यात्रा एकैनासे, अध्ययन अवलोकन थरीथरी


दुई जना माथितिरबाट आइरहेका हुन्छन् दुई जना तलतिरबाट, जम्काभेटमा थोरै भलाकुसारी हुन्छ । एकजना सानो फुच्चे त्यस्तै १०, ११ वर्षको हुन्छ । उस्ले नियालेर हेर्छ । अनि बोल्छ अँ !!! अँ !! ट्यौ एक्कैनासे ट्यौ एक्कैनासे, आम्मै !!! सेम ट्यौ सेम सेम, लुगापनि उस्तै, सप्पै उस्तै अँ !! ट्यौअँ !!! अँ !!। यो दृष्य वनस्पति कार्यालय ठिन्के नजिकैको थियो । वनस्पति कार्यालयले जुम्लामा पाईने जडिबुटीको उपयोगिता र व्यवसायिक खेतिको बारेमा अध्ययन गर्ने र खेतिको लागि किसानलाई सिफारिस गर्ने गर्छ ।

फुच्चेले भनेका एकैनासे दुई जना म र भाञ्जा थियौं । भाञ्जा अर्थात रबि नेपाली ।

हामि दुबैको उस्ता उस्तै मिल्ने वर्णको अनुहार र उचाई देखेर धेरैले यसै भनने गर्दछन् । खासमा हामी दुईजना प्रसिद्ध मानवशास्त्री डोर बहादुर बिष्टबारे अध्ययन गर्न गएका हौं । बिष्टले स्थापना गरेको कर्णाली इनिष्टिच्युट र उनको पहलमा बनेको ऋणमोक्ष मावि डिल्लिचौरको अवलोकन र त्यहाँ उनलाई नजिकबाट चिन्ने मान्छेहरुसँगको भेटलाई आधार मानि त्यहाँ जाने योजना बनेको हो ।

लेखक – महेश नेपाली

बिष्टले लेखेका प्रसिद्ध पुस्तकहरु पिपुल अफ द नेपाल, सोताला, सबैजातको फुलबारी, फेटालिजम एण्ड डेभलपमेन्ट, डोर बहादुर बिष्टका कथाहरु र फुटकार रचनाहरु बजारमा उपलब्ध छन् । यी मध्ये पिपुल अफ द नेपाल, फेटालिजम एण्ड डेभलपमेन्ट निकै प्रसिद्ध रचनाहरु हुन् ।

काठमाडौबाट निकै टाडाको जुम्ला र जुम्ला जिल्लाको निकै विकट क्षेत्र चौधविषको डिल्लिचौरमा बसोबास गरी त्यस क्षेत्रको मुहार फेर्ने योजना बनाएका बिष्ट २०४८ सालदेखि नै औपचारिक रुपमा त्यँहि बसोबास गर्न थालेका हुन् । उसो त त्यस अघिपनि उनि त्यो क्षेत्रमा दुई पल्ट पुगिसककेका थिए । उनले त्यहाँ बसोबास थालेदेखि नै शैक्षिक सुधारको अभियानलाई तिव्रता दिन थालेका हुन् । उनले सय वर्षपछिको चौधविषको निकै दुरदर्शि योजना बनाएर काम सुरुवात गरे । आफ्नै पहलमा जिल्लाकै नमुना स्कुल बनाए । स्कुलका अतिरिक्त त्यहाँ तिनवटा साना जल विद्युत आयोजनाहरु पनि सम्पन्न गराए । त्यसमध्ये लाम्डि र जम्नमा रहेको जल विद्युत अहिलेपनि संञ्चालनमा छ भने तिर्खुको जल विद्युत पानीको अभावका कारण बन्द भैसकेको छ ।

विस्तारै चौधविषे जुम्लिको मन जित्दै गएका डोर बहादुर बिष्टलाई चौधविषका केहि पढेलेखेका केहि मान्छेले त्यस क्षेत्रको पिताको रुपले चिन्न थालिसकेका थिए । हामीले भेटेका मान्छेहरुमध्ये एक जना शिक्षक कर्ण बहादुर रावतले बिष्टलाई डोर बहादुर बुबा भनेर सम्बोधन गर्दै बिष्टले आफ्नो बसाई अवधिमा गरेका महत्वपुर्ण गतिविधिलाई सम्झदै उनिप्रति सदासयता देखाए र सम्मानभाव प्रकट गरे ।

चौधविषे जुम्लिलाई शिक्षित पार्न निरन्तर खटिएका बिष्ट २०५२ साल भाद्र १९ गते बिहानको खाना खाई जुम्ला बजार आई नेपालगन्ज जाने भनि हिडेका हुन तर उनि त्यसपछि जुम्ला फर्केनन् । चौधविषको मुहार फेर्ने र सय वर्ष पछिको चौधविषको परीकल्पना गर्ने बिष्टलाई चौधविष बासीले कहिले देख्न पाएनन् । उनि त्यसपछि कहाँ गए यो विषय आजसम्म अत्तो पत्तो लागेको छैन । चौधविषे जुम्लि सम्झिन्छन्शिक्षित र सुसंस्कृत चौधविषको परीकल्पना गर्ने बिष्टले किन हामीलाई चटक्कै छोडेर गए ? किन पुरै चौधविषको माया मारे ? भनि अलिअलि गुनासो गर्नेहरु पनि छन् ।

चिया खाने वेलामा लासिका विष्न रावतले गुनासो गरे “आज चौधविषमा जंगलि जडिबुटी र यार्सागुम्बा संकलन गरी धन पैसा कमाउनेहरु धेरै छन् । तर त्यो पैसाको सदुपयोग गरी मानवीय जीवनलाई कसरी व्यवस्थित बनाउने भनेर योजना बनाउने मान्छेको अभाव छ । यार्सागुम्बा संकलन गरेर पैसा कमाउने युवाहरु पैसा हात लाग्नेवित्तिकै जाँडरक्सी र जुवातासमा भुलेको देखेर उदेक लागछ”। उनले अलि निरासभावमा आफ्नो कुरा टुंग्याए ।

कर्णाली इनिष्टिच्युड अगाडि भेटीएका पातरासी गाउँपालिकाका अध्यक्ष लक्षिमान बोहोराले कुराकानिको क्रममा भने “बुढा सयवर्ष पछाडिका कुरा गर्थे । उतिवेला हामी युवाहरुलाई आजको अहिले चाहिने । हामी बुढाका कुरा उति वास्ता गर्दैनथ्यौैं । बुढा त दुरदर्शि रहेछन्” । आजभोली मात्र थाहा भयो । तर आजभोली फेरी बुढा छैनन् पछुतो लाग्छ ।

मानवशास्त्री डोर बहादुर बिष्टबारे जानकारी लिन हिडेका हामीले एकैदिनमा सबै जानकारी पाईहाल्ने सम्भावना थिएन । शिक्षक कर्ण बहादुर रावतले अरु केहि व्यक्तिको नाम लिए त्यसमध्येका वरिष्ठ पत्रकार नवराज शाहीसँग भाञ्जा रबिले भेटीसक्नुभएको थियो । तिर्खुका पुर्ण बहादुर बोहरालाई भेट्न भने एक दिन अर्को चाहिने थियो । उनि कर्णाली इनिस्टिच्युडका चौकिदार हुन । बिष्टबारे जानकारी भएका र उनलाई नजिकबाट चिन्ने एक दुईजना अरु मान्छेसंग भेट्ने काम बाँकी नै छ । शनिवारको दिन हिडेरै हिडेरै यात्रा गर्ने योजना बनाएका हामी बिहान १० बजेदेखि साँझ सात बजेसम्म हिडिरह्यौ । वनस्पति कार्यालयबाट अलिमाथि हिडेपछि पानी ट्यांकी भेटिन्छ । बाटोछेउको अग्लो दानसाँगुमा तिला नदि र जवा नदिको संयोग मिलेको दोभान देखिन्छ ।

अग्लो ठाउँबाट गरिएको दृष्यावलोकनले मन लोभ्याइरहन्छ । गोठिचौर गाँउपालिकातिरबाट बगेको नदिको पानी थोरै कालो तिलजस्तो देखिने हुनाले त्यो नदिको नाम तिला र पातरासी हिमालबाट बगेर आएको नदिको पानी सेतो बाख्लो दिहि जस्तो देखिने हुनाले उक्त नदिको नाम जवा नदि राखिएको कुरा साहित्यकार तथा संस्कृतिबारेका जानकार रमानन्द आचार्य बताउँछन् । जवा नदिको किनारैकिनार हिडेर पातरासी हिमाल, खाटिबिजोर पाटन र देविस्थल तालको अवलोकन गर्ने गरी यात्रा तय गर्न सकिन्छ । हाम्रो यात्रा पातरासी हिमालसम्मको नभएर पातरासी गाउँपालिकाको डिल्लीचौरसम्मको थियो ।

पानि ट्यांकीबाट अगाडि बढीसकेपछि कृषि अनुसन्धान केन्द्र राजिकोट आइपुग्छ । त्यहाँ उच्च पहाडी र हिमाली जिल्लामा हुने र सम्भावित फलफूल र तरकारी खेतिकोबारेमा लामो समयदेखि अनुसन्धान भैरहेको छ । विगत आठ वर्षदेखि नयाँ जातको स्याउबारे अनुसन्धान भैरहेको छ । त्यसको सफल परीक्षण पछि धेरै किसानहरु लाभान्वित हुने अनुसन्धान केन्द्रले बताउदै आएको छ । तर संघीय राज्यको सिमांकनको विषयमा भएको आन्दोलनको वेला त्यहाँको भौतिक संरचना आन्दोलनकारीहरुले जलाइदिएपछि अनुसन्धान प्रभावित भएको थियो ।
हामी नदि किनारै किनार अघि बढिरहेका थियौं । नदि सुसाइरहेको थियो । बाटोकिनारमा रहेका ठूलठूला चट्टानहरुमा नदिको आवाज ठोकिएर आएको कम्पनले नयाँ खालको संगित बुनिरहेको थियो । यो कम्ता खालको आनन्दित थिएन ।

हामीलाई चौधविष द्वारले स्वागत गरिरहेको थियो । सुरुमा नमिलेको साँगुरो भुगोल देखिने चौधविषको द्वार उदेकलाग्दो भएपनि वास्तविक रुपमा चौधविषको भुगोल जति मिलेको र फाँटिलो ठाउँ त अन्त कहि होईन होला जस्तो लाग्छ । ‘पहाडौं के सुन्दरी’ भनेर दार्जिलिङलाई चिनिएजस्तो हिमाली क्षेत्रको सुन्दर ठाउँ भनि घोषणा गर्दा पनि फरक पर्दैनहोला जस्तो लाग्नेगरी मन एकोहोरो बनाइदिने खालको भुगोल छ चौधविषको ।

चौधविषको द्वार पुरानो पटमारा गाविस हो । पटमारा परिचित छ आलुले । त्यहाँको आलु निक्कै मिठो हुन्छ । सम्झिदापनि मुखै रसाउँछ । तर अब पटमारालाई अरु थुप्रै चिजले परिचित गराउँदैछ । ठिन्केदेखि उर्खुसम्म एउटा ठूलो जंगल छ । हेर्दा आखाँले देखिने ठाउँ भन्दा टाढा सम्म त्यो जंगल छ । त्यो जंगलमा सल्ला, देवदार, झुलो लगाएतका आफै उम्रिएका रुखहरु छैनन् । त्यहाँ त मान्छेले लगाएका रुखहरु छन् । ती रुख अरु केहिका नभएर स्याउका हुन ।

पछिल्लो समय पटमारा आत्मनिर्भर बन्दै गएको छ स्याउले, आलुले, तरकारी र जडिबुटीले । स्याउ फल्न थालेदेखि यता किसानहरुको जीवन फेरीएको छ । आम्दानी राम्रो हुन थालेको छ । दुःख घठेको छ । वर्षको दुई मौसमको कडा मेहेनतले आरामदायी समयलाई बढाईदिएको छ । उर्थु चौताराका किसान सिंह विष्टले भेटमा भने स्याउ खेतिले आत्म निर्भरता बढाएको छ । दुःखका दिन गए ।

देशका नेताहरुले आर्थिक क्रान्तिकोको खोक्रो नारामात्र लगाइरहेको अवस्थामा किसानहरुको मेहेनतलाई हेर्ने हो भने बोलेरमात्र हुने होइन गरेर देखाउनुपर्छ भन्ने कुराको पाठ सिकाईदिएको छ । अमेरिकी मानवशास्त्री डा. मेरीडेसनले नयाँ शक्तिका डा. बाबुराम भट्टराईलाई लेखेको चिठीमा भनेकी छन् आत्म निर्भरताको आन्दोलन चालाउ बाबुराम विदेशि लगानीको कल्पनाले देश कंगाल बन्छ । उनले स्थानीय स्रोत साधन, श्रम र सीपको परिचालनले आत्मनिर्भर हुन सकिने कुरालाई खुबसित जोड दिएकी छन् । जंगलमा यत्र तत्र पाइने निमको उपयोगिताबारेको उनको मुद्दा शसक्त छ । त्यसै पटमाराका चौधपिषे आत्मनिर्भर भएका होइनन् ।

कृषि अनुसन्धान केन्द्र बागवानी राजीकोटले २०७४ असार २२ गते उर्थु चौतारालाई कृषि अनुसन्धान नमुना गाउँ भनि घोषणा गरेको छ । आजपनि त्यहाँ प्याज, गाँजर लसुन आदि तरकारीको बिउ उत्पादन हुन्छ भने स्याउ, ओखर आदिका विरुवा उत्पादन गरिन्छन् । उर्थु चौतारा चौधविसद्वारको एक प्रमुख बजारपनि हो । त्यो भन्दा माथि लासि र पातरासीमा बजार स्थापना हुनु अगाडि चौधविषका आवश्यकता त्यहि बजारले पूर्ति गर्दै आएको थियो । तर उर्थु चौतारालाई जिल्लाकै सबैभन्दा महंगो बजारको रुपमा पनि लिने गरिन्छ । एकान्त बजार भएको हुनाले यहाँ केहि प्रतिबन्धित गतिविधि पनि हुन्छन् भन्ने कुरा गाईगुई सुनिने गरेको पाइन्छ ।

बजारमा अनेक गतिविधि हुन्छन् । असारमा क्लोजिङ्गको समयमा धेरै ठेकेदारहरुको जक्सनपनि यतै मस्त जमेको देखिन्छ । एकान्तमा ठाउँमा रहेको शान्त बजार कहिलेकाहीँ असान्तपनि हुन्छ । हामी उर्थुबाट माथितिर लाग्छौं । आजभोली उर्थुमा रहेको काठको साँगु भत्काएर नयाँ फलामको पुल बनाइएको छ । त्यो पुलमा मोटरसाइकल सम्म मज्जाले गुडाउन सकिन्छ। पुल वारी र पारी रोड खनिएको छ । तर जवा नदिको कारण चौधविसेका घरैसम्म गाडि पुग्न सकेको छैन । त्यसैले चौधविषले उर्थु चौतारा नजिक जवा नदिमा एउटा पक्की पुल पर्खिरहेको छ ।

त्यहीँ जवा नदिको किनारैमा एउटा फ्याक्ट्रिपनि छ । पानीको फ्याक्ट्रि । यार्सा मिनरल वाटरको फ्याक्ट्रि । त्यहाँ उत्पादन हुने पानी उच्च गुणस्तरको भएको कुरा लगानीकर्ता कुलराज देवकोटाले जनाए । उनले यार्साको बजार जुम्लामात्र नभएर देश, विदेशलाई पनि बजार बनाउने गरि तयारी गरिरहेको बारे जानकारी दिए ।

नेपाल स्वच्छ पानीको धनी देश मानिन्छ । सन् २०११ को तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति ११ हजार दुई सय घनमिटर स्वच्छ पानीको उपलब्धताछ । विश्वभर पाइने स्वच्छ पानीको २.६ प्रतिशत नेपालमा उपलब्ध छ । त्यसैले नेपालले पानीको हाहाकार हुने अफ्रिकी देशहरुमा सस्तोमा पानी बेच्दा पनि राम्रो आम्दानी लिन सक्ने देखिन्छ ।

त्यहाँ पुगुन्जेल करिब डेढघण्टा वितिसकेको थियो । हाम्रो गन्तव्य स्थानसम्म पुग्न अझै डेढघण्टा हिड्नुपर्ने थियो । हामी उर्थुको पुल क्रस गरि उकालो लागिसकेका थियौं । हिडाइ गाडि हिड्नलाई खनेको बाटैबाटो हुँदै भैरहेको थियौं । बाटो अलि साँघुरै देखिन्थ्यो । दुई गाडि क्रसहुने सम्भावना निकै कम देखिन्थ्यो । बाटोको तलमाथि दुबै साइडमा जंगल थियो । साना साना मुहान भएका खोलाहरु खुब भेटिन्छन् । रोडको माथितिरको भागमा लगभग सबैतिर पनी रसाइरहेको हुन्छ । चिसोले रसाएको पानीलाई बग्न नदिएर जमाइदिएको हुन्छ ।
पुस १५ गतेको समय भएको हुनाले पुरै बरफ जमेको थियो । बरफ बोटोभरी पनि जमेको थियो । कुनैकुनै ठाउँमा त हिड्न सम्म पनि गाह्रो हुने र हिडेपछि चिप्लेर लड्ने संभावना झन् बढी नै थियो । मुख्य कुरा बाटोमा नाली थिएन । त्यसैलेपनि झन बढि बरफ जमेको थियो ।

एक ठाउँमा धेरै सल्लाका मुडाहरु काटेर राखिएको थुप्रो थियो । मुडाको थुप्रो माथितिर ठाडो खोलो थियो । खोलाभरी पानी होइन बरफ जमेको थियो । ती मुडा निकै माथिको जंगलबाट लोटाएर (गुडाएर) ल्याएका जस्ता देखिन्थे । बरफमा मुडा लोटाउनु भनेको मुडा बोक्नबाट छुट्कारा पाउनु हो । मुडालाई चिप्ल्याएर गन्तव्यसम्म पुगाउन बरफले खुब गतिलो काम गर्छ । अझ भनौ सुख दिन्छ । मान्छेलाई सहयोग गर्छ ।

त्यसरी थुपारीएका मुडा देखेपछि मलाई बाल्यकालको सम्झना खुबसित आउछ । हामी पनि मुडा काट्न जान्थ्यौं । हामी मुडालाई गिँड भन्छौं । गिँड काट्ने ठाउँसम्म पुग्न करिब दुई घण्टा हिड्नु पथ्र्यो । दिनभरी लगाएर काटेका गिँड भने त्यस्तै बरफमा लोटाएर ल्याइन्थ्यो । हामी बरफलाई ठाँडो भन्छौं । हात ठिराएर चिसोले कठ्यांग्रिदो जाडो हुँदापनि ठाँडोमा गिड लोटाएर ल्याउदा खुब मज्जा आउथ्यो ।

आठदश जनाको ग्रुप हुन्थ्यो । ती सबैका एकदुई वटा गिँड त अनिवार्य नै हुन्थे । लोटाएका गिँड जस्का बढी लोट्थे त्यसलाई आफ्नो गिँड बढी लोटेर अगाडि गएकोमा खुब सन्तुष्टि हुन्थ्यो । उस्ले मेरो गिँड हिट आयो भनि खुब घमण्ड गर्न पाउँथ्यो । उस्ले पछाडिका तिनचार दिनसम्मपनि फुर्ती लगाउन पाउथ्यो ।

यसरी जाडोमा पटकपटक लगाएर ल्याएका गिँड हामी आर्मीका ठेकेदारलाई बेच्थ्यौं । गिँड बेचेर कमाएका रुपियाँले एक सिजनमा कापीकलम किन्न हुन्थ्यो । २०६१ सालमा गिँड काटेर कमाएका रुपियाँले तिन सय पैंतालिसमा एक सेट नौ कक्षाका किताप किनेको अहिलेपनि याद आउछ ।

गिँड काट्न जानेहरु प्राय कम आम्दानी हुने परिवारका मान्छे हुन्थे । बाहँुन र क्षेत्री जातका मान्छेहरु त्यसरी दाउरा बेचेर खाँदैनथे । अधिकांश सार्की र कामी जातका मान्छेहरुको साइट जब जस्तै हो हिउदमा गिँड काट्ने र दाउरा बेच्ने काम । पछि सामुदायिक वनको अवधारणा आएपछि खुला रुपमा गिँड काट्न दिने कामलाई नियन्त्रण गरियो । पछि हामिले गिँड काट्न पाएनौं । कतिले छोड्यौं । कतिले लुकिलुकि भएपनि त्यहि कामलाई निरन्तरता दिए ।

भाञ्जा र म बरफ जमेको बाटो हुँदै अगाडि लाग्यौं । करिब ४५ मिनेट हिडेपछि हामी डिल्लिचौर पुग्यौं । मानवशास्त्री डोर बहादुर बिष्टले स्थापना गरेको स्कुल ऋणमोक्ष मा.विमा पुग्यौं । स्कुल भित्र एउटा अग्लो गरी षठ्कोण बनाएको छ । त्यो बनाउने वेला भित्र एउटा टाईमकार्ड बनाए दबाईको छ । त्यो टाईमकार्डमा त्यसवेलाका विद्यार्थीहरुले लेखेको तत्कालिन चौधविषको अवस्था र बिष्ट आफैले लेखेका कागजातहरु छन् भन्ने कुरा स्कुल प्रशासनले बताएको छ । त्यसलाई सय वर्षपछि खोल्नेगरी मिलाएर राखिएको छ । त्यसैलेपनि विष्टले सय वर्ष पछिको चौधविषको कल्पना गरेको हुनुपर्छ ।

डोर बहादुर विष्ट जातीय विभेदको विषयमा खुलेर बोल्थे । विष्टले बाहुनवादको विरुद्धमा लेखेका लेखहरुपनि भेटिन्छन् । उनले परिवर्तनको लागि चयन गरेको ठाउँमा बाहुँनहरुको बसोबास नै छैन । पुरै चौधविषभरी खस क्षेत्रि र दलितहरुको बसोवास बढी छ । केही भोटेहरुपनि बस्छन् । बाहुँन भने एकपनि छैनन् । बिष्टको प्रभाव हो वा कम्युनिष्टहरुको प्रभाव, त्यस क्षेत्रमा जातिय विभेद पटक्कै छैन । अरु क्षेत्रमा विभेदका प्रसस्तै उदाहरण भेटीदा पनि त्यो भेगमा भने निक्कै कम हुनु एक उदाहरण हो ।

हामीले सकेसम्म बढी जानकारी लिने प्रयास ग¥यौं । चार बजिसकेको थियो । हामीले फर्कन हतार ग¥यौं । बाटोभरी गफिदै आयौं । कतिवेला निकै रोमान्टिक त कतिवेला सिरियस हुँदै फर्कियौं । त्यस दिनको अर्काे रमाइलो पक्ष भनेको हामी दुई मामा भाञ्जाले लगाएका कपडा एकैनासे थिए । अनुहार लगभग मिल्ने हामीलाई कपडा उस्तै देखेपछि सबैले हामीतिर हेर्दै मुसुमुसु हाँस्दै गरेका दृष्यहरु धेरै देखिए ।

डोर बहादुर बिष्टको बारेमा अध्ययन गर्न एकदिने यात्रामा निस्केका हामी दुई मामा, भाञ्जालाई देख्ने त्यो १०,११ वर्षको फुच्चे देखि जो कोहीले आश्चर्यभाव प्रकट गरीरहेको जस्तो लग्थ्यो । केहिले बोलेर त केहिले मुसुमुसु हाँसेर प्रतिक्रिया जनाइरहेका थिए । बोल्नेहरु मध्ये केहिले कलेजको त केहिले अफिसको ड्रेस होला पनि भनिरहेका थिए । कर्ण सरकी श्रीमतीले पनि त्यस्तै सोचिरहेकी रहिछन । हामी उनकोको घर पुग्दा सुरुमै हाम्रा बारेमा बोलीन् । त्यो दिन हामीले लगाएको एकैनासे ड्रेसको भने गज्जबको संयोग बन्यो । पहिलादेखि नै सिलाएर राखेका थियौं । त्यो दिन लगायौं । बाटोमा ती दृष्यहरुको यादले हामीलाई बाटो कटाउन निकै सजिलो भयो । उनीहरु जस्ले हामीलाई देखे तिनिहरुको मनमा भने के पस्यो त्यो हामीले थाहा पाउन सकेनौं । बुढापाकाले भगवान जानुन् भनेजस्तै भयो । हामी फ्रेस थियौं । शारीरिक थकान निकै बढी भएपनि मानसिक थकान कत्ति थिएन । त्यसैवेला हामीले पुस पन्ध्रको रात व्याउने(ननिदाई रात कटाउने) योजना बनाइसकेका थियौं ।

मिति ः २०७४ माग २

तपाईको प्रतिक्रिया