बालविवाहको चपेटामा किशोरी आमा !


मानदत्त रावल, जुम्ला ः मध्य दिनको चर्को घाम, निधारमा चिटचिट पसिना, छेउछाउमा लालाबाला (बालबच्चा), पढ्ने लेख्ने उमेरमा तीन बच्चाका पालनपोषण, शिक्षादिक्षा, औषधिमुलो अभिभावकत्वको जिम्मेवारी छ एक किशोरीको काँधमा । घरखर्च चलाउन समस्या भएपछि मेलापात ज्याला मजदुरी गर्न विवश छिन् ।
तातोपानी गाउँपालिका–२ की २४ वर्षीया कालिका डाँगीले विवाह गरेको १० वर्ष भयो । साथीको लहलहैमा लागेर उनले १४ वर्षको कलिलै उमेरमा भागी विवाह गरेकी हुन् । अहिले उनी तीन सन्तानकी आमा बनेकी छन् । विवाह गरेको दुई वर्षमै उनले पहिलो सन्तान छोरी जन्माइन् । विवाहपछि घरपरिवारले राम्रो नगर्दा उनी र पति अलग बस्न थाले ।

उनी भन्छिन्, ‘सानैमा बिहे गरेर बन्धनमा परियो, अहिले पीडाले थलिएकी छु । त्यसैमा तीन÷तीन वटी छोरी हुर्काउनु पर्ने बाध्यता छ ।’ तीन सन्तानले मात्र पुगेको छैन, छोरा जन्माउनैपर्ने पारिवारिक दबाब उनीमाथि छ । जसका कारण उनको मानसिक अवस्था कमजोर बन्दै गएको छ ।
‘हामी महिलाले सधैं अर्काकै चाहाना पूरा गर्नुपर्ने ? मर्न लागे पनि कसैलाई वास्ता छैन । जिन्दगी मेरालागि बोझ भइसक्यो’, उनले दुखेसो पोखिन् ।

बिहेपछि कालिकाका पति कृष्ण डाँगीको पढाइमा पनि पूर्णविराम लाग्यो । पति पाटनमा भेडा चराउने गर्छन् । कालिकालाई तीन छोरी लिएर घर धान्न मुस्किल छ । उनलाई बालबच्चा हुर्काउनै समस्या छ । सानै उमेरमा उनले निर्वाह गर्नुपर्ने जिम्मेवारी र घरमा आर्थिक समस्याका कारण पैसाको जोहो गर्नुपर्ने भएकोले उनको पढाई लगायतका काम रोकिए । अहिले कालिकासँग आठ, पाँच र दुई वर्षकी छोरी छन् । २४ वर्षमै तीन सन्तानको आमा बनेकी कालिकाको बिहेपछि पढाइ त रोकियो नै, स्वाथ्यमासमेत असर पुगेको छ ।

यस्तै बालविवाहको चपेडामा परेको बताउन्छन् तातोपानी गाउँपालिका ५ श्रीनगरकी ७० वर्षीया पुञ्चकला खत्री । उनले भनिन् मेरो पनि ७ वर्षको उमेरमा २००८ सल तिर विवाह भएको हो । त्यतिबेला विवाह हो या बालविवाह हो कुनै थाहा नभएको उनले बताईन । अहिले जस्तो त्यतिबेला पढ्ने लेख्ने जवाना थिएन । पढ्न लेख्न पाईन । बा आमाले पढाएनन् । कखरा पनि पढेकी छैन । पढ्ने लेख्ने कुरै थाहा भएन । १२ वर्षको उमेरदेखि खेती किसानीका काममा आफु सक्दो काम गर्थे । विवाह गरी पोइली घर आएदेखि मेरा दैनिकी खेतीपातीमै वित्ने गरेको छ । खेती किसानीमा अहिले मेरा ५८ वर्ष वितिसकेका छन् । मेरो ३२ वर्षको उमेरमा श्रीमानको निधन भएको हो । त्यो बेलादेखि एकल महिलाको जीवन विताईरहेको छु ।

जुम्लामा उहिले देखि अहिलेसम्म बालविवाह रोकिएको छैन । ५० औँ वर्षसम्म पनि बालविवाह जस्तो सामाजिक कुस्कार नरोकिनु दुखद पक्ष हो । विहेबारी २० वर्ष पारी भन्ने सरकारी नारा नारामै सिमित रहेको छ । यहाँ केही समय पहिले गर्भावस्थामै एक अर्काेलाई विवाहका छोराछोरी दिने र लिने चलन थियो । तर त्यो अवस्था अहिले छैन ।

यसपछि सानैमा पुण्य कमाउने नाममा आमा बाबुले छोरीको विवाह गर्ने चलन आयो । अहिले यो अवस्थामा पनि कमी आएको छ । सहर बजार भन्दा पनि गाउँभरमा आमा बाबुको सहमति विनै मेलापात, विद्यालय गएको समयमा भागेर बालविवाह गर्ने चलन छ ।

जुम्लाका ८ सय ६० जना किशोरी २० वर्ष नपुग्दै आमा बनेको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा जुम्लाका ८ वटै स्थानीय तहका ८ सय ६० जना २० वर्षमुनिका बालिका गर्भवती भएका हुन् । आर्थिक वर्ष ०७६÷७७ मा जिल्ला भर ८५५ जना २० वर्षमुनिका किशोरी आमा बनेको तथ्यांक छ ।
जुम्लामा हालसम्म बालबिवाहको यकिन तथ्यांक नभए पनि २० वर्ष नपुग्दै गर्भजाँच गराउने किशोरीको संख्या हेर्दा बालविवाहको अवस्था बढ्दो देखिएको हो । शिक्षा, चेतना अभाव तथा गरिबीका कारण दूरदराजमा अझै बालविवाहको समस्या विद्यमान छ । सोही कारण सानै उमेरमा बच्चा जन्माउने आमा बन्ने र शिक्षा, स्वास्थ्य, रोजगारका अवसरबाट वञ्चित हुनु पर्नेमा बाध्यता छ ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आवमा २० वर्ष नपुग्दै गर्भजाँच गराउने अर्थात् आमा बन्नेको संख्या कुल ८ सय ६० जना रहेकामा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १ सय ९० र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी छन् ।
पातारासी गाउँपालिकामा १ सय ३४, कनकासुन्दरीमा ९०, सिँजामा ६८, गुठीचौरमा ९५, तिलामा १ सय ४० र हिमामा ७७ गरी जम्मा ८ सय ६० जना जुम्लाका किशोरी गत आवमा उमेर नपुग्दै आमा बनेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताए ।
गत वर्षमा १ सय ८० जनाले निकै कमतौल भएका बच्चा जन्माएका छन् भने २० वर्षमाथिका ३ सय ७६ र २० वर्षमुनिका ३० जना किशोरीले गर्भपतन गराएका छन् । उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन स्वास्थ्यमा असर देखिनेलगायत समस्या आउनुमा बालविवाह मुख्य कारण रहेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आर्थिक वर्ष ०७४÷७५ मा अस्पतालमा सुत्केरी गराउन आएका ६७४ मध्ये १७९ जना किशोरी थिए । आव ०७५÷७६ मा सुत्केरीका लागि आएका ६७८ महिलामध्ये १३० जना किशोरी २० वर्षमुनिका थिए । सुत्केरी गराउन आउनेमा २०–३४ वर्षका ५१८ र ३५ वर्षदेखि माथिका २७ जना रहेको अस्पतालले जनाएको छ ।
२०६८ को जनगणना अनुसार जिल्लाको कुल जनसंख्या १ लाख १८ हजारमध्ये ५५ हजार ४ सय ४२ बालबालिका छन् । ति बालबालिका मध्ये जुम्लामा ६९ प्रतिशत बालबालिकाले बालबिवाह गर्ने गरेको पाइएको छ ।
सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश सुर्खेतको तथ्यांक अनुसार कर्णाली प्रदेशको सबैभन्दा कम डोल्पामा ४९ प्रतिशत र सबैभन्दा बढि रुकुम पश्चिममा ७१ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ ।
यसैगरी कर्णाली प्रदेशका १० जिल्लामध्ये मानव विकास सुचांकका आधारमा चौथो स्थानमा रहेको जुम्लामा बालविवाहकै कारण १९ वर्ष मुनिका ३३ प्रतिशत बालिका गर्भवति हुने गरेका छन् । यसले बालिकाको स्वास्थ्य र शिक्षामा मुख्य असर पार्नुका साथै कतिपय बालिकाको गर्भावस्थामै मृत्यु हुने गरेको छ । यसरी किशोरी उमेरका आमा बन्नेको संख्या सहरभन्दा ग्रामीण क्षेत्रमा बढी छ ।

किशोर उमेरमै आमा बन्नुपर्दा अधिकांशको ज्यान जोखिममा पर्ने गरेको छ । आमा र बच्चा दुवैलाई विभिन्न खालका स्वास्थ्यमा समस्या देखिने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । बढ्दो बालविवाहका कारण आमा बन्ने महिलाको संख्यामा वृद्धि हुँदा किशोरी आमामा स्वास्थ्यसँगै मानसिक समस्यासमेत बढ्दो रहेको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले बताए ।

‘कम उमेरमा विवाह गर्ने र चाँडै आमा बन्ने हुँदा किशोरीको ज्यान जोखिममा छ,’ उनले भने, ‘कम उमेरमा आमा बन्दा उनीहरूमा विभिन्न खालका स्वास्थ्य समस्या देखिएको छ भने अर्कातिर सोही कारणले उनीहरू घरेलु हिंसामा समेत पर्ने गरेका छन् ।’ किशोरी आमाको शारीरिक अपरिपक्वता हुनुका साथै मानसिक तथा सामाजिक रूपले पनि अवस्था कमजोर हुने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकी स्त्री रोग विशेषज्ञ डा. सुवि बस्नेतले बताइन्  ।

कम उमेरमा विवाह गरेर किशोरी आमा बन्नुमा अन्धविश्वास र सामाजिक परम्परा प्रमुख कारण रहेको स्वास्थ्यकर्मीको बुझाइ छ । परिवार नियोजनका अस्थायी साधनबारे राम्रो जानकारी नहुँदा पनि किशोरीले कम उमेरमै बच्चा जन्माउने गरेका छन् ।
बालविवाहका कारण अन्य पारिवारिक जिम्मेवारी बढ्ने, स्वतन्त्रताको कमी हुनेजस्ता कारणले गर्दा यस्ता किशोरीमा मानसिक समस्यासमेत देखिने गरेको हो । बालविवाह अन्त्यका लागि जनचेतनाको आवश्यकता रहेको स्वास्थ्यकर्मी हिमाली खत्रीको भनाइ छ । कम उमेरमा विवाह हुँदा महिलाको पाठेघर खस्ने, अस्वस्थ बच्चा जन्मने, पारिवारिक बोझले शिक्षा पूरा गर्न नपाउनेजस्ता विविध कुराले वृत्तिविकासको ढोका बन्द हुने उनले बताइन् । बालविवाहले शैक्षिक रूपमा पनि महिला निकै पछि परेको खत्रीको तर्क छ ।

जिल्लाको सबैभन्दा बढी बालविवाह हुने गरेको पातारासी गाउँपालिकाले बालविवाहविरूद्धको अभियान सञ्चालन गरेको छ । परिपक्व नभएर गरेको विवाहले पढाईमा मात्र नभएर मानसिक, शारीरिक, सामाजिक र आर्थिक रूपमा अनेक प्रतिकुलता ल्याएको छ । सानै उमेरमा विवाह गरेका बालबालिकाहरू शिक्षा र जनचेतनाबाट वञ्चित हुने, छिट्टै आमा बन्ने र त्यसको सम्पूर्ण जिम्मेवारी उनिहरूलाई मात्र हुँदा मानसिक समस्या बढ्दै गइरहेको छ ।

बालविवाह आफैँमा एउटा ठूलो समस्या त हुँदै हो, अझ यसका बहुआयामिक असरबाट समाजमा धेरै समस्या सिर्जना भएका छन् । विभिन्न प्रयास गर्दागर्दै पनि सबै बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने सरकारको उद्देश्य पूरा नहुनुको प्रमुख कारण समेत बालविवाह बनेको छ ।

जिल्लामा विद्यालय पढ्दै गरेका बालबालिकाको विवाह हुने सङ्ख्या बढिरहेको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए । बालविवाह रोक्न जिल्लाभर विभिन्न अभियानहरू सञ्चालन गरेपनि बालविवाह न्यूनीकरण नभएको उनको भनाई छ ।
विपन्न समुदायमा आर्थिक अभावका कारण विद्यालय पढाउनु भन्दा छोराछोरीको विवाह गरिदिने गरेको पाइएपनि सम्पन्न परिवारका बालबालिका स्वयम्ले भागेर विवाह गर्ने गरेको भेटिएको उनले जानकारी दिए । उनका अनुसार बालविवाह गरेका जोडीहरू बीचमै पढाई छोड्ने, सानै उमेरमा आमा बन्ने, सानै उमेरमा सम्बन्ध बिच्छेद गर्ने जस्ता समस्याहरूबाट पिरोलिनुपरेको छ ।
सानै उमेरमा विवाह गर्दा उनीहरू सानैमा गर्भवती हुने र स्वास्थ्यका दृष्टिले निकै समस्या हुने गरेको, परिपक्व भएपछि एक अर्काप्रति वितृष्णा पैदा हुने र त्यसपछि सम्बन्ध विच्छेदको चरणमा पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताइन् । सानै उमेरमा प्रजनन् अङ्गहरूको पूर्ण रूपमा विकास नभएको र यस्तो अवस्थामा विवाह गर्दा शिशु मृत्युदर, मातृ मृत्युदर बढ्ने, पाठेघर खस्ने, पाठेघरको क्यान्सर हुनेजस्ता यौनजन्य रोग लाग्नुका साथै अन्य सामाजिक समस्याहरूको बीचमा बाँच्नुपर्ने बाध्यता हुने गरेको उनको भनाई छ । परम्परागत गलत संस्कार, जनचेतनाको कमी, अशिक्षा र गरिवीका कारण बालविवाह बढिरहेको उनले बताइन् ।
गाउँँघरमा बालविवाह धेरै हुने गरेपनि जिल्ला प्रहरी कार्यालय जुम्लामा बालविवाह उजुरी निकै कम आउने गरेका छन् । १३ चैत ०७५ सालमा तिला गाउँपालिका–३ की एक बालिकालाई चन्दननाथ नगरपालिका १० बस्ने दीपक कामीले ललाईफकाई भगाएर बालविवाह गरेको उजरी प्रहरीमा परेको थियो ।
बालिकालाई प्रलोभनमा पारेर आफ्नो घरमा ल्याएर राखेको अवस्थामा प्रहरीले दीपक कामीलाई तीन वर्ष कैद र १० हजार जरीवना जिल्ला अदालत जुम्लाले तोकेको छ ।
कुनै पनि व्यक्ति बालविवाहमा संलग्न भएमा विवाह गर्ने र गराउनेमध्येका उमेर पुगेकालाई ६ महिनादेखि तीन वर्षसम्म कैद र एक हजारदेखि १० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान भएपनि बालविवाहको उजुरी प्रहरीमा नआउने गरेको प्रहरी निरीक्षक यूवन चौधरीले बताए ।
यस्तै १० वर्षमुनिका नाबालक बालिकालाई बिहे गर्न जबर्जस्ती गर्नेलाई ६ महिनादेखि एक वर्षसम्म कैद र एक हजारदेखि १० हजारसम्म जरिवाना हुन्छ भने १० देखि १४ वर्षका बालबालिकालाई विवाह गरे–गराएको रहेछ भने तीन महिनादेखि एक वर्ष कैद र पाँच हजारसम्म जरिवाना हुने प्रावधान छ ।
यस्तै १४ वर्षदेखिमाथि २० वर्षको किशोरीलाई बिहे गर्न जबर्जस्ती गर्नेलाई ६ महिनासम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुन्छ । यसका साथै बालविवाह गर्ने गराउने, अभिभावक पुरोहित, लमी, जन्ती र विवाह गर्न सघाउनेलाई एक महिनासम्म कैद र एक हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस