जुम्लामा दैनिक १४ घण्टा लोडसेडिङ


बुधबार, १७ माघ २०७४

कर्णाली पोष्ट दैनिक
जुम्ला ः कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलंगामा दैनिक १४ घण्टा लोडसेडिङ हुदै आएको छ । साना जलविद्युत उपभोक्ता समितिद्धारा सप्लाई हुदै आएको विधुत् सदरमुकाम आसपास चन्दननाथ नगरपालिकाभर दैनिक १४ घण्टा लोडसेडिङ हुदै आएको हो । साना जलविद्युतका लागी उपलब्ध जुगाड खोलामा पानीको बहाब घट्दै गएपछि विद्युत उत्पादन घटेको समितिले जनाएको छ । खोलामा पानीको बहाब घट्नुका साथै घुघुतीमा उत्पादीत उक्त विधुत्को पावरहाउसको मेसिन जिर्ण भएर विधुत् उत्पादनमा समस्या हुदाँ दैनिक १४ घण्टा लोडसेडिङ गर्न बाध्य भएको समितिका इन्र्चाज हर्कबहादुर बोहोराले बताए । उनले भने ‘खोलामा पानीको बहाब घट्दै गएको छ, भएका मेसिन पनि पुराना छन्, २ सय किलोवाट क्षमताको विधुत् अहिले १ सय ३५ किलोवाट मात्र उत्पादन हुन्छ, त्यसैले लोडसेडिङ बढेको हो’ ।

जुगाडखोलाको पानीको बहाब र यस बर्ष साउन, भदौको बर्षा मौषम तथा पुस, माघको हिँउदे मौषममा भएको लोडसेडिङको दरलाई हेर्ने हो भने चैत, बैशाखको सुख्खा खडेरी महिनामा विधुत् उत्पादन शुन्यमा झर्ने संभावना निकै छ । सदरमुकामसँग जोडिएको साविकको चन्दननाथ गाविसलाई केन्द्रीत गरी ५ सय घरधुरीका लागि २०४० सालमा विधुत् संचालन भएको थियो । झण्डै पाँच दशक पहिले पाँच सय घरधुरीलाई लक्षीत गरी उत्पादीत दुई सय किलोवाट क्षमताको विधुत्का ग्राहाक अहिले दिनप्रतिदिन बढ्दै जाँदा समस्या थपिएको हो ।

पाँच सय घरधुरीका लागि उत्पादन विद्युत अहिले २ हजार ७ सय घरधुरीले लाईन जडान गरेका छन् । यसरी विधुत्ले थाम्न नसक्ने गरी ग्राहाक बढेपछि बैकल्पीक विधुत्को खोजिका लागी समिति र सरोकारवाला निकाय मौन बसेको पाईन्छ । ‘नयाँ मेसिन खरीद भन्दा पुरानै सेसिनलाई टालटुल पारेर लाखौँ रकम खर्च गरिन्छ तर भने जस्तो विजुली बाल्न पाईदैन’ विधुत्ले थेक्न नसक्ने ग्राहाकको संख्या र पुराना मेसिनले काम चलाउ विधुत् उत्पादन गरीएपछि अधिकांस ग्राहाकले विजुली नबालेरै महशुल तिर्ने गरेको बताएका छन् । चन्दननाथ नगरपालिका ७ का कालीबहादुर नेपालीले भने, ‘दैनिक १४ घण्टा लोडसेडिङ हुने विधुत् कतिखेर आाउछ, जान्छ पत्तो हुदैन, विधुत् नबालेरै बेकारमा हाम्रो पैसा खेर जान्छ, बैकल्पिक उर्जा सोलार अर्थात दियालोको जोहो गर्ने परम्परागत समस्या टरेको छैन’ ।

यस्तो समस्यामा विशेष गरी यतिखेर सदरमुकाममा एसइइ परीक्षा र अन्य अतिरिक्त शिक्षा तयारीका लागि आएका हजारौँ विद्यार्थी लोडसेडिङको मुख्य मारमा परेका छन् । भने उद्योग धन्दा संचालनमा सकस भएको छ । लोडसेडिङले अध्ययन कार्य प्रभावित भएको तातोपानी २ का विद्यार्थि दशरथ चनाराले बताए । उनले भने, ‘एसइइ परीक्षा तयारीका लागि सदरमुकाम आएको छुँ, तर यहाँ लोडसेडिङले हैरान दिएको छ’ । यता बढ्दो लोडसेडिङले कार्यालयको सेवा प्रवाहमा समस्या परेको चन्दनाथ नगरपालिकाका नायब सुब्बा लक्ष्मीचन्द्र न्यौपाने बताए । उनले भने ‘विद्युतको भरै छैन, कार्यालयको कार्य सम्पादनमा सहज होस भनेर बैकल्पिक उर्जा सोलारको व्यवस्था गरेका छौँ’ ।

तपाईको प्रतिक्रिया