पर्क गर्न कठिन छ । यसैगरी जिल्लाको तिला गाउँपालिकामा तीन जलविद्युत आयोजनामा क्षति पुगेको छ । तिला ४ मा रहेको नाङ्गाडा जलविद्युत आयोजनाको पोल र तार बगाएको छ । यहाँबाट १६ किलोवाट विद्युत उत्पादन हुने गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलले बताए । गाउँमा बलिरहेको थियो । तर बाढीले क्षति पुगेपछि अहिले बन्द छ । उनले भने बिद्युत बगाएपछि गाउँ अन्धकार भएको छ । यो विद्युतले गाउँमा दुई मिल चलेका थिए । मिल पनि बाढीले बगाएको छ । स्थानीय स्तरमा उत्पादन गरिएको विजुली बाढीले बगाएपछि राष्ट्यि प्रशारण लाइन जडान तथा विद्युत मर्मत गर्ने उद्देश्यसाथ नेपाल विद्युत प्राधिकरण जुम्लासहितको टोलीमार्फत अनुगमन गरिएको उनले बताए ।
त्यही क्षेत्रमा रहेको नुवाकोट लघु जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा थियो । स्टोर रुपमा राखेको ४० वटा पोल, ५ हजार मिटर सेतो र ५ हजार मिटर कालो तार, अर्थिंङको सामान र प्लेट सबै बगाएको छ । सबै सामान बगाएपछि विद्युत निर्माण अनिश्चित बनेको छ । तिलाकै भेरीखोला लघु जलविद्युत आयोजना सापुल्लीमा २१ किलोवाट विद्युत निकालिएको थियो । बाढीले नहर भत्काएको छ । विद्युतगृहमा कटान गरेको छ । मर्मत गरेको खण्डमा बत्ति बल्ने देखिन्छ ।
तर, निकै धेरै समय लाग्ने स्थानीय बताउँछन् । सडक संग जोडिएको क्षेत्र भएकोले राष्ट्यि प्रसारण लाइन विस्तारमा जोड दिने भएको छ । स्थानीय हरीबहादुर शाहीले स्थानीय सरकार सग विद्युत मर्मत तथा विद्युतको विकल्प दिन माग गरिएको बताए । अहिले बाढी प्रभावित क्षेत्रमा विजुली नहुँदा स्थानीय सञ्चार सम्पर्कबाट बञ्चित भएका छन् ।

तपाईको प्रतिक्रिया