
जुम्ला ः सानो परिवार खुसी परिवार दुई सन्तान इश्वरको बरदान भन्ने मुलनारा सहित जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा स्थायी परिवार नियोजन पुरुष बन्ध्याकरणको घुम्तीशिवरमा दुई सय ४३ जना पुरुषले बन्ध्याकरण गरेका छन् । सन्तानका सहर पुगेका पुरुषहरुले स्थायी परिवार नियोजन पुरुष बन्ध्याकरण गरेका हुन् ।
फागुन २५ गते देखि चैत ६ गते सम्म पातारासी गाउँपालिकाको खालाढिक, डिल्लीचौर स्वास्थ्य चौकी, कनकासुन्दरी गाउँपालिकाको हाडसिजा स्वास्थ्य चौकी, सिजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकी र तिला गाउँपालिकाको कुडारी स्वास्थ्य चौकीमा परिवार नियोजनको स्थायी पुरुष बन्ध्याकरण घुम्तीशिविर सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका परिवार नियोजन सुपरभाइजर रविन्द्र भण्डारीले बताए । उनले भने चैत ७ गते देखि १२ गतेसम्म चन्दननाथ नगरपालिका स्थित मेरी स्टोप्स सेन्टरजुम्लामा पुरुष स्थायी बन्ध्याकरण संचालन भईरहेको छ । साविकको ताम्ती गाविसबाट भने ८ जनाले पुरुष स्थायी बन्ध्याकरण गरेको सुपरभाईजर भण्डारीले बताए । साविकको ताम्ती गाविसका स्थानीयलाई समेट्नका लागि कुडारी स्वास्थ्य चौकीमा दुई दिन शिविर संचालन गरिए पनि कमै सहभागी भएका थिए ।
स्थायी पुरुष बन्ध्याकरण शिविरको माग गरेपनि यसबर्ष पनि भएन
तातोपानी गाउँपालिका ७ र ८ नम्बर वडामा पर्ने साविकको ताम्ती गाविसका स्थानीयले स्थायी पुरुष बन्ध्याकरण शिविरको माग गरेपनि डाक्टरको टोली गाउँमा आउदैनन् स्थायी जोखे रावतले गुनासो गरे । उनले भने अहिले ४५ बर्षको भए परिवार नियोजनका लागि अस्थायी साधन कण्डम नै प्रयोग गर्दै आएको छु । महिलाहरुले परिवार नियोजनका लागि पिल्स र डिपो प्रयोग गर्ने गरेका छन् उनले भने यहाँका महिलाहरुले धेरै काम गर्नुपर्छ आराम गर्ने पाईदैन त्यसले निकै असर गर्ने गरेको छ । तीन बच्चका बाबु रावतले परिवार नियोजनका लागि स्थायी पुरुष बन्ध्याकरण नै राम्रो हो यहाँ आएर शिविर संचालन गर्दैनन् सदरमुकाम जान १ दिन लाग्छ यातायातको सुविधा छैन खर्च पनि धैरै लाग्ने भएकाले सदरमुकाम खलंगा जाने नसकिएको बताए ।
स्वास्थ्य चौकी ताम्तीका इन्र्चाज भुपेन्द्र पाण्डेका अनुसार परिवार नियोजनका लागि पुरुष स्थायी बन्ध्याकरण लागि एक पटक शिविर संचालन गर्ने योजना तय भएपनि शिविरका लागि आएको टोली सम्बन्धित ठाउँमा नपुगरै कुडारीको त्रिवेणीबाट फर्किएको बताए । उनले यस ठाउँका मान्छेहरु स्थायी बन्ध्याकरण गरेका कमै मात्र छन् सबै महिला पुरुषले परिवार नियोजनका लागि अस्थायी साधन पिल्स डिपो कण्डम नै प्रयोग गर्ने गरेका छन् ।
अहिले संचालन भएको परिवार नियोजन पुरुष बन्ध्याकरण तिला गाउँपालिकाको कुडारीमै सिमित भयो यहाँ मान्छेहरु कुडारी गएर बन्ध्याकरण लामो बाटोमा फर्कन सक्ने अवस्थामा छैन उनले भने अहिले पनि अवसरबाट बञ्चित भए ।