पुजीगत खर्च बढाउने गरी पारदर्शी भएर काम गर्नु : भौतिकमन्त्री रोकाया

sharethis sharing button

सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाले कर्मचारीलाई पुजीगत खर्च बढाउने गरी पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् ।

सोमबार मन्त्रालय अन्तर्गतका १० वटै जिल्लाका कार्यालय प्रमुखहरुसँगको परिचयात्मक तथा हालसम्मको प्रगति समिक्षा कार्यक्रमका अवसरमा बोल्दै मन्त्री रोकायाले यस्तो निर्देशन दिएका हुन् । ‘पुजीगत खर्च बढाउने गरी कर्मचारीहरुले पारदर्शी भएर काम गर्नु । कुरा मात्रै गरेर प्रगति तथा विकास हुदैन’ उनले भने, ‘विकास गर्न समयमै काम गर्नुपर्छ । योजना कार्यान्वयनका लागि कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ । कर्मचारीले कामप्रति उत्तरदायी भएर आफ्नो जिम्मेवारी मात्रै पुरा गरेमा पुजीगत खर्च पनि बढ्छ । विकास पनि हुन्छ ।’

मन्त्री रोकायाले कर्णालीको विकासका लागि सबै निकायले हातेमालो गर्न जरुरी रहेको भन्दै विकासका काममा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरे । ‘पुजीगत खर्च बढेमा विकास पनि देखिन्छ । तर पुजीगत खर्च बढाउदाँ पारदर्शीतामा पनि ध्यान दिन जरुरी छ’ मन्त्री रोकायाले थपे, ‘कार्यक्रम बनाउँदा डुब्लिकेशन हुन नदिनु र योजना कार्यान्वयन गर्दा मापदण्ड भन्दा बाहिर नजानु ।’

साथै मन्त्री रोकायाले मन्त्रालय अन्तर्गतका सबै जिल्ला कार्यालय प्रमुखहरुलाई योजनाको म्याद थप्दा ध्यान दिन सुझाब दिएका छन् । म्याद थप गर्नैपर्ने बाहेकका अन्य योजनाको म्याद थप नगर्न उनको सुझाब छ । कार्यक्रममा उपस्थित मन्त्रालय अन्तर्गत १० वटै जिल्लाका कार्यालय प्रमुखहरुले हालसम्मको प्रगति विवरण मन्त्री समक्ष प्रस्तुत गरेका छन् । प्रस्तुत हालसम्मको प्रगति विवरण अनुसार योजना कार्यान्वयनको अवस्था सन्तोषजनक देखिएको छ । मन्त्रालय अन्तर्गत जिल्ला कार्यालयबाट सडक, पुल लगाएत भौतिक पूर्वाधार विशेष विभिन्न आयोजनाको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस