जुम्लाका प्राविधिक धार तर्फका विद्यार्थी असन्तुष्ट, सिडिओलाई बुझाए ज्ञापन पत्र

जुम्ला ः पछिल्लो समय जुम्लाका सामुदायिक विद्यालयमा पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिईभिटबाट अनुमति लिएर प्राविधिक तर्फ विभिन्न विषयमा अध्ययन अध्यापन गराउदै आएका छन् ।
यसअघि नेपालकै पहिलो प्राविधिक विद्यालय कर्णाली प्राविधिक शिक्षालयमा मात्रै प्राविधिक धार तर्फका विषयहरु मात्रै पठनपाठन हुने गरेपनि पछिल्लो समयमा दुई दर्जन बढी सामुदायिक विद्यालयमा प्राविधिक धार तर्फका विषय पनि पढाई हुने गरेका हुन् ।
घर नजिकै सामुदायिक विद्यालयमै प्राविधिक धार तर्फका विभिन्न विषयमा पढ्न पाईने भएपछि हर्षित भएका जुम्ली विद्यार्थीले छोटो समयमै असन्तुष्ट व्यक्त गर्ने गरेका छन् ।
मंगलबार प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईलाई एक ज्ञापन पत्र बुझाउदै प्राविधिक धार तर्फका विद्यार्थीले पठनपाठनमा लापरवाही हुदै आएको गुनासो गरेका हुन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कार्यालयको ०७७ भदौँ ४ गतेको निर्णय अनुसार कोरोना संक्रमण प्रभावित विद्यार्थीहरुलाई १५ प्रतिशत छुट दिन परिपत्र तथा सूचना जारी गरेपनि छुट नदिएको ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
यस्तै गुणस्तरीय शिक्षा नभएको, कोरोना संक्रमणको बेला आन्तरिक तथा प्राविधिक विधिबाट परीक्षा हुनुपर्ने, ३ महिना भित्र परीक्षाको नतिजा प्रकाशन गर्नुपर्ने माग गरेका छन् ।
प्राविधिक धारतर्फ ८० प्रतिशत अभ्यास शिक्षण हुनुपर्ने हो । तर यहाँका प्राविधिक धारका विद्यालयले अभ्यास शिक्षणको कुनै नाकमुख नदेखाएने गरेको भन्दै विद्यार्थीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
प्राविधिक तर्फका ३ वर्षे पाठ्यक्रमलाई ५ वर्षेसम्म पु¥याउने गरिएको प्रति विद्यार्थीको गुनासो गरेका छन् । विषय विशेषज्ञ पुर्ण अवधिका शिक्षक नराखी पाट टाइम शिक्षक राख्ने गरेकाले पनि प्राविधिक धारतर्फको पठनपाठन गुणस्तरहिन र प्रभावित हुने गरेको विद्यार्थीले बताएका छन् ।
कुनै विषयमा शिक्षक तथा व्यवस्थापकसँग अध्यास शिक्षण, पठनपाठन, शुल्क लगायतका विषयमा गुनासो गर्दा अध्यास शिक्षणमा दिने नम्बरमा तलमाथि गर्ने जस्ता धम्कीपूर्ण व्यवहार खेप्दै आएको विद्यार्थीले बताउने गरेका छन् ।
जुम्लामा प्राविधिक धार पठनपाठन गर्ने विद्यालय जुम्लामा धेरै भएपनि गुणस्तरहिन भएको विद्यार्थीले गुनासो गरेका छन् । यस तर्फ नियमन गर्ने कुनै पनि निकायले अनुगमन गर्ने र प्राविधिक शिक्षामा सुधार ल्याउने चासो देखिएको पाइदैन ।
कर्णाली मावि अनामनगरमा सर्वे, चन्दननाथ माध्यामिक विद्यालयमा फरेष्टी र बाली विज्ञान, त्रिभुवन मावि झारज्वालामा बाली विज्ञान, जनता मावि महतगाउँमा फरेष्टी प्राविधिक धारका विषय पठनपाठन हुदै आएका छन् ।
यस्तै सरस्वती मावि रिनीमा बाली विज्ञान, कनकासुन्दरी मावि लुड्कुमा बाली विज्ञान, भैरव मावि नराकोटमा बाली विज्ञान, मालिका मावि धापामा ओभरसियर, हिमशिखर मावि तातोपानीमा ओभरसियर प्राविधिक धारका विषय पठनपाठन हुदै आएका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रसाईले यस तर्फ ध्यानाकर्षण भएको भन्र्दै प्राप्त ज्ञापन पत्र सिटिईभिटिका प्रदेश र संघीय कार्यालयमा पठाई दिने बताईन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस