व्यापारी मृत्यु प्रकरण : सई शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दर्ता गरिँदै, आन्दोलन स्थगित

सुर्खेत । सुर्खेतमा कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी) को शंकास्पद मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तले सुब्बा कुना प्रहरी इन्चार्ज (सई) शेरसिंह धामी विरुद्ध किटानी जाहेरी दर्ता गर्न लागेका छन् ।

प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको भन्दै आफन्तले उनीविरुद्ध किटानी जाहेरी दर्ता गर्न लागेका हुन् । मृतकका आफन्तले प्रहरीको लापरवाहीले उनको मृत्यु भएको आरोप लगाएका छन् । शुक्रबार साँझ वीरेन्द्रनगर भित्रिने प्रवेशद्वार सुब्बा कुनामा हमाल सवार ट्रकलाई नियन्त्रणमा लिएर हमाललाई कुटपिट भएको र उनको मृत्यु भएको उनीहरुको आरोप छ ।

यद्यपि आफन्त र प्रशासनबीच भने एक खालको सहमति भएर आन्दोलन स्थगित गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय सुर्खेत र हमालका आफन्तबीच भएको मौखिक सहमतिपछि मृतकका आफन्तले आन्दोलन नगर्ने भएका हुन् ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार शनिबार बनाइएको चार जनाको छानबिन समितिमा प्रदेश अस्पतालका कार्यरत एकजना चिकित्सकलाई सदस्यका रूपमा थप गर्ने आफन्त र प्रशासनबीच सहमति भएको हो ।

 

यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीमगर, अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएशन सुर्खेत अध्यक्ष उत्तमप्रसाद आचार्य सदस्य रहेको छानबिन समिति गठन गरिएको थियो ।

उक्त समितिले ३ दिनभित्र छानबिन गरेर प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गर्नु पर्नेलाई समय बढाएर एक हप्ता पुर्याइएको प्रशासनले जनाएको छ

प्रतिक्रिया दिनुहोस