नेकपा एमालेले गत फागुन १४ र १५ गते दुईदिने प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण भेला गरिसकेको छ । उक्त भेलाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्नेगरी तयारी थाल्न निर्देशित गरेको छ । कर्णाली प्रदेश तत्कालीन नेकपा हुँदै एमाले विभाजनको केन्द्रविन्दू भएकाले एमालेको जनाधार विभाजित बनेको छ । जसको प्रत्यक्ष फाइदा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले लिन सक्ने देखिन्छ ।
यस्तै ०७४ मा कर्णाली प्रदेशमा तेस्रो शक्तिको रुपमा स्थापित बनेको नेपाली काँग्रेसले पनि चुनाव लक्षित भव्य तयारी भइरहेको बताएको छ । नेपाली काँग्रेसका प्रदेश सभापति ललितजंग शाहीले ‘घर–घर जाउँ काँग्रेस जिताउँ’ अभियान लिएर नेता, कार्यकर्तालाई गाउँ केन्द्रित गरिसकेको बताए । उनले भने, ‘विभिन्न पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । हामी स्थानीय तहको निर्वाचनमा पहिलो शक्ति बन्छौं । यसका कुनै दुईमत नै छैन ।’
उनका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिनमा कर्णालीमा आउने भएका छन् । प्रचण्डले माओवादीको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्नेछन् भने आगामी निर्वाचनमा पार्टीलाई कसरी स्थापित गराउने भन्ने बारेमा वृहत छलफल हुने केसीले बताइन् ।
अन्य साना राजनीतिक दलले भने ०७४ मा निर्वाचित जनप्रतिनिधिहरुले गरेका कमजोरीहरुलाई हतियार बनाई चुनावी मैदानमा होमिने देखिन्छ ।
०७४ को निर्वाचनलाई फर्केर हेर्दा
कर्णालीमा २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका गरी ७९ वटा स्थानीय तह छन् भने ७१८ वटा वडा छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित १५८ जना प्रमुख/उपप्रमुखमध्ये सबैभन्दा धेरै एमालेका थिए । तर एमाले विभाजनपछिको तथ्याङ्क हेर्ने हो भने नेकपा माओवादी केन्द्रका सबैभन्दा बढी ५२ जना प्रमुख/उपप्रमुख छन् । यस्तै एमालेका ४५, काँग्रेसका ४१ जना छन् ।
एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीका १७ जना प्रमुख/उपप्रमुख छन् । यस्तै पाँच जना प्रमुख/उपप्रमुख भने स्वतन्त्र निर्वाचित छन् ।
०७४ को निर्वाचनमा एमालेले २७ पालिकाका आफ्नो वर्चश्व कायम गरेर पहिलो बनेको थियो भने दोस्रोमा माओवादी (२५) र तेस्रोमा नेपाली काँग्रेस छ । स्थानीय तहका एक हजार ४८४ एमाले जनप्रतिनिधिमध्ये ३५१ (वडा तहसहित) जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
कर्णालीमा प्रमुख राजनीतिक दलहरु नेकपा माओवादी, नेकपा एमाले र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा हुने गरेकोमा यो पटक नेकपा एकीकृत समाजवादी पनि नयाँ शक्तिका रुपमा यी तीन दलसँगै प्रतिस्पर्धामा उत्रिने छ ।
आगामी चुनावमा को बन्ला पहिलो शक्ति ?
०७४ को चुनावमा एमाले पहिलो शक्ति बनेको भए पनि अहिले उसले त्यो वर्चश्व कायम राख्नेमा आशंका छ । किनकि यसबीच एमाले विभाजन भइसकेको छ भने एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी कर्णाली प्रदेशमा सत्तामा छ । आगामी चुनावमा सत्ता पक्षले गठबन्धन गर्नेबारे चर्चा भइरहेको छ ।
नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले भने, ‘गठबन्धन बनेको खण्डमा हामीले १२५ वटा वडा तहमा वर्चश्व कायम गर्ने हाम्रो आँकलन छ ।’
एकीकृत समाजवादीले चुनावमा प्रतिस्पर्धा भन्दा पनि एमालेलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने रणनीति बुन्ने देखिन्छ । त्यसका लागि ऊ अरुभन्दा नेकपा माओवादी केन्द्रसँग नै तालमेल गर्ने देखिन्छ । किनकि प्रदेश सरकारमा देखिएको राजनीतिक किचलोको ‘साइड इफेक्ट’ स्थानीय तहको निर्वाचनमा पर्ने निश्चित छ । एकीकृत समाजवादीको प्रदेश इञ्चार्जको भूमिकामा प्रकाश ज्वाला छन् । ज्वाला र एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेलबीच द्वन्द्व छ ।
अर्कोतर्फ एमाले आफू नै पहिलो शक्ति भएकाले आफ्नो प्रतिस्पर्धी भनेको नेपाली काँग्रेसमात्र भएको दाबी गर्छ । एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाह भन्छन्, ‘टोल कमिटीहरु निर्माणहरु गरिरहेका छौं । हाम्रो पक्षमा जनलहर आकर्षित छ । नेता कार्यकर्ताहरु दत्तचित्त भएर गाउँ अभियानमा लागिसक्नु भएको छ । हाम्रो पहिलो हुने आधार भनेकै सुदृढ संगठन निर्माण हो ।’
शाहले स्थानीय तहको चुनावमा ७९ मध्ये ३५ स्थानीय तहमा एमालेले वर्चश्व कायम गर्न सक्ने आँकलन गरिएको बताए । यद्यपि आगामी चुनावमा सत्ता गठबन्धनबीच तालमेल हुन्छ कि हुँदैन वा कुनकुन दलबीच गठबन्धन बन्छ भन्ने विषयले पनि चुनावी नतिजालाई प्रभाव पार्न सक्छ ।