सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी 

जुम्ला ः नेकपा एमालेका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत बाँकेले बानियाँविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो । उनी मुगुबाट प्रतिनिधिसभाका समानुपातिक सांसद हुन् ।
जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले जबर्जस्ती करणी गरेको आरोपमा बाँके प्रहरी कार्यालयमा २४ माघमा दिएकी उजुरी २७ माघमा दर्ता भएको थियो ।
सोही उजुरीको आधारमा उनीमाथि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मुधुसन न्यौपानेले जानकारी दिए । ’बानियाँविरूद्ध बुधबार नै अदातबाट पक्राउ पुर्जी जारी भएको छ, हामी पक्राउ गर्न खोजीरहेका छौँ,’ डीएसपी न्यौपानेले भने ।
पीडित महिलाले सांसद बानियाँलाई तत्काल निलम्बन गरेर अनुसन्धान अघि बढाउन माग गरेकी छिन् । ‘सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी भएको खबर प्राप्त भएको छ । उजुरीमा महिलाले १९ माघ बिहान ५ बजे नेपालगन्ज उपमहानगरपालिका–२ स्थित अप्सरा होटेलको कोठा नम्बर २१५ मा बलात्कार गरेको जनाएकी छिन् । बानियाँले ०७६ मंसिरमा संयुक्त साझेदारीमा व्यापार गर्ने भन्दै आफूबाट २५ लाख रुपैयाँ लिएको महिलाको दाबी छ । सोही रकम फिर्ता गर्न बानियाँले होटेलमा बोलाएर आफूलाई जबर्जस्ती करणी गरेको महिलाको आरोप छ । उजुरीमा अनुसन्धानको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।
सांसद बानियाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरेपछि पीडित महिलालाई धम्की आउन थालेको आफन्तले बताएका छन् । चौतर्फी धम्की दिने र प्रलोभन देखाउने काम भइरहेको भन्दै आफू असुरक्षित रहेकोे ती महिलाले बताएकी छन् । ‘जाहेरी दिएको भोलिपल्ट सांसद बानियाँका ज्वाइँले प्रत्यक्ष भेटेर र त्यसको भोलिपल्ट बिहानै १० बजे तपाईंले दिएको २५ लाख रुपैयाँ दिन्छौँ जाहेरी फिर्ता लिनुस् भनेका थिए,’ ती महिलाले भनिन्, ‘मैले जाहेरी दिइसकेँ । म निकै पीडित छु । अब जाहेरी फिर्ता हुँदैन जे गर्छ कानुनले गर्छ भनिदिएँ ।’ जाहेरी फिर्ता लिन आग्रह गर्दै बानियाँकी छोरीले फोन गरेर प्रलोभन देखाएको पनि उनले बताइन् ।
सांसद बानियाँका छोराले जाहेरी दिएको दिनमै उनलाई जाहेरीले कुनै असर नपर्ने भन्दै धम्की दिएका थिए । ‘म जाहेरी बोकेर जिप्रका जाँदै थिएँ । बानियाँका छोराले मैले जाहेरी दिँदैमा कुनै असर नपर्ने र यस्ता करणी घटना कैयौँ व्यहोरिसकेकाले जाहेरी दिनुको कुनै तुक नभएको भन्दै धम्की दिए,’ पीडित महिलाले भनिन् ।
पटक–पटक लिएको पैसा फिर्ता गर्न आग्रह गरेपछि सांसद बानियाँले २५ लाख रुपैयाँको चेक काटेका थिए । राष्ट्रिय वाणिज्य बैंकको चेकमा रहेको खातामा पैसा नभएपछि चेक बाउन्स भएको छ । त्यही बाउन्स भएको चेकसमेत बानियाँका आफन्तसहितको टोलीले खोसेको ती महिलाले बताइन् । आफुमाथि गलत आरोप लगाएको सांसद बानियाले सार्वजनिक रुपमा प्रतिक्रिया दिएदै आएको छन् । आफ्नो राजनीतिक करियर सकाउनका लागि यस्तो गरिएको उनले बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस