हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित

जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका – ३ गज्यांकोट गाउँस्थित शंकर बहुउद्देश्यीय माध्यामिक विद्यालयको छाना हावाहुरीले उडाएको छ । हावाहुरी विद्यालयको छाना उडाएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको हो ।
हावाहुरीले दुई कोठे विद्यालय भवनको छाना उडाएको हो । हावाहुरीले छाना उडाएपछि दुई लाख ५० हजार बराबरको क्षति भएको विद्यालयका प्रधानाध्यापक एकराज बुढाले जानकारी दिए ।
टिनको छाना उडाउँदा भित्र रहेका डेस्क बेन्चलगायत अन्य शैक्षिक सामग्री पनि पानीले भिजेर नष्ट भएको उनले बताए । २०२४ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल २५० जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १ देखि १० सम्म पढाइ हुने शंकर वहुउदेश्यीय मावि गज्याङकोट नमूना उन्मुख विद्यालय हो ।

प्रतिक्रिया दिनुहोस