जुम्लामा भाडादर निर्धारण,लागु गर्न व्यवसायी असमर्थ


सागर परियार,जुम्ला। 

जुम्लामा गुड्ने साना तथा ठुला यात्रुबाहक सवारीको भाडादर निर्धारण गरिएको छ । सरकारले निर्धारण गरेको लामो तथा छोटो दुरीका सवारीको भाडादर कार्यान्वयनका लागि यातायात व्यवस्था सेवा कार्यालय,प्रहरी प्रशासन,नागरिक समाज,राजनीतिक दल र यातायात व्यवसायीबीच छलफल गरिएको छ । जुम्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीले मनपरी महंगो भाडा लिएको जनगुनासो बढेपछि सरकारले तोकेको भाडादर निर्धारण र कार्यान्वयनका लागि छलफल गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले सरकारले निर्धारण गरेको भाडादर यर्थाशिघ्र कार्यान्वयन गर्नुपर्ने बताइन् । उनले भनिन,“प्रत्यक यात्रुबाहक सवारीमा भाडादर अनिवार्य टाँसिएको हुनुपर्छ । सर्वसाधरणबाट व्यापक गुनासो आएको छ । मनपरी भाडा बढाउने । कुनै समन्वय नगर्ने,यात्रुले सास्ती पाउने समस्या बढेकोले यथाशिघ्र सरकारी भाडादर कार्यान्वयन गर्नुको विकल्प छैन् ।”

यातायात व्यवसायीका आफ्नै समस्या भएपनि नागरिकलाई सेवा दिने सबालमा व्यवसायलाई नाफामुखी मात्र नभइ सेवामुखी बनाउन समेत प्रजिअ प्रसाईको आग्रह छ । यातायात व्यवस्था कार्यालयले लामो दुरीमा किमीका आधारमा जुम्लादेखि मान्मा बसमा ४४०,मिनिबसमा ५४० र जीपमा ६३५ रुपैया,जुम्लादेखि सुर्खेत बसमा ८४०,मिनिबसमा एक हजार ३० र जिपमा १२ सय ९ रुपैया र जुम्लादेखि काठमान्डौ सम्म १२ सय ८३ बसभाडा निर्धारण गरिएको छ ।

त्यस्तै,छोटो दुरीमा जुम्लादेखि उम्गाड,बस २७ जिप भ्यान ४० रुपैया, जुम्लादेखि लाम्रा सम्म बस ४४ र जिप भ्यान ६४ रुपैया,जुम्लादेखि तातोपानी बसको ६५ र जिप भ्यान ९६,जुम्लादेखि कुडारी सम्म बसमा १०८ र जिप भ्यानमा १६० रुपैया,जुम्लादेखि,रारालिहि सम्म बसको १३५ र जिप भ्यानको २ सय र जुम्ला बजारदेखि नाग्म सम्म बसको १७३ र जिप भ्यानकाृ २५६ रुपैया भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोक बहादुर महतले जानकारी दिए ।

उनका अनुसार छोटोदुरीमा चल्ने अटो रिक्साको कममा ४० देखि बढीमा ७० सम्म जुम्लादेखि नाग्म सम्मको भाडा तोकिएको छ । त्यस्तै,कच्ची सडकको पनि दुरीअनुसार भाडा निर्धारण गरिएको छ ।

उता, जुम्लाका नागरिक अगुवा,राजनीतिक दल,प्रहरी प्रशासन र यातायात व्यवस्था कार्यालयले आफु मर्कामा नपर्ने गरी अनिवार्य सरकारले निर्धारण गरेको भाडादर कायम गर्न सुझाब दिएका छन् । नेकपा एमाले अध्यक्ष शान्तीलाल महत,माओबादि केन्द्रका विष्णु महत र एकिकृत समाजबादीका सचिव आदीप्रसाद न्यौपाने,नागरिक अगुवा राज बहादुर महतले निर्धारण गरिएको भाडा दर कायम गर्न यातायात व्यवसायीको ध्यानकर्षण गराएका छन् ।

भाडा नघटाउने व्यवसायीको अडान

सरकारले निर्धारण गरेको भाडादर तत्काल कार्यान्वयन नहुने जम्लाका यातायात व्यवसायीको अडान छ । इन्धनको मुल्य दैनिक बढ्दै गएको अबस्थामा भाडा घटाएर व्यवसाय धरापमा पार्ने गरी सेवा दिन नसकिने यातायात व्यवसायीको अडान छ । तिला कर्णाली यातायात प्रालीका इन्चार्ज ईन्द्र थापाले तेलको मुल्य नघटी,पाटपुर्जाको मुल्य नघटी,मेकानिकल खर्च नघटे सम्म भाडा घटाउने स्थिती नरहेको बताए ।

उनले भने,“विगतमा छोटो लामो दुरीमा कममा ६० रुपैया देखि बढीमा १५ सय सम्म पनि लिएका हौ । तर अहिले दैनिक डिजेल पेट्रोलको मुल्य बढ्दै जान थाल्यो । त्यसरीनै पाटपुर्जाको मुल्य बढेको छ । कसरी भाडा घटाउने ? इन्धनको मुल्य घटाउन,पार्टपुर्जाको मुल्य घटाउन तर्फ सरकारले ध्यान दिए निर्धारण गरिएको भाडा लागु गर्न तयार छौ ।”

घर जग्गा धितो राखेर नागरिकका सेवाका लागि गाडी सञ्चालन गरेपनि सरकारले व्यवसायीका पिरमर्कालाई नबुझेर लाद्न खोजेको समेत यातायात व्यवसायी थापाको गुनासो छ ।

त्यस्तै जुम्लामा काँक्रेविहार यातायात प्राली,भैरबनाथ यातायात प्राली,देउती यातायात प्राली,सनराइज यातायात प्राली लगायत झण्डै १ दर्जन यातायात प्राली रहृका छन् । सबै यातायात व्यवसायीहरुले तेलको मुल्य नघटे सम्म भाडा कुनै पनि अबस्थामा नघट्ने बताएका छन् ।

व्यवसायीका समस्यालाई नजरअन्दाज गर्दै भाडादर कार्यान्वयन गर भन्नु व्यवसायबाट सिधै हात धुनु हो । सेवा संगै नाफा बिनाको व्यवसाय नहुने भएकोले निर्धारण गरिएको भाडा तत्काल लागु गर्न नसकिने सनराइज यातायातका इन्चार्ज दिप रावतको भनाइ छ ।

तपाईको प्रतिक्रिया