जुम्लाका आठै पालिका प्रमुखले लिए सपथ

जुम्ला । नवनिर्वाचित जुम्लाका आठ पालिका प्रमुखहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शुक्रबार एक औपचारिक समारोहका बीच मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिष ज्वाहरप्रसाद सिंहद्धारा पालिका प्रमुखहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

नेपालको संविधान अनुसार नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षलाई मुख्यनिर्वाचन अधिकृतले सपथ खुवाउने व्यवस्था अनुसार जुम्लाका आठै पालिका प्रमुखलाई सपथ खुवाइएको मुख्यनिर्वाचन अधिकृत सिंहले बताउनुभयो ।

जुम्लामा निर्वाचनलाई शान्त मर्यादित र भयरहित वाताबरणमा सम्पन्न गराउन अहोरात्र खटिने तीनै सुरक्षा निकाय,सिडिओ,राजनीतिक दल तथा पत्रकारहरुलाई धन्याबाद समेत दिनुभयो ।

चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत,तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाई,तिलाका अध्यक्ष मोतिलाल रोकाया,हिमाका अध्यक्ष लक्ष्मण शाही,सिंजाका अध्यक्ष पुर्ण प्रसाद धिताल,कनकासुन्दरीका अध्यक्ष दामोदर आर्चाय,पातारासीका अध्यक्ष पुर्णसिंह बोहोरा र गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले सपथ लिएका हुन् । अध्यक्षहरुले पालिका उपाध्यक्ष तथा वडाध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाँईले जुम्लाका आठै स्थानीयतहमा भिन्न भिन्नै प्रकृतिका समस्या रहेको बताउनुभयो । जुम्लाका १०१ निर्वाचन केन्द्रमा शान्तिपुर्ण ढंगबाट निर्वाचन सम्पन्न भएको छ । जुम्लामा झण्डै ७६ प्रतिशत मत खसेकोमा २६ हजार महिला र २५ हजार पुरुषले मतदान गरेका छन् । समन्वय,सहकार्य र सहअस्तित्वका आधारमा काम हुने समेत अपेक्षा व्यक्त गर्नुभयो ।

चन्दननाथमा सरसफाई,फोहोर व्यवस्थापन,पातारासीमा बालविवाह न्युनिकरण,पातारासीमा यूवा उद्यमशीलता तथा सचेतना,तातोपानी पर्यटन प्रर्बद्धन,हिमामा संचार पहुँच बृद्धि,सिंजामा शान्ती सुरक्षा मजबुद कनकासुन्दरीमा सडक पुल पूर्वाधार विकासमा ध्यान दिन पालिकालाई प्रमुखहरुलाई सुझाब दिनुभयो ।

सपथ ग्रहणपछि आठै पालिकाको प्रतिनिधित्व गरेर बोल्दै मेयर राजुसिंह कठायतले चन्दननाथलाई सफा सुन्दर नगर बनाउने प्रतिबद्धता गरे । गाउँमा विकासका नाममा हुने राजनीति,उपभोक्ता समितिका नाममा हुने राजनीतिको अन्त्य गर्न समेत अन्य पालिका प्रमुखलाई कठायतले अनुरोध गर्नुभयो ।

निर्वाचित जनप्रतिनिधि सबै उर्जावान भएकोले पाँच वर्षमा संघियताको महशुस हुने गरी काम गर्न सकिने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गुठिचौर गाउँपालिकाका निर्वाचन अधिकृत सम्भु गौतमले पालिका प्रमुख उपप्रमुखको सपथ लगत्तै कार्यपालिका सदस्यको निर्वाचन प्रक्रियालाई अघि बढाईने बताउनुभयो । जुम्लामा ५ पालिकामा नेपाली काँग्रेस,२ पालिकामा माओबादी र १ पालिकामा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

 

प्रतिक्रिया दिनुहोस