मंहगो मुल्यमा बिक्यो जुम्लामा छायांकन भएको ‘प्रकाश’को डिजिटल राइट्स


कर्णाली पोष्ट संबादाता ।

दिनेश राउतको निर्देशन तथा अभिनेता प्रदिप खड्काको मुख्य भुमिका रहेको सिनेमा ‘प्रकाश’को डिजिटल राइट्स बिक्रि भएको छ । डिएआर मुभिजले सिनेमाको डिजिटल राइट्स खरिद गरेको हो ।

सिनेमा ‘प्रकाश’का निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट संचालक श्याम धितालको उपस्थितिमा सिनेमा खरिद सम्झौता गरिएको छ । हाल सम्मकै महँगो रकममा डिजिटल राइट्स बिक्रि भएको निर्माता अधिकारीले बताए ।

सिनेमाको भारतमा हिंन्दी भाषामा डब गरेर समेत प्रदर्शन गर्ने तयारी रहेको निर्मताले जानकारी दिए । सिनेमा भारतका विभिन्न शहरमा रहेका सिनेमा हलमा नेपाली भाषामा समेत प्रदर्शन गरिनेछ ।

बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमामा प्रदीपका अलावा रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही र जुम्लाका पुर्ण प्रसाद चौलागाई लगायतका कलाकारहरुको अभिनय रहेको छ । जुम्लाको जनजीविका विषयबस्तु समेटीएर निर्माण भएको उक्त फिल्म भारतका राम्रै बजार पाउने अपेक्षा रहेको कलाकार चौलागाईले कर्णालीपोष्टलाई बताए ।

विकास सुवेदीको कथा रहेको सिनेमामा राजेश श्रेष्ठको छायाँकन र जिवन थापाको सम्पादन रहेको छ । सिनेमामा दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ । सिनेमाले गाउँको युवाले शिक्षकको सरकारी जागिर खान गर्ने संघर्षको कथा बोकेको छ ।

सिनेमाको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन । छिट्टै सिनेमाको पोस्टर तथा टिजर सार्वजनिक गरिने निर्माण टिमले जानकारी दिएको छ । सोही अवसरमा सिनेमाको प्रदर्शन मिति समेत घोषणा हुनेछ ।

तपाईको प्रतिक्रिया