कर्णाली प्रतिष्ठानले गर्याे ३५६ कर्मचारी र विधार्थीको एकमुष्ट स्वास्थ्य बीमा

जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ३५६ जनाको एकमुष्ट स्वास्थ्य बीमा गरेको छ । प्रतिष्ठानले स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी गरी २२७ जना र प्रतिष्ठानमा अध्ययनरत १२९ जना विद्यार्थीको स्वास्थ्य बीमा गरेको हो ।
दुर्गम तथा पिछडिएको क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा खोजमुलक अनुसन्धान गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानले नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड अन्र्तगत सम्पूर्ण स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी तथा विद्यार्थीको बीमा अनिवार्य गरेको हो ।
प्रतिष्ठानका कार्यालय सहयोगी ३१ जना, सिएमए, एनएम, एचए १६ जना, स्टाफ नर्स ६१ जना, प्रशासनिक कर्मचारी १९ जना, नसिङ्ग अधिकृत ७ जना, ल्याव, एक्सरे, फार्मेसी कर्मचारी २१ जना, मेडिकल अधिकृत १७ जना, आवासीय चिकित्सक ५ जना र शिक्षक ५० जना गरी २२७ जनाको स्वास्थ्य बीमा गरिएको हो ।
यस्तै विद्यार्थीतर्फ एमबिबिएस अध्ययनरत विद्यार्थी १५ जना, बि फार्मा ८ जना, बिएनएस ११ जना, बिएमएस द्धितीय वर्षका ४ जना, बिएमएस प्रथम वर्षका विद्यार्थी २ जना, विपिएच तृतिय वर्षका १२ जना, विपिएच द्धितिय वर्षका १२ जना, विपिएच प्रथम वर्षका ६ जना, पिसिएल नर्सिङ्गका ३६ जना र एचएका विद्यार्थी २३ जना गरी १२९ जनाको बीमा गरेको हो ।
आम नागरिकको स्वास्थ्य सेवा सहज, पहुँच र सुनिश्चित गर्न स्वास्थ्य बीमा ऐन २०७४ तथा नियमावली २०७५ को कार्यन्वयनका क्रममा प्रतिष्ठानले शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीको एकमुष्ट बीमा गरेको अस्पताल निर्देशक डाक्टर पुजन रोकायाले बताए । यहाँका ८ वटा स्थानीय तहमध्ये गुठीचौर र तातोपानी गाउँपालिकाले विपन्न नागरिकको पहिचान गरी निशुल्क स्वास्थ्य बीमा गरेका छन् । स्थानीय तहले विपन्नको सिफारिस पठाउनु भन्दा पनि उनीहरुकै नाममा स्वास्थ्य बीमा गर्न उपयूक्त हुने उनको भनाई छ ।
जुम्लाको एक लाख १९ हजार ३७७ जनसंख्या मध्ये ५७ हजार १३ जनाको मात्रै स्वास्थ्य बीमा भएको स्वास्थ्य बीमा बोर्ड जुम्लाका प्रमुख प्रेम भण्डारीले बताए । उनले भने ३ हजार ५६९ जना विपन्न नागरिक, २ हजार २८१ जना जेष्ठनागरिक, एचआइभी संक्रमति १ जना, क्षयरोगी २ जना, (क) वर्गका अपांगता भएका व्यक्ति ४७ जनाको निशुल्क स्वास्थ्य बीमा भएको छ ।
जुम्लासहित हिमाली दुर्गम जिल्लामा ६० वर्षमाथिका लागि जेष्ठनागरिकको रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रावधान भएपनि स्वास्थ्य बीमा भने ७० वर्षमाथिका व्यक्तिलाई मात्रै जेष्ठनागरिक मानेको छ । यसले सरकारी दुई वटामा सेवा प्रवाहमा निकै विरोधाभास देखिएको छ । ६० वर्षमाथिका नागरिकलाई नै जेष्ठनागरिकको आधारमा स्वास्थ्य बीमा गर्नपर्ने नागरिक अगुवा राजबहादुर महतले बताए । उनले भने स्वास्थ्य बीमा ऐन नियमावली परिर्वतन गरेरै भएपनि ६० वर्षमाथिका नागरिकलाई जेष्ठनागरिकको मान्यता दिइनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस