‘हामी ऋण लगानी गर्न तयार छौ,तर उद्यमीको खाँचो छ’

जुम्ला । चन्दननाथ सहकारीले अधिकतम उत्पादनशील क्षेत्रमा ऋण लगानी गर्ने योजना बनाएको छ । बढ्दो बेरोजगारीलाई कम गर्न,यूवा पलायन रोक्न,रैथाने बस्तुको उत्पादन बृद्धि गर्न र नागरिकको आयआर्जन बृद्धिका लागि आबश्यकता अनुसार ऋण लगानी गर्न सहकारी तयार रहेको प्रबन्धक रिसिराम पाण्डे बताउँछन् ।

उनी भन्छन,“हामीले जत्ती पनि ऋण लगानी गर्न तयार छौ । यहाँ उद्यमीको खाँचो छ । सृजना यूवाको कमी छ । बेरोजगारी बढ्दै छ । खेती योग्य जमिन बाँझिदै छ । तर उद्यमशीता भने निकै कम छ । आफ्नै गाउँठाउँमा केहि इलम गर्न चाहने उद्यमीलाई हामी सहजै ऋण दिन तयार छौ ।”

उत्पादन बृद्धिका लागि जग्गा बाँझो नराख्ने अभियान थाल्ने समेत योजनामा रहेको पाण्डेको भनाई छ । ऋण लगानीका लागि सहकारीले यूवा उद्यमी खोजिरहेको छ । बारी बाँझो राखेर काम खोज्नका लागि खाडी र कालापहाड भौतारिने यूवालाई नमुना उद्यमी बनाउन ऋण लगानी संगै वित्तिय साक्षरता समेत दिन चन्दननाथ सहकारी तयार छ ।
विडम्बना जुम्लामा उद्यमीको खाँचो छ । आफ्नो गाउँमा श्रम गर्नुभन्दा कालापहाड र खाडी जाने प्रबृत्ति हाबी भएको छ । जसले गर्दा जुम्ला थप परनिर्भर बन्दै गएको छ ।

पाण्डेले थपे,“जुम्लामा दुध डेरीको आबश्यकता छ । मासुको माग बढ्दो छ । तर भेडापालन घट्दो छ । व्यवसायीक भेडा पाल्ने उद्यमी छैनन् । रैथानले बाली,स्याउ,सिमि,ओखर,मार्सी,चिनो कागुनो,कोदो फापर जस्ता अन्न फलाउने उद्यमीको अभाव छ । बजारीकरणको सुनिश्चिता हामी गर्छौ,ऋण हामी दिन्छौ तर तपाई उत्पादन मात्र गर्नुहोस उद्यमी बन्नुहोस भन्दा पनि जुम्लामा त्यस्ता इच्छा शक्ति भएका यूवा भेटिदैनन् ।”

आगामी वर्षबाट जुम्लामा हाटबजार संचालन गर्ने र दुध डेरी पनि स्थापना गर्ने लक्ष्य राखिएकोले इच्छुक उद्यमी सहकारीका सदस्यहरुलाई समेत व्यवसया गर्नका लागि अपिल गरिएको छ ।

बैंक भन्दा अब्बल कारोबार गर्दै आएको चन्दननाथ सहकारीले कर्णालीमा आर्थिक क्रान्ती गर्ने उद्देश्य बोकेको छ । उत्पादनशील क्षेत्रमा थप लगानी बढाउदै निर्यात प्रर्बद्धन गर्ने आर्थिक समृद्धी हासिल गर्ने समेत सहकारीको दाबी छ । सहकारीका सदस्यको जीविकोपार्जनमा सुधार ल्याउन शेयरको लाभांश र सदस्यको बचत फिर्ता गर्न सक्ने क्षमता चन्दननाथ सहकारी जस्तै सबै सहकारीले राख्नु पर्दछ ।

झण्डै डेढ अर्ब ऋण लगानी
रोजगारी सृजना,आयात प्रतिस्थापन र नागरिकको आयआर्जन बृद्धिका लागि जुम्ला स्थित चन्दननाथ बहुउदेश्यीय सहकारी संस्थाले उत्पादनशील क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । २०३१ सालमा स्थापना भई २०२८ यतादेखि घलुवित्तको सेवा दिईरहेको चन्दननाथ सहकारीले उत्पादनशील क्षेत्रलाई प्रथामिकता दिएर ऋण लगानी गर्दै आएको हो ।
प्रतिबेदन अनुसार कृषि,होटल व्यवसाय,खुद्रा व्यापार,भेडाबाख्रा पालन,लगायतका उत्पादनशील क्षेत्रमा चन्दननाथ सहकारीले हाल सम्म झण्डै डेढ अर्ब बराबरको ऋण लगानी गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी सहकारीले हाल सम्म कर्णाली प्रदेशको जुम्ला लगायत ६ जिल्लामा १ अर्ब ४९ करोड ८४ लाख ३६ हजार ऋण लगानी गरेको सहकारीका प्रबन्धक रिसिराम पाण्डेले बताए ।

उनले भने,“ऋण लगानीका लागि उत्पादनशील क्षेत्रलाई पहिलो प्रथामिकता दिएका छौ । ५ लाख देखि १ करोड सम्म व्यवसायीक ऋण उपलब्ध गराएका छौ । सहकारीमा आबद्ध सदस्यहरु ऋण लिएर उल्लेखीय प्रगती गरेका धेरै उदाहरण पनि छन् ।”

लगानी भएको झण्डै डेढ अर्ब ऋण मध्य हाल १ अर्ब १७ करोड २० लाख १३ हजार १ सय असुली भइसकेको छ । भने, अझै ३२ करोड ६४ लाख २२ हजार ८ सय ९८ रुपैयाँ ऋण असुली गर्न बाँकि छ ।

प्रतिक्रिया दिनुहोस