घरेलु प्याट निर्माणले छुईमान्न छुटायो, स्वास्थ्य स्थीतीमा सुधार

नन्दराम जैसी
जुम्ला । हिमा गाँउपालिका ४ कि ४० बर्षिया सिद्धा शाहि महिनावारी (छुई) हुन थालेको २७ बर्ष भयो । १३ बर्षदेखि महिनावारी हुन थालेकी उनि १ बर्षअघि हरेक महिना छुई हँुदा कम्तीमा ५ दिन छाउ गोठमै बस्दै आएकि थिईन् । २७ बर्षको ३ सय २४ महिनामध्य सरदरमा ५ दिनले १६ सय २० दिन अर्थात त्यसको झँण्डै साढे ४ बर्षका राति उनले छाउ गोठमै सुतेर बिताएकि छन् ।

छाउ गोठमा सुत्दा विभिन्न कठिनाई भोगेकि उनले, धेरै संघ संस्थाबाट जनचेतना÷क्षमता अभिबृद्धिका अवसर पाएपछि अहिले छाउमान्न पनि छोडेकि छन् । सिद्धा शाहिसँग ठ्याकै समस्या मिल्ने अधिकांस महिलाहरुले गाँउका घरेलु प्याट निर्माण अभियान विस्तार कार्यले छाउमान्न छुटाएको दावि गरेका छन् ।

वाटर÷एड नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको आयोजनामा गाँउका महिलाले पटक पटक महिनावारी स्वच्छता ब्यवस्थापन सम्बन्धि तालिम पाएपछि घरमै प्याट बनाउन पनि सिकेका छन् । हरेक महिना आमा समुहमा हुने औपचारीक छलफल र मेलापातमा दिदि बहिनिबिच हुने अनौपचारीक छलफलपछि छाउप्रथा मान्ने महिलाहरुको संख्या विस्तारै घट्दै गएको छ ।

‘छाउ हुँदा घरभित्र बसे देवि देवताले सराप्ने, बोट विरुवा छोए पाप लाग्ने वा सुक्ने र गाई भैसीको दुध दही खान नहुने लगाएतका अन्ध विश्वासका कुरीतिले गर्दा मेरो स्वास्थ्य निकै कमजोर भयो, अहिले छाउ नमान्दा स्वास्थ्य अवस्था सुर्धिएको छ’ सिद्धा शाहिले भनिन्, आफुले यसबारे राम्रोसँग बुझेकाले आफ्नी छोरीलाई पनि छाउ मान्न नदिएर महिनावारी हुँदा नियमित सरसफाई गरी घरभित्रै बस्न लगाएको उनले बताईन् ।

यता हिमा ३ कि २७ बर्षिया सेतु योगीको पनि उस्तै कथा छ । उनले भनिन्, ‘जव समुह र घरमा स्वास्थ्य सवालका कुरा बढ्दै गए, हामिले घरमै सफा कपडाबाट प्याट बनाउन पनि सिक्र्यौ, त्यसले छाउ हुँदा प्याट प्रयोग गर्न मात्र होईन, छाउमान्ने दिन घटाउदै शुन्यमा झर्र्यो’ । घरमा उपलब्ध सफा कपडाको प्याट बनाएर प्रयोग गर्ने गरेको उनको भनाइ छ ।
महिनावारीको बेला सुख्खा खानेकुरा खाने, प्याट प्रयोग नगर्ने, पातलो आछ्यानमा सुत्ने, चिसोले सताउने जस्ता कारणले धेरै रगत बगेर कैयौँ महिलाहरुको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ, भने कतिपयले छाउप्रथाकै कारण अकालमा ज्यान पनि गुमाउनु परेको छ ।

परम्परागत रुढिबादि छाउ संस्कार हटाउन स्वयंम छाउ मान्ने ब्यक्ति र महिनावारी हुने महिला परिवर्तन हुन जरुरी रहेको कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रका स्टाफनर्स सृर्जना न्यौपानेले बताईन् । सबैले महिनावारी हुँदा छाउ गोठमा नभएर नियमित यौनि तथा शरीर सरसफाइ गरी घरभित्र बस्नुपर्ने उनको भनाई छ ।

हिमा गाँउपालिकाकी उपप्रमुख हिमालि रोकायाले गाँउपालिकालाई छाउपडि मुक्त पालिका बनाउन नियमित लागी परेको बताईन् । ‘महिनावारी हुने महिलालाई लक्षीत गरी आगामि आर्थिक बर्ष छाउप्रथा विरुद्ध जागरण अभियान संचालन गर्नेछौ, गाँउपालिकाले स्वास्थ्यका क्षेत्रमा अनिवार्य १० प्रतिशत बजेट बिनियोजित गर्नेछ, जसबाट स्वास्थ्य, सरसफाई सुधारसँगै छाउप्रथा न्युनिकरण हुनेछ’ उनले भनिन्, ‘महिलाहरु विस्तारै परिवर्तन हुदै गएका छन्, यो कुरीति अन्त्य गर्न अब धेरै समय पर्खिने दिन छैनन्, यसमा सबैले साथ दिनुपर्छ, हामि नेतृत्व गर्छौ’ ।

प्रतिक्रिया दिनुहोस