गिरीजस्तै बुटवलका रमेश न्यौपानेले पनि जुफाल विमानस्थलमा टिकटका लागि चार दिन बस्नुप¥यो । डाँगीले भने, “चार दिनपछि मात्र टिकट पाइयो, छिनछिनमा बादल लाग्नुका साथै हिउँ पर्दा उडान अवरुद्ध हुँदा समस्या भयो । चिसो अत्यधिक छ । अनलाइनबाटै टिकट पाउन सके सहज हुन्थ्यो ।”
डोल्पाका अधिकांश सर्वसाधारण र घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक हवाईमार्गबाटै नेपालगञ्ज झर्ने भएकाले यात्रुको चाप बढी हुने गर्दछ । नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थलमा जाँदा रु नौ हजारभन्दा बढी भाडा लाग्छ भने जुफालबाट नेपालगञ्ज आउँदा रु पाँच हजार बढी भाडा तिर्नु पर्छ । जति महङ्गो भए पनि भनेको बेला टिकट नपाउँदा यात्रुले समस्या भोग्दै आएका छन् । पत्रकार महासङ्घ डोल्पाका सचिव लेखबहादुर बुढा भन्छन्, “टिकट हातमा परे पनि ढुक्क हुने अवस्था छैन, सिकिस्त बिरामी आए उनीहरुलाई नै पठाउनुपर्छ ।”
डोल्पामा निजी क्षेत्रका दुई हवाई कम्पनीले उडान भर्दै आएका छन् । समिट र तारा एयरले मात्र डोल्पामा एक÷एक उडान भर्दा यात्रुको चाप बढेको हो । नेपाल एयरलाइन्सले डोल्पामा उडान नभरेको झण्डै दुई वर्ष हुन थालेको छ । यात्रुको चाप हेरेर उडान सङ्ख्या थप्नुपर्ने माग डोल्पावासीको छ । डोल्पाको मेसिनेचौरमा समेत अर्को विमानस्थल छ, तर त्यो सञ्चालनमा आउन सकेको छैन ।
सडक स्तरोन्नतिको ढिलाइले हवाईमार्ग रोजाइ
जाजरकोट–डोल्पा सडकखण्डको ११८ किलोमिटर लम्बाइमध्ये १७ किलोमिटर सडकको स्तरोन्नतिको काम दुई वर्षदेखि सुरु भए पनि अझै पूरा भएको छैन । सडकखण्डको बीचमा रहेका झण्डै १३ पुलमध्ये जाजरकोट खण्डको अधिकांश पुल निर्माणको चरणमा भए पनि डोल्पा खण्डमा निर्माण पूरा नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।
सडक डिभिजन चौरजहारीले सडक र पुल निर्माणको जिम्मा लिएको छ । जाजरकोट खण्डको १७ किलोमिटर सडक कालोपत्र गर्नका लागि आठबीसकोट नगरपालिकाका प्रमुख गोखरबहादुर केसीले लिएको ठेक्काको काम दुई वर्ष बित्दा पनि पूरा भएको छैन । रिम्नाबाट तल्लुसम्म सडक स्तरोन्नतिका लागि ठेक्का अन्तिम चरणमा पुगेको डिभिजन प्रमुख ध्रुव झाले बताए । यी खण्डमा अघिल्लो वर्ष नै निर्माण पूरा गर्ने भनिएका पुल यस वर्ष पनि निर्माण हुने अवस्था छैन ।