कर्णालीमा आन्तरिक उडान नहुँदा समस्या

जुम्ला ः संघीय राजधानी काठमाडौंबाट सीधा हवाई उडान नभएको कर्णाली प्रदेशमा आन्तरिक उडानसमेत छैन । जसले आवातजावतदेखि व्यापारमा समेत समस्या भइरहेको छ ।

काठमाडौंबाट सीधा उडान सम्पर्क नभएको एक मात्रै कर्णाली प्रदेश हो । पाँच वर्षदेखि काठमाडौं– सुर्खेतको सीधा उडान रोकिएको हो । नेपाल वायुसेवा निगमले जहाजको अभाव देखाउँदै उडान बन्द गरेपछि निजी क्षेत्रका एयरलाइन्सले धावनमार्ग कालोपत्रे गरेपछि उडान भर्ने बताएका थिए ।

त्यहीअनुसार स्थानीयको पहलमा हजार मिटर लामो धावनमार्ग कालोपत्रे गरिएको गरियो । तर, बुद्ध र यती एयरलाइन्सले धावनमार्ग विस्तार गरे मात्रै उडान गर्ने बताए । त्यसपछि धावनमार्ग दुई सय ५० मिटर थप विस्तार गरियो । सेवाग्राही नपाएको भन्दै बुद्ध एयरले केही महिनामै उडान बन्द गरेको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका संयोजक पदम शाहीले बताए ।

उनका अनुसार करिब पाँच वर्षअघि बुद्ध एयरले नौ हजार दुई सय भाडादर तय गरेर उडान सुरु गरेको थियो । जब कि त्यतिवेला नेपालगन्जबाट काठमाडौंको चार हजार टिकट थियो । ‘महँगो भाडाका कारण ग्राहक कम भएँ,’ शाहीले भने । त्यसपछि सुर्खेत–काठमाडौं उडान बन्द भयो ।

नयाँ विमानस्थल निर्माण क्षेत्रको खोजी
वीरेन्द्रनगरको अहिलेको विमानस्थल अवतरणका लागि उपयोगी नभएको र धावनमार्ग पनि कम भएको भन्दै नयाँ स्थानमा विमानस्थल बनाउन खोजी भइरहेको छ । भौगोलिक बनोटका कारण ठूला जहाज अवतरण गर्न समस्या हुने व्यवसायीको भनाइ उल्लेख गर्दै काठमाडौंबाट वीरेन्द्रनगरमा उडान बन्द गरेको विमानस्थलका प्रबन्धक विनोद पन्तले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सुर्खेतको रामघाट मदानेचौरमा विमानस्थल बनाउनेबारे सम्भाव्यता अध्ययन गरेको थियो । तर, उक्त स्थानमा विमानस्थल निर्माण गर्दा लागत अधिक हुने पाएको छ । त्यस्तै सुर्खेतको लाटीकोइली क्षेत्रमा पनि विमानस्थल बनाउन सकिनेबारे छलफल सुरु भएको छ ।

आन्तरिक उडान पनि छैन
कर्णाली प्रदेशमा आन्तरिक हवाई उडान पनि छैनन् । उडान अभावले हिमाली जिल्ला डोल्पा, जुम्ला, मुगु र हुम्लाका सर्वसाधारण, जनप्रतिनिधि र व्यापारी मर्कामा परेका छन् । आफ्नै प्रदेशको राजधानी सुर्खेत पुग्न पनि प्रदेश ५ को राजधानी नेपालगन्ज पुगेर फर्किनुपर्ने बाध्यता छ ।

कर्णाली क्षेत्रका जुम्ला, मुगु, हुम्ला, डोल्पा र कालिकोटका बासिन्दाको प्रायः सुर्खेतमै घरजमिन छ । वीरेन्द्रनगरमा घर भएका सिँजा गाउँपालिकाका मोती दमाईंले प्रदेश ५ को नेपालगन्ज पुगेर वीरेन्द्रनगर आउनुपर्ने समस्या रहेको बताए । ‘गाडीबाट जाँदा काम भेटाउन पर्ने, हवाई यात्राबाट जान नेपालगन्ज घुमेर फर्केर आउनुपर्ने भएकाले खर्च व्यवस्थापनमा पनि गाह्रो भइरहेको छ,’ उनले भने ।
पहिले सुर्खेतबाट जुम्ला हवाई यात्राका लागि पाँच हजार र एकतर्फी तीन हजार दुई सय रुपैयाँ भाडा थियो । जुम्ला–सुर्खेत उडान बन्द भएपछि नेपालगन्ज पुग्नुपर्ने भएको छ ।

पदम शाही, संयोजक
उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेश
पाँच वर्षअघि काठमाडौंबाट वीरेन्द्रनगर नियमित उडान हुने गरेको थियो । नेपाल वायुसेवा निगमले जहाजको अभाव भन्दै उडान बन्द गरेपछि सुर्खेत सम्र्पकविहीन भयो । विमानस्थल विस्तार गरे उडान गर्ने निजी कम्पनीले भनेका थिए । त्यही आधारमा हजार मिटर धावनमार्ग भएको विमानस्थललाई एक हजार दुई सय ५० मिटरको बनाइयो । तर, उनीहरूले पनि नियमित उडान गरेनन् । कर्णाली प्रदेश काठमाडौंबाट सीधा हवाई उडानमा छैन ।

चार समस्या

१) बिरामी मारमा
वीरेन्द्रनगरबाट काठमाडौं सीधा उडान नहुँदा रिफर गरिएका बिरामी काठमाडौं लैजान समस्या हुने गरेको छ । पहिले नेपालगन्ज र त्यसपछि काठमाडौं जानुपर्ने बाध्यता छ । जसले समयसँगै खर्च पनि बढ्छ ।

२) पर्यटकलाई असहज
से–फोक्सुुन्डो, रारादेखि हिल्सा हुँदै मानसरोवर जाने पर्यटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउन पाउँदैनन् । नेपालगन्जबाटै आवतजावत गर्छन् । हिल्सा हुँदै मानसरोवर पुग्ने भारतीय तथा नेपाली पर्यटक नेपालगन्जबाट सीधै सिमिकोटमा पुग्ने गरेका छन् । जसले गर्दा कर्णाली प्रदेशले राजस्व पनि गुमाउनुपरेको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश संयोजक पदम शाहीको भनाइ छ । शाहीका अनुसार कर्णाली प्रदेश नै काठमाडौंबाट सीधा हवाई सम्पर्कमा नहुँदा पर्यटकीय आवगमनमा समस्या छ । जसले गर्दा पर्यटकको संख्या बढ्न सकेको छैन ।

३) व्यापारमा असर
कर्णाली प्रदेशमा उत्पादित कृषि उपजलाई बाहिर पठाउन तथा आवश्यक अन्य सामग्री आयात गर्न पनि समस्या भइरहेको छ । एक अर्बभन्दा बढीको व्यापार हुने यार्सागुम्बा पनि नियमित उडानको समस्याका कारण अवैध बाटोबाट चीनतिर निकासी हुने गरेको छ । साथै, हुम्ला र जुम्लामा उत्पादन हुने सिमी, कालो धान, फापरदेखि आलु ढुवानी महँगो हुने गरेको छ ।

४) जनप्रतिनिधि मर्कामा
कर्णाली प्रदेशभित्र आन्तरिक उडान नहुदा यहाँका नागरिक पीडित त थिए नै, कर्णाली क्षेत्रका जनप्रतिनिधि पनि समस्यामा पर्ने गरेका छन् । प्रदेशस्तरमा भइरहने विभिन्न बैठकमा उपस्थिति हुन आउँदा गाडीको यात्रा भरपर्दो नहुने भएकाले हवाई यात्रा रोज्नुपर्छ । त्यो झन् झन्झटिलो र धेरै समय खर्च हुने गरेको तिला गाउँपालिका उपप्रमुख विष्णु बुढाले बताइन् । ‘आन्तरिक उडान नहुँदा अधिकांश बैठकहरूमा कर्णालीका जनप्रतिनिधि उपस्थिति पनि हुन सक्ने गरेका छैनन्,’ उनले भनिन्।

प्रदेशस्तरका बैठकमा अनिवार्य आउन पत्रचार गरे पनि गाडीको यात्रा भरपर्दो नहुने तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । ‘हवाईयात्रा गर्दा विनाकाममा प्रदेश ५ को नेपालगन्ज आउजाउ गुर्नपर्छ,’ उनले भने ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस