जुम्लामा सडक सुरक्षा अभियानःअतिक्रमणको चपेटामा सडक


सागर परियार जुम्ला ।


कर्णाली राजमार्गमा पर्ने विभिन्न स्थानमा मनपरी निर्माण गरेका घर,टहरा,अव्यवस्थित रुपमा फालिएका गिट्टी,बालुवा र ढुंगा,सरिया लगायतका सामाग्रीले सडक अतिक्रमणमा परेको छ । कर्णाली राजमार्ग कालोपत्रे भएसंगै सडक अतिक्रमण पनि ह्वात्तै बढेको हो ।

जसमा जुम्लाको रारालिहि बजार,त्रिबेणी,कुडारी,लिताकोट,तातोपानी,एैरेनी,लाम्रा,उम्गाड र बसपार्क क्षेत्रमा सडक अतिक्रमण बढेको छ । सडक डिभिजन जुम्लाले पटक पटक सार्वजानिक सम्पत्ति तथा सडक अतिक्रमण नगर्न अनुरोध नगरेपनि सडकमा स्थानीयको मनपरी रोकिएको छैन् । कर्णाली राजमार्ग कालोपत्रे भएपश्चात सडक अतिक्रमण गरेरै जुम्ला खण्डमा दर्जनौ घर टहरा निर्माण भएका छन् ।

अतिक्रमणले एकातिर सडक साँघुरिदै गएको छ । भने,अर्कोतिर दुर्घटनाको जोखिम बढेको छ । तर सडकका नाली देखिन्छ, नत सडक डिभिजनले लगाएको चिन्ह नै देखिन्छन् । मनपरी तवरमा सडक छेउमा घर टहरा निर्माण तथा जथाभावी निर्माण सामाग्री फाल्ने गरेका छन् ।

जुम्लाको बसपार्क क्षेत्र र तातोपानी पर्यटन क्षेत्रमा सडक अतिक्रमण धेरै छ । तातोपानी २ का स्थानीय रुद्रसिंह मल्लले भने,“सडक व्यवस्थापनभन्दा पनि हरेक व्यक्ति आफ्नो स्वार्थका लागि सामाजिक हित बिर्सेर अघि बढेका छन् । वडा पालिका र सडक डिभिजनसँग समन्वय नगरी राजमार्गलाई असर पर्ने गतिविधि गर्नेलाई कारबाही गरिनु पर्छ ।”

सडक फराकिलो तथा सुरक्षित बनाउनका लागि सूचना टाँस गरेर अनुरोध गर्नुभन्दा पनि सडक डिभिजन,प्रहरी प्रशासन अतिक्रमण गर्ने विरुद्ध आक्रमक बन्न स्थानीयको माग छ ।

सडक सुरक्षा अभियान शुरु
सडक डिभिजन जुम्लाले सडक सुरक्षा अभियान थालेको छ । कर्णाली राजमार्गको विभिन्न खण्डमा सडक अतिक्रमण बढ्न थालेपछि “सडक सबैको साँझा सम्पत्ति हो,यसको संरक्षणमा सबै एकजुट भै लागौ” भन्ने नाराका सडक सुरक्षा अभियान थालिएको हो । सडक संरचनाभित्र स्थानीयले मनपरी रुपमा निर्माण सामाग्री फाल्ने,घर टहरा निर्माण गरेको पाइएकोले खाली गर्न पहिलो चरणमा सूचना टाँस गरिएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए ।

उनले भने,“सवारी साधन आवतजावतमा बाधा पुग्ने,सार्वजानिक हित विपरित राखिएका निर्माण सामाग्री हटाउन अनुरोध गरेका छौ । सडक सुरक्षा अभियान चलाएर पहिलो चरणमा मौखिक अनुरोध पनि गरेका छौ । सात दिन भित्र सडकको सिमा खाली नभए प्रक्रियामा जान्छौ ।” पहिलो चरणमा जुम्ला सदरमुकामको बसर्पाक क्षेत्रमा सुरक्षाकर्मी र सडक डिभिजनको अगुवाईमा सडक सुरक्षा अभियान चलाइएको छ ।

सात दिनभित्र सडक खाली नभए कार्यालयले आफ्नै तरिकाले हटाउने र त्यसबाट पर्न जाने क्षती प्रति कार्यालय जवाफदेहि नहुने समेत चेतावनी दिइएको छ । साथै संरचना हटाउँदा लाग्ने खर्च समेत सार्वजानिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सम्बन्धीत व्यक्तिबाटै असुल उपरगरीने छ ।

दुर्घटनाको जोखिम बढ्दै

अतिक्रणले सडक साँघुरिदै गएपछि दुर्घटनाको जोखिम बढेको छ । बसपार्क क्षेत्र र तातोपानी पर्यटन क्षेत्रमा सडक साँघुरो भएपछि दुर्घटनाको जोखिम बढेको हो । दैनिक सवारी चाप हुने बसपार्क र तातोपानी स्थानीयको लापरबाहि,सवारी चालकहरुले मनपरी पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको तातोपानी पर्यटन विकास केन्द्रका अध्यक्ष नवराज बुढाले बताए ।

उनले भने,“तातोपानी क्षेत्रमा सवारी चाप धेरै छ । पार्किङ व्यवस्थापन हुन सकेको छैन् । सार्वजानिक सम्पत्ति संरक्षणमा नागरिक जिम्मेवार छैनन् । त्यसैले सडक सुरक्षा अभियान गाउँकेन्द्रित बनाउनु पर्छ ।”

सडकले चिन्ह लगाएको संकेत पनि छैनन् । ढल निकासा पनि पुरिएका छन् । सडक डिभिजनका प्रमुख राजिव श्रेष्ठले भने,“सडक सुरक्षा अभियान बजार हुदै गाउँ सम्म पुग्छ । दुर्घटनाको जोखिम हटाउन पनि अतिक्रमण हटाउन आबश्यक छ । भने सार्वजानिक सम्पत्ति संरक्षणमा नागरिकलाई जिम्मेवार बन्नुपर्छ ।”
कर्णाली राजमार्गमा एक गाडीले अर्को गाडीलाई साइट दिने समेत ठाउँ छैन् । जसले दुर्घटना बढ्दो छ । सडक सुरक्षा अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गनुपर्नेनागरिक अगुवाहरुको माग छ ।

तपाईको प्रतिक्रिया