दशैँकै मुखमा नीजि विमानहरु पुर्वतिर गएपछि कर्णालीबासीलाई सास्ती


जुम्ला । नेपालीहरुको महान चाँड दशैँकै मुखमा कर्णाली प्रदेशका दुर्गम जिल्लाहमा हवाई सेवा नियमित नहुँदा नागरिकले सास्ती पाएका छन् । कर्णालीमा उडान भरिरहेका निजी विमानहरु मोटो रकम कमाउने दाउँमा पुर्वतिर गएपछि कर्णालीका सर्वसाधारणले सास्ती पाएका हुन् ।

दशैँ नजिकीदै गर्दा घर आउन र जानका लागि टिकट समेत काटि सकेका सयौ यात्रु हवाई सेवा ठप्प भएपछि अलपत्र परेका छन् । गएको तीन दिनअघि जुम्ला गुठीचौर गाउँपालिका ३ का ईश्वर बुढाले नेपालञ्जदेखि जुम्लाको लागि तारा एयरको टिकट लिनु भएको थियो ।

जहाजमा सहजै छिटै् घर पुग्ने आशामा रहेका बुढा एक्कासी जहाजले जुम्ला उडान नभर्ने कुरा थाहा पाएपछि निरास हुनु भयो । तारा एयर लगायत जुम्लामा उडान भर्ने सबै जहाजहरु पर्यटक बोक्न पुर्वतिर गएपछि इश्वर बुढा लगायत सयौ यात्रु नेपालगन्ज विमानस्थलमा अलपत्र परेका छन् ।

कर्णाली राजमार्ग स्तरबृद्धि नहुँदा कर्णाली बासीका लागि भरपर्दो हवाई सेवा छ । अलपत्र यात्रु इश्वरले भन्नुभयो,“कर्णालीका लागि न भरपर्दो हवाइसेवा छ, न त सुरक्षित सडक यात्रा छ । दसैं–तिहार जस्ता चाडमा पनि सहजै घर जाने अबस्था छैन् । एयरलाइन्सहरुको मनपरीले कर्णालीबासीले कहिले सम्म सास्ती पाउने ?”

जुम्ला,हुम्ला,मुगु र डोल्पामा केही समययता जहाजले उडान भर्न छोडेका छन् । दशैँकै मुखमा नाफा कमाउन जहाज पुर्वतिर गएपछि कर्णालीबासीले सास्ती खेप्नु परेको छ । कर्णालीमा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन् । तर प्रत्यक वर्ष दशैँ तिहारकै बेला सबै जहाज पर्यटक बोक्न पुर्वतिर जाँदा यात्रुहरुले कष्टपाउने गरेका छन् ।

दशै तिहारमा सडक तथा हवाई यातायात सहज र सबै नागरिकका लागि पहुँचयोग्य हुनुपर्ने कर्णालीबासीको माग भएपनि एयरलाईन्सहरु नाफामुखी भएको नागरिक अगुवा राज बहादुर महत बताउँनुहुन्छ ।

नेपाल एयरलाइन्सले पनि नियमित तालिका अनुसार उडान नगर्दा नागरिकले सास्ती भोग्नु परेको स्थानीयको गुनासो छ । सुर्खेत जुम्ला सडकको २३२ किमी सडक अझै भरपर्दो नभएकोले महंगो भाडा तिरेर पनि नागरिक हवाई यात्रा गर्न बाध्य थिए ।

तर विगत तीन हप्तादेखि जुम्लामा नियमित हवाई सेवा ठप्प हुँदा कर्णालीबासी अलपत्र परेका छन् । वर्षेनि दशै तिहारका बेला जहाजहरुले कर्णालीलाई बेवास्ता गर्दै पुर्वतिर नाफा कमाउन जाने भएकोले सरकारी स्तरबाटै ठोस निर्णय हुनु पर्नेमा नागरिक अगुवा महतको जोड छ ।

जुम्ला विमानस्थका प्रमुख सन्तोष अधिकारीले जुम्लामा समिट एयर र नेपाल एयरलाईन्सले नियमित उडान गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“जूम्लामा त्यति यात्रुको चाप देखिन्न । नेपाल एयरलाईन्सले हप्तामा आइतबार र मंगलबार फलाईट गरिरहेको छ । भने, समिट एयर दिनमा एक उडान भर्दैै आएको छ । नेपालगन्जबाट आउने यात्रुको चाप भएपनि जुम्लामा छैन् ।”

तर नियमित हुन हुने समिट र नेपाल एयरलाइन्समा पनि पावर र चिनजानका आधारमा टिकट लिने गरेकोले सर्वसाधारणले दुख पाएको गुनासो छ ।

हवाई सेवा नियमित गर्न समन्वयको ध्यानकर्षण
जुम्ला लगायत कर्णाली प्रदेशका दुर्गम जिल्लामा हवाई सेवा नियमित गर्न जिल्ला समन्वय समिति जुम्लाले ध्यानकर्षण गराएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यलेले कर्णालीमा दशकै मुखमा हवाई सेवा ठप्प भएको प्रति संस्कृति पर्यटन तथा यातायात मन्त्रीलाई कर्णालीमा नियमित उडान गर्न ध्यानर्कषण गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“कम्पनीहरूले सबै जहाज पूर्व पठाएर कर्णालीका यात्रु बिचल्लीमा पार्नु सृवा नभई दुख दिने नियत हो । कर्णालीका नागरिकको समस्या प्रति नजरअन्दाज सैय हुदैन् । तत्काल हवाई सेवा सुरु गर्न ध्यानर्कषण गरेका छौ । सुनुवाई भए थप कदम चाल्छौ ।”

साथै निजी हवाइ सेवा प्रदायक कम्पनीहरूलाई प्रत्येक दिन कम्तीमा एउटा फ्लाइट र नेपाल एयरलाइन्सले समेत नियमित सेड्यूल फ्लाइट राख्न आवश्यक निर्देशनका लागि पत्र पठाइएको जिससका उपप्रमुख जनक थकालीले बताउनुभयो ।

भौगोलिक रुपमा विकट र सडक यातायात सहज पहुँच नभएको कर्णालीमा हवाई सेवामा मनपरी हुनुले कर्णाली अझै राज्यको नजरबाट अपहेलित रहेको ठम्याई छ । कर्णालीका हिमाली जिल्लाहरूको एक मात्र विकल्प हवाइ यातायात सेवालाई नियमित र सहज गर्न कर्णालीबासीले जोडदार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस