तीन किसिमको खाद्यन्न कुपनले डेराबासी पीडित


नन्द सिंह
हुम्ला ः सिमकोटमा खाद्यन्न कुपनका लागि तीन किसिमको कर तिर्नु पर्दा डेरामा बस्दै आएका व्यक्ति पीडित भएका छन् । सिमकोट गाउँपालिकाले मनोमानी रूपमा तीन वटा करको मुल्य तिर्न लगाएपछि बजारबासी समस्यमा परेका छन् ।

अहिले डेरामा बस्दै आएका व्यक्ति र घरपरिवारले तीन वटा कर तिरेपछि मात्र खाद्यन्न पाउने गरेका छन् । सिमकोट गाँउपालिकाको ५ र ६ नम्बर वडा कार्यालयलाई कर तिरेपछि मात्रै उनीहरूले खाद्यान्न कुपन पाउने गरेका हुन् ।

‘सदरमुकाम सिमकोटमा काम विशेषले वा पेसा व्यवसाय गरी बस्ने व्यक्तिले त यो कर तिर्न सक्लान् हामीले कसरी तिर्नु ?’(विमनस्थलबाट बजारमा भारी बोक्ने काम गर्ने ससिकला रोकायाले गुनासो गरिन् ।

उनले भनिन्(‘पति बितेको पाँच वर्षभयो । आफूसँगै एक जना छोरीलाई पाल्नुपर्छ । बिहान र बेलुकाको छाक टार्न समेत गाह्रो भइरहेको छ । अब तीन वटा कर कसरी तिर्नु ?’

सदरमुकाम सिमकोटमा घर भाडामा बस्नेले नेपाल खाद्य संस्थानबाट प्रतिव्यक्ति मासिक ५ किलो चामल पउनको लागि खाद्यन्न कुपन लिनुपूर्व नै आफैँ बसोबास गर्नेसम्बन्धी वडा कार्यालयमा तीन प्रकारका कर तिर्नु पर्ने व्यवस्था गरिएको छ ।

प्रति कुपन ३ सय रुपियाँ, सिमकोट बजारको सरसफाईका लागि ५० रुपियाँ, र घर भाडामा बसे बापत प्रति कोठाको १ सय रुपियाँका दरले बुझाउनु पर्ने प्रावधान गरेको छ । वडा कार्यालयले सिमकोट बजारमा डेरामा बसेका र घर धनिलाई सो कर लागु गरेको छ ।

खाद्यन्न किन्नु पुर्व नै तिर्नु पर्ने करैकरले सर्वसाधरणलाई थप मर्कामा पारेको छ । नेपाल सरकारले नेपाल खाद्य संस्थानमार्फत हुम्लामा वर्षेनी ढुवानी सहुलियतको खाद्यन्न उपलव्ध गराउँदै आएको भए पनि सदरमुकाम सिमकोटमा बस्दै आएका बजारबासीलाई स्थानीय तहको गठन भएपछि जन प्रतिनिधिले गरेको यो निर्णयले खाद्यन्न महङ्गो परेको हो ।

चामल नभए पनि कार्ड बनाउँदा कर तिर्नैपर्छ, लामो समयदेखि सिमकोट बजारमा डेरामा बस्दै आएका चन्द्रबहादुर शाहीले बताए ।

निर्वा्चित जनप्रतिनिधिले आफ्नो वडामा आम्दानीको लागी यस्ता अतिरिक्त कर लगाउँदा सहुलियत मुल्यको खाद्यन्न समेत महङ्गो पर्ने भएको छ ।

नेपाल खाद्य संस्थानले बजारबासीका लागि हरेक महिना एक जना बराबर पाँच किलोका दरले खाद्यन्न उपलव्ध गाराउने जिल्ल खाद्य समितिले व्यवस्था गरेको छ ।

सिमकोट बजारमा बस्दै आएका करिब १ हजार घरपरिवारले बजारको खाद्यन्न कुपन बनाएका छन् । साविकको सिमकोट गविसको कार्यालयले खाद्यन्न कार्डमार्फत अहिले पनि शुल्क उठाउँदै आएको छ ।

यस पटक वडा कार्यालयले थप शुल्क लगाएका कारण सदरमुकाममा बस्ने व्यक्तिलाई समस्या भएको छ । मासिक रूपमा पाँच किलोको दरले पाइने खाद्यान्न लिने कुपन बनाउनको लागि स्थानीय करले खाद्यन्नको मुल्य भन्दा कर बढी भएको सिमकोट बजारका बासिन्दाले गुनासो गरेका छन ।

तपाईको प्रतिक्रिया