रेस्लिङमा नेपाली युवती


रेस्लिङ आउनुपर्छ, घरमा एउटा मात्र टेलिभिजन सेट हुँदा त्यो हेर्न युवाहरूले परिवारका सदस्यसँग झगडै गर्छन्। रेस्लिङ हेर्ने नेपाली दर्शकको संख्या बढ्दो छ। रिङमा कुटाकुट गरेका दृश्य हेर्दै ताली बजाउनेको संख्या बढेसँगै नेपालमा ‘थोरै नाटक र धेरै वास्तविकता’ मानिने मनोरञ्जन खेल रेस्लिङको क्रेज पनि चुलिँदो छ।

केही वर्षयता दुई नेपाली युवतीको रेस्लिङ भिडन्त चर्चित छ। युनिका अर्थात् भगवती खड्का र जुरेली अर्थात् अस्मिता सुनारबीचको भिडन्त हेर्न धेरै नेपाली दर्शक लालायित हुन्छन्। पुरुष रेस्लिङले खासै प्रगति गर्न नसके पनि यी दुई युवती मेला महोत्सवदेखि विभिन्न रेस्लिङ खेलमा व्यस्त बनिरहेका छन्। उनीहरूले काठमाडौंदेखि दाङ, बुटवल, नुवाकोटलगायतका ठाउँमा पुगेर भिडन्त गरिसकेका छन्। रेस्लिङबाटै अन्तर्रा्ष्ट्रिय रिङमा चिनिन चाहन्छन्, उनीहरू।

मोडलिङबाट रेस्लिङ

५ फिट ५ इन्च उचाइकी अस्मिता सुनारको फिगर सलक्क मिलेको छ। उनी अभिनय र नृत्य पनि गर्छिन्। एक दर्जनभन्दा धेरै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी उनको परिचय भने मोडलभन्दा बढी रेस्लर हो। रेस्लर अस्मिता जुरेली।

टेलिभिजनका पर्दामा हेर्दै डरलाग्दा, खाइलाग्दा ज्यानका कुस्तीबाजहरू गर्जिंदै लडेको धेरैले हेर्ने गरेका छन् तर नेपालमा रेल्सिङ ? त्यसमाथि महिला, अझ हिरोइनजस्ती कलकलाउँदी युवती। धेरैले अचम्म मानेर हेर्छन् अस्मितालाई। ‘त्यसरी कुटाइ खाँदा जिउ दुख्दैन ? ’ उनको रेस्लिङ हेर्नेहरूले प्रश्नको वर्षा गर्छन्, ‘कतिको गाह्रो हुन्छ ? ’, ‘चोट पनि लाग्दो हो नि ? ’, ‘कुटाइ खानुभन्दा बरु फिल्मतिरै लाग्नु नि।’

अस्मिता भिडियोमा नायिकामात्र होइन, नेपाली फिल्म भुलभुलैयामा खलनायिका पनि बनिन्। तर तीन वर्षयता उनी चलचित्रका रंगीन पर्दाभन्दा बढी रेस्लिङका रिङमा आफ्नो भविष्य खोजिरहेकी छिन्। अहिले नेपालमा हुने गरेका सबै रेस्लिङमा अस्मिता पुगेकी हुन्छिन्। उनी भन्छिन् ‘धेरै समस्याहरू छन् तर मैले यसैमा भविष्य देखिसकेकी छु।’

पुरुष रेस्लिङले खासै प्रगति गर्न नसकिरहेको अवस्थामा भगवती खड्का र अस्मिता सुनार मेला महोत्सवदेखि विभिन्न रेस्लिङ खेलमा व्यस्त बनिरहेका छन्।

नेपाली समाजले रेस्लिङजस्ता लड्ने भिड्ने खेललाई पुरुषकै पेवाका रूपमा लिन्छ। भर्खर पाइला सर्दै गरेको रेस्लिङमा एउटी युवतीको संघर्ष धेरै हिसाबले चुनौतीपूर्ण छ। टेलिभिजनमा रेस्लिङ हेरेको अस्मिताको परिवारले पनि सुरुमा त उनलाई ‘त्यसरी रिङबाट घिसार्छन्, नखेल यस्तो खेल’ भनेर सम्झाए। सुरुमा उनलाई पनि खेल्दा हात मर्किने, चोट लाग्ने घटना धेरै भए। समाजले पनि नकारात्मक रूपमा हेरेको पाइन् अस्मिताले। भन्छिन्, ‘अहिले दर्शकको माया पाएकी छु। परिवारदेखि समाजसम्म नजर फेरिन थालेको छ।’

खोटाङबाट एसएलसी पास गरेर राजधानी पसेकी अस्मिता अहिले पद्मकन्या क्याम्पसमा ब्याचलर पढ्दैछिन्। सानैदेखि केही फरक गर्न खोज्ने उनी सुरुमा तेक्वान्दो खेल्थिन्। उनका दाजु दिनेश पार्कर स्टन्ट गर्न थाले। अस्मिता पनि जिम्न्यास्टिक खेल्न थालिन्। पढाइसँगै खेल र मोडलिङ गरिरहेकी उनी एकदिन दाजु दिनेशसँगै नेपाली फिल्म हबलदार सुन्तलीको सुटिङमा गइन्। फिल्ममा दाजु दिनेशसँगै फाइट गरिरहेकी नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) सँग उनको भेट भयो। अस्मिताको रुचि बुझेपछि युनिकाले आफ्ना गुरु भरतबहादुर बिसुरालसँग भेटाइदिइन्। ‘हिमालयन टाइगर’ नामले अन्तर्रा्ष्ट्रिय रेस्लिङ रिङमा समेत चिनिएका बिसुराल उनका पनि गुरु बने। हेर्दै फुच्ची अस्मितालाई उनैले नाम राखिदिए ‘जुरेली’। दुई महिनाको तालिमपछि अस्मिता ‘रेस्लर जुरेली’ बनिन्। अस्मिता सुनाउँछिन्, ‘उहाँहरूसँग भेट भएपछि मेरो लक्ष्य फेरियो, नयाँ परिचय पाएँ।’

गायिका, अभिनेत्री हुँदै रेस्लर

रामेछापकी भगवती खड्काले काठमाडौंमा २०६५ सालमा गीति एल्बम ‘युनिक’ निकालिन्। धेरै टीभी सिरियलमा अभिनय गरिन्, फिल्महरूमा फाइट गरिन्। त्यतिबेलासम्म उनलाई ‘नेपालमा पनि रेस्लिङ सम्भव छ र ? ’ भन्ने लाग्थ्यो रे।

भारत्तोलन खेलाडीसमेत रहेकी भगवतीले नेपाली रेस्लर ‘हिमालयन टाइगर’सँग कुरा भएपछि भने रेस्लिङ तालिम भइरहेको चाल पाइन्। उनी पनि तालिम लिन गइन्। तालिम लिने सबै पुरुषहरू थिए, उनी एक्ली महिला। उनी रेस्लर बन्न कस्सिएको देखेर कति हाँस्थे, कतिले गिज्याउँथे। उनलाई भने बाल मतलव। आफ्नै सुरमा अभ्यास गरिन्। अनेक कष्ट सहँदै तालिम सकिन्। तालिम सकिएलगत्तै २०६९ मा अर्घाखाँचीको सन्धिखर्कमा रेस्लिङ हुँदैथियो। त्यसमा भिड्ने अवसर पाइन्। नेपालकी पहिलो महिला रेस्लर ‘युनिका’का रूपमा उनी अमेरिकाकी रेस्लर द ग्रेट सेन्नीसँग रिङमा उत्रिइन्। मनमा अनौठो उत्साह अनि डर थियो।

१३ मंसिर, २०६९ को त्यो दिन प्रतिस्पर्धा हारे पनि उनलाई संसार जितेजस्तो लाग्यो। त्यही दिनबाट उनको नाम अगाडि ‘नेपालको पहिलो महिला रेस्लर’ थपियो। त्यसलगत्तै बुटवल र विभिन्न ठाउँमा रिङमा उत्रिएकी युनिका नेपाली दर्शकका लागि पनि आकर्षण बनिन्।

अहिले नेपालमा हुने धेरै महोत्सवमा पुगेर रेस्लिङ प्रदर्शन गरेकी युनिकाले भारतमा समेत आफ्नो रेस्लिङ कला प्रदर्शन गरिसकेकी छिन्। धेरै नेपाली फिल्ममा खलनायिका, फाइटरका रूपमा देखिइसकेकी युनिका अहिले पनि फिल्मी काममा व्यस्त छिन्। तर, पछिल्लो समय उनी नेपाली महिला रेस्लिङको विकास गर्न कस्सिएकी छिन्। आफ्नै प्रेरणाले रेस्लिङमा आएकी अस्मिता जुरेलीसँग रिङमा कुटाकुट गर्ने युनिका वास्तविक जीवनमा चाहिँ उनीसँगै मिलेर महिला रेस्लर उत्पादनमा लागेकी छिन्। युनिका, जुरेली मिलेर हालै ‘नेपाल महिला रेस्लिङ फाउन्डेसन’ खोलेका छन्। जसमा आधा दर्जन युवतीहरू रेस्लिङ तालिम लिइरहेका छन्। उनी भन्छिन् ‘एक दिन नेपाली महिला रेस्लिङ पनि युरोपभन्दा कम्ति नहोस् भन्ने हाम्रो लक्ष्य हो।’

विभिन्न ठाउँमा हुने मेला महोत्सवमा पुग्ने युनिका एउटा कार्यक्रमको २५ देखि ५० हजारसम्म पाउँछिन्। डाइट खानुपर्‍यो, अभ्यास गर्नै पर्‍यो, त्यहीअनुसार लुगा लगाउनु पर्‍यो। अलि खर्चिलै छ रेस्लिङ। नेपालमा थोरै मात्रामा हुने यस्ता कार्यक्रमले जीवन चल्नसम्म पुगेको उनी बताउँछिन्। रेस्लिङबाट धेरै आम्दानी नभए पनि यसले पहिचान बनाउन ठूलो मद्दत गरेको छ। त्यसैले त उनी खुसी नै छिन्। गायन, अभिनय र रेस्लिङलाई एकसाथ अघि बढाइरहेकी युनिकाको प्राथमिकताको क्षेत्र भने रेस्लिङ नै हो। भन्छिन्, ‘एक दिन अन्तर्रा्ष्ट्रिय रिङमा उत्रिएर नेपाललाई चिनाउने लक्ष्यसाथ अघि बढिरहेकी छु।’

नेपालमा बढ्दो क्रेज

नेपालमा आधुनिक रेस्लिङको विकासका लागि भनेर केही समयदेखि भरतबहादुर बिसुराल (हिमालयन टाइगर) प्रशिक्षण दिइरहेका छन्। उनैले उत्पादन गरेका रेस्लरहरूले नेपालका विभिन्न ठाउँमा रेस्लिङ प्रदर्शन गर्ने गरेका छन्।

मेला महोत्सवहरूमा समेत रेस्लिङको माग हुन थालेको छ। यस्ता कार्यक्रमहरूका कारण रेस्लिङमा लाग्नेहरूको आम्दानीको स्रोत पनि बढेको छ। एउटा मेला महोत्सवमा पाँच÷छ दिन रेस्लिङ प्रदर्शन गरेको पारि श्रमिक २५ देखि ३० हजारसम्म पाउने गरेको जुरेली बताउँछिन्। उनी भन्छिन्, ‘नेपाली रेस्लिङ भनेपछि दर्शकको आकर्षण छ। यसले नेपाली रेस्लिङको भविष्य राम्रो छ भन्ने संकेत पनि गर्छ।’

व्यावसायिक रूपमा खेलिरहेका नेपाली महिला रेस्लर अहिलेसम्म युनिका र जुरेली मात्रै हुन्। त्यसैले पनि उनीहरू बीच प्रतिस्पर्धाभन्दा बढी प्रदर्शन मात्र हुने गरेको छ। विस्तारै अन्य युवतीहरू पनि आकर्षित भइरहेका छन्। ‘नेपालका लागि यो पनि ठूलै उपलब्धि मानेका छौं। विस्तारै विकास हुनेमा आशावादी पनि छौं।’ युनिका भन्छिन्, ‘सुरुमा गाह्रो होला भनेर धेरै डराउँथे, अहिले म पनि लाग्छु भनेर आउनेहरू बढेका छन्। विस्तारै सरकारले पनि सहयोग गर्ला भन्ने आशा छ।’

त्यो कुस्ती, यो रेस्लिङ

विश्वमा रेस्लिङको इतिहास निक्कै पुरानो मानिन्छ। फ्रान्समा १५ हजार वर्ष पुरानो गुफामा रेस्लिङका चित्रकला भेटिएकाले पनि यो धेरै पुरानो खेलका रूपमा लिइन्छ।

त्यसो त भारत, नेपाललगायतका देशमा पनि कुस्ती वा पहलमानी परम्परा निक्कै पुरानो मानिन्छ। अहिले पनि भारत र नेपालको तराई क्षेत्रमा औपचारिक कार्यक्रम आयोजना गरेरै कुस्ती खेलाइन्छ। कतै कुस्ती, कतै पहलमानी र कतै रेस्लिङ नामले खेलिँदै आएको यो खेल पछिल्लो समय ‘स्पोर्ट्स इन्टरटेन्मेन्ट’का रूपमा चर्चित बनेको छ।

टेलिभिजन च्यानलहरूले रेस्लिङलाई ग्ल्यामरका रूपमा आधुनिकीकरण गरेपछि यसको विश्वव्यापी क्रेज बढ्यो। सन् १८८८ मा अमेरिकाको न्युयोर्कमा पहिलोपटक ‘नेसनल रेस्लिङ टुर्नामेन्ट’ आयोजना गरिएको थियो।

अन्नपुर्णबाट

तपाईको प्रतिक्रिया