शिक्षा स्वास्थ्य र उत्पादनमुखी नीति तथा बजेटमा तातोपानीको प्रथामिकता

जुम्ला । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुम्लाका स्थानीय तह जुटेका छन् । असार १० गते नीति कार्यक्रम र बजेट ल्याउनु पर्ने प्रावधान अनुसार जुम्लाका एक नगरपालिका र सात गाउँपालिका बजेट निर्माणमा जुटेका हुन् ।

स्थानीय तह निर्वाचनबाट विजयी भएका नयाँ जनप्रतिनिधिहरुले पाँच वर्षे विकासको खाँका बनाउन जुटेका छन् । स्थानीयतहमा देखिएका नयाँ अनुहारले पृथक नीति र कार्यक्रम ल्याउने नागरिकको अपेक्षा छ ।

जस अन्तरर्गत यहाँको तातोपानी गाउँपालिकाले शिक्षा,स्वास्थ्य र रोजगारसंगै उत्पादनमुखी क्षेत्रलाई प्रथामिकता नीति कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको तातोपानीका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताउनुभयोल।

उहाँले भन्नुभयो,“विगतको भन्दा पृथक नीति र कार्यक्रमको तयारीमा छौ । उत्पादनमुखी बजेटलाई प्रथामिकता दिने पक्षमा सबै जनप्रतिनिधि छन् । समृद्ध पालिका बनाउन शिक्षा र उत्पादनशील क्षेत्र नै पहिलो प्रथामिकतामा छ ।”

पालिकाका तीन जना दलित र अल्पसंख्यकलाई ५० प्रतिशत अनुदानमा डाक्टर र ईन्जिनियर पढाउने,शिक्षक विद्यार्थीको निशुल्क स्वास्थ्य परिक्षण गर्ने,डिजीटल मैत्री सेवा प्रवाहमा जोड दिने,विद्यालय बाहिर रहेकालाई झिकाउने, विद्यालयमा टिकाउने र बजारमा बिकाउने खालको शिक्षामा जोड दिने आयात रोक्न,निर्यात बढाउन,बाँझो जग्गा उपभोग गर्न र यूवा जनशक्तिलाई परिचालन गर्न उत्पादनमुखी बजेटमा जोड दिईने प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले बताउनुभयो ।

साथै पालिकाका कम्तीमा २५ जना प्रविणता तह पढीरहेका जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्न नीति ल्याईने छ । तातोपानीका ८ वटै वडामा आधारभूत पूर्वाधार विकास भएको र आगामी आवमा ५ शैया अस्पताल निर्माणमा जोड दिईने छ ।

त्यस्तै पातारासी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले कस्तो नीति कार्यक्रम र बजेट ल्याउने माथि छलफल भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“वस्तीघरबाट जनप्रतिनिधिले योजना ल्याउने छलफल गर्ने काम भईरहेको । कस्ता नीति कार्यक्रम आउँछन् भन्ने जनताको चासो भएकोले पनि अलि पृथक कार्यान्वयनमुखी नीति र बजेट ल्याउन गहन छलफल गरिरहेका छौ ।”

पातारासी कृषि र शिक्षा प्रथामिकता दिएर नीति तथा बजेट आउन सक्ने प्रमुख प्रशासकिय अधिकृत धितालको भनाई छ । संघ र प्रदेश सरकारले पठाएको चार वटा शिर्षकका अनुदान र आन्तरिक आयको आधारमा स्थानीयतहले पाँच वर्षे विकासको खाँका बनाईरहेका छन् । आन्तरिक आय बृद्धिमा जोड दिने गरी स्थानीयहले नीति र बजेट ल्याउनु पर्नेमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आर्चायको जोड छ ।

नागरिकको आयस्तर बृद्धि,यूवालाई रोजगारी,व्यवहारिक शिक्षा र नागरिकले महसुश गर्ने खालको सेवा प्रवाहमा जोड दिने खालका नीति र बजेट ल्याउन प्रमुख आर्चायको सुझाब छ । नयाँ जनप्रतिनिधिबाट नागरिकले नयाँ खालका कार्यक्रमको अपेक्षा गरेका छन् । पुराना राम्रा कार्यक्रमलाई निरन्तरता दिएपनि केहि नयाँ र पृथक कार्यक्रम ल्याउने दबाबमा जनप्रतिनिधि रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस