एन्फा जुम्लाको अध्यक्षमा पुनःबुढ्थापा,खेलाडी उत्पादन र खेल क्षेत्रको विकासमा जोड

जुम्ला । अखिल नेपाल फुटबल संघ (एन्फा) जुम्लाको अध्यक्षमा पुनःभरत बहादुर बुढ्थापा चयन भएका छन् । विहिबार भएको तेस्रो चुनावी साधारण सभा बाट बुढ्थापा चौथो कार्यकालका लागि अध्इक्षमा निर्विरोध चयन भएका हुन् ।

जुम्ला जिल्लामा एन्फाको स्थापना देखि नै संस्थापक अध्यक्ष रहेका बुढ्थापा चौथो पटक पनि अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । अध्यक्ष बुढ्थापा अखिल नेपाल फुटबल संघको केन्द्रिय सहमहासचिव पनि हुन् । जिल्लामा एन्फाको स्थापनादेखि नै फुटबल खेलको विकासमा खट्दै आएका बढ्थापाले आफ्नो विगतको तीन वर्षे कार्यकालमा जुम्लामा खेलाडी उत्पादन र खेल क्षेत्रको विकासमा उल्लेखीय काम गरेका छन् ।

आफ्नो चौथो कार्यकाललाई पनि सबैको साथ सहयोग मार्फत खेल क्षेत्रको विकासका लागि निरन्तर खटेर लाग्ने प्रतिबद्धता गरेका छन् । अध्यक्ष बुढ्थापाले जुम्लामा विभिन्न प्रतियोगिताको आयोजना गर्ने,खेल क्षेत्रको विकास,खेलाडी उत्पादन,पूर्वाधार निर्माण लगायतका कुरालाई अगाडी बढाउने उल्लेख गरे ।

नवनिर्वाचित अध्यक्ष बुढ्थापाको नेतृत्वमा १२ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । जसमा वरिष्ठ उपाध्यक्षमा राज बहादुर खत्री चयन भएका छन् । उनी यसअघि पनि वरिष्ठ उपाध्यक्ष रहेका थिए । भने, अन्य दुई उपाध्यक्षमा बिकल जङ्ग शाही र रोशन श्रेष्ठ चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा रविन्द्र शाही, भरत बुढ्थापा, अजय बुढ्थापा, बिस्न बहादुर महत, दिपेन्द्र विक्रम हमाल, मदनराज भारती र खड्क भण्डारी चयन भएका हुन् ।
यसैबीच शनिवार आयोजित तेस्रो साधारण सभामा एन्फाले आफ्नो आव २०७४ देखि हाल सम्मको आयव्याय पनि प्रस्तुत गरेको थियो । जसमा आय तर्फ २४ लाख ८८ हजार ८ सय ३५ रहेकोमा व्याय तर्फ पनि उतिकै खर्च भएको जनाइएको छ ।

कार्यक्रममा खेलकुद विकास समिति जुम्लाका सदस्य सचिव संगिता आर्चायले समन्वयको अभावले जुम्लामा खेल क्षेत्रको अपेक्षित विकास नभएको भन्दै आगामी दिनमा सहकार्य गर्न आबश्यक रहेको बताए । जुम्लाको फुटबलको विकासका लागि भरत बुढ्थापा जत्तीको सक्रिय व्यक्ति आबश्यक रहेको समेत औल्याईन् । भने खेलको विकासका लागि बजेटको अभाव नरहेको भन्दै सहकार्यसंगै नयाँ खेलाडी उत्पादन तथा खेल पूर्वाधार निर्माणमा जोड दिने उनको भनाई छ ।

चन्दननाथ नगरपालिका ५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले आफुले वर्षेनी ५ लाख खेलक्षेत्रमा खर्च गर्दै आएको बताए । जुम्लामा भरत बुढ्थापाले फुटबुल खेलको विकासमा उल्लेखीय काम गरेको भन्दै आगामी दिनका थप अब्बल काम गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस