अपटेडःसिंजा बस दुर्घटनाःमृत्तक दुबै जनाको सनाखत


सागर परियार जुम्ला ।


जुम्लाको सिंजा गाउँपालिका २ स्थित घोडेङ्गामा बस दुर्घटनामा मृत्यु भएका दुबै जनाको सनाखत भएको छ । बुधबार (आज) विहान साढे ६ बजे बस दुर्घटना हुँदा चालक दैलेख गुराँस गाउँपालिका १ निवासी वर्ष ३२ का नविन रावल र सहचालक कालिकोट पलाता गाउँपालिका ९ निवासी वर्ष २३ का विशाल बमको घटना स्थलमै मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्तक दुबै जनाको सनाखत भएर शबको पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ ल्याइदै छ । डिएसपी चन्दले भन्नुभयो,“दुर्घटना स्थल जोखिमपुर्ण पनि छैन् । तर गती असिमित रहेको मोडमा बस अनियन्त्रीत भइ दुर्घटना भएको अनुमान छ । बस नाग्म–गमगडी सडकदेखि डेढ सय मिटर तल खसेको छ ।”

आज विहान कनकासुन्दरी गाउँपालिकाको गुठिज्युलाबाट नेपालगन्जतर्फ जाँदै गरेको ना.६ ख ४४३८ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताउनु भयो ।

उहाँका अनुसार दुर्घटनामा परी घाईते भएका कनकासुन्दरी गाउँपालिका वडा नं. ४ निवासी वर्ष ४० की युक्ती कार्की र सोही वडाका वर्ष २५ विरबल घतीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियूमा थप उपचार भइरहेको छ । घाइते दुबै जना गम्भीर भएपनि खतरा बाहिर रहेको प्रतिष्ठानले जनाएको छ ।

कर्णाली राजमार्ग अन्तरगर्तकै नाग्म गमगडी खण्डमा गुड्ने अधिकांश सवारी पुराना र थोत्रा भएकै कारण दुर्घटना हुने गरेको छ । नागरिक अगुवा राज बहादुर महत भन्छन्,“एक लेनको कच्ची सडकमा प्रायः पुराना थोत्रा सवारी चल्छन् । त्यसमै गति असिमित गरी गुडाउने अपरिपक्क चालकहरुकै कारण कर्णालीमा सवारी दुर्घटना बढ्दै गएको छ ।”

तपाईको प्रतिक्रिया