धिताल परिवारको मुख्य आम्दानीको स्रोत बन्यो भैसीपालन

सागर परियार जुम्ला ।


जुम्लाको हावापानीले बाह्रै महिना घरमा पशुपालन गर्न मुस्किल छ । ६ महिना लेकमा र ६ महिना घरमा राखेर गाई भैसी पालन गरिन्छ । भने,त्यसमाथि हिउँदको अत्यधिक चिसोसंगै चरण क्षेत्र र दानापानीको अभावले जुम्लामा बाह्रै महिना दुहुना गाँइभैसी पाल्न झन बढी कठिनाइ छ ।

तर जुम्ला गुठिचौर ५ का विष्णु धितालले बितेको २६ वर्षदेखि गाउँमै व्यवसायीक भैसीपालन गर्दै आएका छन् । चरण क्षेत्र,दाना पानीको अभाव,हिउँको कठ्याग्रिदो चिसो छिचोल्दै धितालले २६ वर्षदेखि भैसीपालन गर्दै आएका हुन् ।

सरकारी जागिर समेत त्यागेर भैसीपालनमा होमिएका धितालले हाल सम्म भैसीपालनमा करिब १ करोड बढी लगानी गरिसकेका छन् । जुम्लामा बढ्दो दुधको मागलाई मध्यनजर गर्दै भैसीपालन गरेका धिताल आजभोली दुध बेचेरै महिनामा ३० देखि ४० हजार कमाउँछन् । भने महिनाको १ लाख बराबरको आर्थिक कारोबार गर्छन् ।

२०५२ सालबाट भैसीपालन शुरु गरेपनि ०६०÷६१ सालबाट सरकारी जागिरनै त्यागेर व्यवसायीक भैसीपालनमा होमिएको हुँ । धिताल भन्छन,“जुम्लाको हावापानीमा हिउँदमा भैसी त परै जावस दुहुना गाई पाल्न पनि मुस्किल हुन्छ । तर मैले हिउँद वर्खा नभनी भैसीपालन गरीरहेको छु । हाल १६ वटा भैसी छन् । जसमध्य ७ दुहुना,३ ब्याउने,१ राँगा,अन्य साना भैसी छन् । जागिर छोडेपछि मुख्य आम्दानीको स्रोतनै भैसीपालन हो ।”

घरको नुनतेल देखि छोराछोरीको पढाई सबै दुध बचेरै चलेको छ । एकदिनमा ३५देखि ४० लिटर दुध उत्पादन हुने गरेको छ । भने दुध बेचेर महिनाम ४० हजार सम्म खुद नाफा हुने गरेको धितालको भनाई छ ।

धिताल दैनिक विहानै झिसमिसेमा बजारमा दुध बेच्न निस्कीन्छन् । साढे दुई दशकदेखि भैसीपालनमै जीवन बिताएपनि कतैबाट प्रोत्साहन नपाएको उहाँले दुखेसो पोख्नुभयो ।
उहाँले थप्नुभयो,“चरण क्षेत्रको अभाव छ । दानापानी पाइदैन् । सरकारी अनुदान सहयोग,प्रोत्साहन शुन्य छ । वर्खामा २ भैसी पाल्नेहरु सरकारी अनुदान पाउँछन् । तर हामीले जस्ता सामान्य किसान प्रथामिकतामा पर्दैनौ । हिउँदको हिउँ,वर्खाको पानी नभनी घरघरमा दुध पुराएरै जीवन बितेपनि प्रोत्साहन नपाउँदा निकै दुख लाग्छ ।”
हाल सम्म करिब १ करोड जत्ती व्यवसायमा लगानी भइसकेको छ ।

उहाँले भन्नुभयो,“आधुनिक भैसीगोठ निर्माण,पटक पटक दर्जन बढी दुहुना भैसी खरिद, दानापानी व्यवस्थापन,घाँस काट्ने मेसिन,दुध ओसारपोसार गर्न मोटरसाईकल,फ्रिज,घर निर्माण, पिसाब संकलन ट्यांकी, पानी ट्यांकी लगायतका संरचना जोडेर भैसीपालनमा १ करोड बढी लगानी भएको छ । भने,आम्दानी वर्षका १० देखि १५ लाख सम्म हुन्छ ।”

गाउँमा रोजगारी सृजना गर्ने, युवा उद्यमशीलतामा लगानी गर्ने नीति स्थानीय सरकारले लिएपनि अपेक्षित सहयोग नपाएको भैसीपालन व्यवसायी धितालको गुनासो छ ।

रोजगारीको अभावमा विदेश भौतारिएका यूवाहरुलाई धितालले आफ्नो जन्मभुमिमै परिश्रम गरे मिठो फल प्राप्त हुने सन्देश दिएका छन् । रोजगारी खोज्न काला पहाड खाडी मुलुक जानु भन्दा आफ्नै गाउँठाउँमा काम पसिना बगाए मनग्य आम्दानी गर्न सकिने बताउनु हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस