सिलाइ कटाईले रोकियो कालापहाड


सागर परियार जुम्ला ।


५÷६ वर्ष पहिले तातोपानी २ का लोक बहादुर दमाईको घर खर्च कालापहाडको कमाईकै भरमा चल्थ्यो । घरको उत्पादनले वर्षभरी नपुग्ने,कमाउने स्रोत केही नहुँदा हरेक वर्ष कालापहाड जान लोक बहादुर बाध्य हुनुन्थ्यो ।

उनको आधा बाल्यवस्था कालापहाड जाँदै बित्यो । कति दशै तिहार परिवार संग मनाउन पाएनन् । प्रायः मंसिरमा कालापहाड जाने उनि १÷२ वर्ष कमाएर फर्किने गर्थे । भारतबाट कमाएर नपठाए सम्म घरमा दशै तिहार मनाउन मात्रै हैन अघिपछिको घर व्यवहार चलाउन पनि मुस्किल हुन्थ्यो ।

तर लोक बहादुर दमाईले केही वर्षयता घरमै सिलाईकटाइ व्यवसाय गर्न थालेपछि कालापहाडको यात्रा रोकिएको छ । सीप सिकेर घरमै टर्लरिङ संचालन गरेपछि कालापहाड जाने दुख गएका छन् । घरमै मासिक २० देखि २५ हजार कमाउन थालेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,“कुनै समय थियो घरको नुन तेल,लुगाफाटो गर्न पनि कालापहाडकै मुख ताक्नु पथ्र्यो । ५÷६ वर्ष भयो,घरमै आफ्नै कमाईले सुख संग बसेको छु । सिलाई कटाईको कमाईले परिवार चलेको छ । कालापहाड जानुपर्ने बाध्यताबाट मुक्त भएको छु ।”

त्यस्तै तातोपानी २ कै लाल बहादुर दमाईको कमाउने माध्यम कालापहाड थियो । उनको परिवारनै केही वर्ष भारतमा बसेको थियो । भने,घर फर्किसकेपछि पनि कमाउने कुनै माध्यम नभएपछि फेरि लाल बहादुर कालापहाडनै जानु हुन्थ्यो । भारतमा पल्लीदारी गरेर परिवारको मुखमा माड हाल्नु पर्ने,लुगाफाटो फेर्नु पर्ने बाध्यता थियो ।
कालापहाडको कमाईले घरखर्च चलाउन र साहुको ऋण तिर्दै ठिक्क हुने,परिवार संग रमाउन नपाउने,उमेर पनि ढल्कीदै जान थालेपछि लाल बहादुरले पनि घरमै सिलाई कटाई शुरु गनुभयो ।

तालिम लिएरै सिलाईकटाइ शुरु गरेपछि उनको कमाई राम्रै हुँदै गयो । विस्तारै उनको पनि कालापहाडको यात्रामा पुर्णविराम लाग्यो । लाल बहादुर दमाइ भन्छन,“यसरी चाडै कालापहाड छुट्ला जस्तो लागेको थिएन् । संघर्ष गरेपछि सम्भव रैछ । कालापहाडको कमाईले परिवार पाल्न धौधौ हुन्थ्यो । अहिले सिलाईकटाइकाट घरखर्च,छोराछोरीको पढाइ खर्च गरेर पनि थोरै बच्छ । यसैमा खुसी छु ।”

लाल बहादुर दमाई र लोक बहादुर दमाईका श्रीमान श्रीमतीनै सिलाईकटाईमा बेस्थ हुन्छन् । पहिला श्रीमान भारत जान्थे । ३÷४ महिनाको घरखर्च पठाउथे । त्यहि पुग नपुग हुन्थ्यो । संगै बस्न पनि पाउथेनउ । तर घरमै सिलाईकटाई गरेपछि कमाई पनि राम्रो हुने गरेको लोक बहादुरकी श्रीमती हिमा दमाईले बतानुभयो ।
उहाँका अनुसार पढाइ संगै छोराछोरीलाई पनि सिलाई कटाई सिकाउने तयारी छ । भने, लाल बहादुर दमाई कि श्रीमती नैनी दमाई पनि श्रिमान संगै सधै सिलाईकटाई गर्न जान्छन् ।

लोक बहादुर लाल बहादुर उदाहरण भएपनि जुम्लाका धेरै विपन्न नागरिकलाई सिलाईकटाइ व्यवसायले कालापहाड छुटाएको छ । अधिकांशको कालापहाड अझै छुटेको छैन् । तर कालापहाडमा आधा जीवन बिताएर पनि हाल घरमै सिलाईकटाईबाट मनग्य आम्दानी गर्ने उनीहरु एक उदाहरण हुन् ।

स्थानीय सरकार सिलाईकटाई,खुद्रा होटल व्यवसाय,तरकारी खेति गर्नेलाई २ वर्षपहिले निरब्याजी ऋण दिएको समेत तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । व्यवसाय प्रर्बदनका लागि आगाामि दिन स्थानीय थप व्यवसायिक योजना तथा कार्यक्रम ल्याउने उहाँको भनाई छ ।

निरब्याजी ऋण लिएर लाल बहादुर र लोकबहादुर पनि सिलाईकटाईलाई व्यवसायीक बनाउदै लिएका थिए । व्यवसाय प्रबर्दन,युवालाई रोजगार दिन नरब्याजी ऋण कार्यक्रम प्रभावकारी भएपनि स्थानीयतहले निरन्तरता भने दिन सकेनन् । स्थानीयतहले दिने सिलाईकटाई कार्यक्रम विपन्न वर्ग दलितलाई भन्दा पनि हुनेखाने तालिम दिने गरेको दमाई समुदायको गुनासो छ ।

 

तपाईको प्रतिक्रिया