तातोपानी गाउँपालिकाद्धारा एम्बुलेन्स सेवा सञ्चालन,स्थानीय हर्षित !

जुम्ला ।  जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । स्थानीय सरकार संचालनको अन्तिम कार्यकालमा तातोपानी गाउँपालिकाको स्वास्थ्य शाखाबाट एम्बुलेन्स सेवा सञ्चालन भएपछि स्थानीय खुसी छन् । दुर्गम गाउँबाट विरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली प्रतिष्ठान सम्म सहज रुपमा उपचारका लागि ओसारपोसार गर्ने लक्ष्यका साथ पालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

एम्बुलेन्स सेवा सञ्चालन भएको महिनादिन नबित्दै झण्डै २० जनाबढीले पालिकाको एम्बुलेन्सबाट सेवा लिएका छन् । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन बुड्थापाले भन्नुभयो,“पालिकाको सबैभन्दा दुर्गम ७ र ८ नम्बर वडाको भेरीखेला क्षेत्र हो । एम्बुलेन्स सेवाले त्यस क्षेत्रका नागरिकलाई बढी राहत पुगेको छ । सडक पहुँच पुगेपनि नीजि गाडीले बिरामी बोक्दा महंगो खर्च तिर्न बाध्य थिए । कति पैसानै नपाएर उपचारबाट बन्चित हुन्थे । तर पालिकाले आफ्नै एम्बुलेन्स सेवा शुरु गरेपछि भेरीखोला क्षेत्र संगै तातोपानीबासीलाई राहत भएको छ ।”

अहिले पालिकाका ८ वटै वडाका नागरिकलाई एम्बुलेन्स सेवा प्रयोग गरेबावत ८ सय रुपैया लिने गरेको प्रमुख प्रशासकिय अधिकृत बुड्थापाले जानकारी दिनुभयो । विपन्न नागरिक,गर्भवती महिला,अपांग व्यक्ति,जेष्ठनागरिकलाई निशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको लक्ष्य रहेको छ । तर कस्ता व्यक्तिलाई पुर्ण छुट दिने ?,कस्तालाई आशिंक छुट दिने भन्नेबारे कार्यविधि बन्न बाँकी रहेको छ ।

कार्यविधि बनेर पारित भए पश्चात विपन्न नागरिक,गर्भवती महिला,अपांग व्यक्ति,जेष्ठनागरिकलाई निशुल्क एम्बुलेन्स सेवा पाउने पालिकाले जनाएको छ । तातोपानी गाउँपालिका ८ वटै वडाका अधिकांश बस्तीमा सडक पुगिसकेकोले जटिल पस्थितीमा एम्बुलेन्स सेवाबाट कोही नागरिक बन्चित नहुने पालिका अध्यक्ष नवराज न्यौपानको आशा छ ।

यता एम्बुलेन्स चालक किसान नेपालीले हाल सम्म झण्डै २० जना बढीले सेवा लिएको उक्त सेवा लिए बापत करिब ३० हजार सेवा शुल्क उठेको बताउनुभयो । तातोपानी गाउँपालिकाको एम्बुलेन्स सेवा प्रयोगका लागि एम्बुलेन्स चालक किसान नेपालीको मोबाइल नम्बर (९८४८३६३१९१) मा २४ सै घण्टा सम्पर्क गर्न सकिने छ । पालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरेसंगै तातोपानीका नागरिकले घरदैलोमा स्थानीय सरकार पुगेको थप महसुश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस