सुरक्षाकर्मी र गाडीले विमानस्थलको हिउँ पन्छयाए लगत्तै जुम्लामा हवाई सेवा सञ्चालन(फोटो फिचर)

जुम्ला । भारी हिमपातका कारण अबरुद्ध जुम्लाको हवाई सेवा सञ्चालनमा आएको छ । विहिबार साँझदेखि भएको भारी हिमपातले धावनमार्गमा बाक्लो हिउँ जमेपछि जुम्लामा विगत तीनदिन देखि हवाई सेवा अबरुद्ध भएको थियो । जिल्ला विपद व्यवस्थापन समितिको अगुवाईमा सुरक्षाकर्मी,नागरिक,कर्मचारीको सहभागितामा धावनमार्गमा जमेको हिउँ पन्छाए लगत्तै शनिवारनै जुम्लामा हवाई सेवा सञ्चालनमा आएको हो ।

शनिवारनै हिउँ पन्छाएर सकिने र उडान हुने सोचेकै थिएनौ । जुम्ला विमान स्थलका प्रमुख सन्तोष अधिकारीले भन्नुभयो,“तर सुरक्षाकर्मीको सहयोग र दर्जनौ गाडी प्रयोग गरेर विहान ११ बजेदेखि दिउँसो साढे २ बजे सम्म निरन्तर हिउँ पन्छाउन खटिएपछि साविक कर्णालीकै पहिलो उडान जुम्लामा भयो ।”

हिउँ पन्छाएर सकिए लगत्तै नेपालगन्ज बाट जुम्ला सिता र समिट एयरले उडान भरेको विमानस्थल प्रमुख अधिकारीले जानकारी दिनुभयो । धावन मार्ग संगै जहाजको पार्किङ स्थलको पनि हिउँ पन्छाइ सकिएकोले आइतबारदेखि जुम्लामा नियमित उडान हुने भएका छन् ।

शनिवार विहानैदेखि जुटेको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएर सकाएको हो । धावनमार्गमा हिउँ हटाएपछि आजै जहाज अवतरण गर्न सम्भव भएको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले बताउनुभयो ।

धावनमार्गमा झण्डै एक फिट हिउँ जमेको थियो । सबै सुरक्षा प्रमुख सहित सहित सयौ सुरक्षाकर्मीको टोली विमानस्थलमा पुगेर शनिवारै विमानस्थल खुलाउने लक्ष्यले हिउँ पन्छाएपछि उडान सम्भव भएको प्रजिअ प्रसाईको भनाई छ ।

गत वर्षहरुमा हिउँ परे पनि यो वर्षभन्दा बाक्लो हिउँ पर्थेन। धावनमार्गमा हिउँ पन्छ्याउनु परेको हुन्थेन। एकै दिनमा हिउँ बिलाएर धावनमार्ग सुक्थ्यो। खासै असर हुन्थेन । तर यो वर्षको हिउँ निकै बाक्लो हिउँ जमेपछि सुरक्षाकर्मीले पन्छाएको नागरिक अगुवा राज बहादुर महतले बताउनुभयो ।

विमानस्थलको हिउँ पन्छाउनका लागि नेपाली सेनाका ट्रक र जिप,प्रशासनको जिप,नगरपलिकाको डोजर जिप,सडक डिभिजन जुम्लाको डोजर लगायतका सवारी प्रयोग गरिएको थियो ।

हिउँ बाक्लो जमेकोले हवाइ यातायात समेत तीन दिनदेखि चलेको थिएन । प्रशासनको सक्रियता सबैको सहयोगले विमानस्थलको हिउँ पन्छयाउने कार्यले निकै उडान भएर नागरिकलाई राहत भएको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस