कर्णालीमा खेलाडी उत्पादन र खेल क्षेत्र प्रर्बद्धन गर्न मेरो उम्मेदवारी ः बुढ्थापा

जुम्ला ।  आगामी असार ६ गते अखिल नेपाल फुटबल संघको केन्द्रिय महाधिवेशन हुने भएको छ । नयाँ नेतृत्व छनोटका लागि असार ६ गते केन्द्रिय महाधिवेशन हुने भएको हो । महाधिबेवनमा जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बहादुर बुढ्थापाले केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

जुम्लाको फुटबल खेलको विकास र खेलाडी उत्पादन लगायत समग्र खेल क्षेत्रको विकासका लागि विगत एक दशकदेखि अहोरात्र खट्दै आएका बुढ्थापाले नेपाल फुटबल संघको केन्द्रिय महाधिवेशनमा केन्द्रिय सदस्यको पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

यसअघि केन्द्रीय सह–महासचिवमा मनोनित भइसकेका बुढ्थापाले समग्र कर्णालीको खेलकुद क्षेत्रको विकास उन्नतीका लागि केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको बताए । उनले भने,“मेरो उम्मेदवारी पद ओगट्नका लागि मात्र हैन् । खेल क्षेत्रका माध्यमबाट कर्णालीलाई मुलुकमा चिनाउ,नयाँ खलाडी उत्पादन गर्न, खेलकुद पूर्वाधार विकास गर्न र खेल क्षेत्रका प्रतिभावान यूवालाई अघि बढाउन पहल गर्न मेरो उम्मेदवारी हो ।”

फुटबलमै भविष्य देखेका खेलाडी पनि कर्णालीमा थुप्रै छन् । एन्फा केन्द्रमा कर्णालीको प्रतिनिधित्व नहुँदा कर्णालीमा अपेक्षित खेल क्षेत्रको विकास हुन सकेको छैन् । त्यसैले कर्णालीको प्रतिनिधित्व सुनिश्चित गर्न केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेको बुढ्थापाको भनाई छ ।

कर्णालीको फुटबल सँगसँगै अन्य भलिबल, एथलेटिक्स र टेबलटेनिस लगायतका खेल क्षेत्रको विकास तथा खेलाडीको नियमित अभ्यास र क्षामता विकासका लागि सधै लागि पर्ने समेत बुढ्थापाले कर्णाली पोष्टलाई जानकारी दिए ।

उनले थपे,“मैले खेल क्षेत्रकै विकासमा एक दशक बिताएको छु । खेल क्षेत्रका समस्या के हुन् ? चुनौती के हुन भन्ने राम्ररी बुझेको छु । त्यसैले पनि मलाई सबैले सहयोग समर्थन गर्नेछन् । भन्नेमा विश्वस्त छु ।”

 

प्रतिक्रिया दिनुहोस