
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले १९ औँ निजामती दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अबसरमा तातोपानीले हाँकु चौरमा वृक्षारोपण,मैत्रीपुर्ण फुटबल खेल र रस्सी तानतान गरी दिवस मनाएको हो ।
जसमा मैत्रीपुर्ण फुटबल खेलतर्फ ४ गोलका विरुद्ध ६ गोल गर्दै जनप्रतिनिधिको टिमलाई कर्मचारीको टिमले जितेको छ । भने, रस्सी तानातान तर्फ भने कर्मचारी टिमलाई हराउदै जनप्रतिनिधिकाे टिमले जित हासिल गरेकाे छ ।
साथै हाँकु चौरमा पालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत र १ देखि ७ नम्बर वडाध्यक्षहरुले हाँकु चौरमा बृक्षा रोपण गरेका छन् । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले निजामती दिवशले कर्मचारीहरुलाई कार्य सम्पादन र सेवा प्रवाहमा थप उत्साह र हौसला प्रदान होस भनी शुभकामना दिए ।
तातोपानीमा कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध सधै्र समधुर रहेको भन्दै आगामी दिनमा पनि सम्बन्ध थप प्रगाढ हुने उल्लेख गरे । तातोपानीलाई नमुना पालिका बनाउन र जनप्रतिनिधि र कर्मचारीको सहकार्य र समन्वयलाई प्रभावकारी बनाईनेमा जनप्रतिनिधिको जोड छ ।
प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले २०१३ सालदेखि नेपालमा औपचारिक रुपले निजामती सेवा सुरु भएको बताए । निजामती सेवा ऐन २०४९ र नियमाली २०५० अनुसार हरेक दृष्टीले वैधानिक मानिएको संयन्त्रनै निजामती सेवा भएको उल्लेख गरे ।
राज्य संचालनको बलियो खम्बा मानिने निजामती कर्मचारीहरुको हक हित र अधिकारका लागि राज्य अझै गम्भीर हुनुपर्नेमा जोड दिए । दिवशका अबसरमा आगामी दिनबाट उत्कृष्ट कर्मचारीलाई प्रोत्साहन गरिने उनको भनाई छ ।
कार्यक्रममा विषयगत शाखाका प्रमुख,वडा सचिवहरु,जनप्रतिनिधि र पत्रकार लगायत स्थानीयको सहभागिता रहेको थियो ।