साँझ–बिहानको छाक ः आरन पेसाकै भर


जुम्ला ः ‘खेतीपाती गरौँ, उमेर ढल्किसक्यो । व्यापार–व्यवसाय गरौँ भने लगानी छैन । बिहान–बेलुका छाक टार्नै धौ–धौ छ,’ उमेरले ६० नाघिसकेका पातारासी गाउँपालिका– ५ तलिल्होर्पका कैलो नेपालीले भने । उनी परम्परागत आरन पेसाबाटै जीवन निर्वाह गर्छन् । फलामलाई कुट्नु र त्यसलाई भाँडाकुडा तथा विभिन्न हतियारको स्वरूप दिनु उनको दैनिकी हो ।

चार छोरा छुट्टिएर बसेका कारण बुढेसकालमा पनि पेट पाल्नकै लागि परम्परागत पेसा अँगाल्नुपर्ने बाध्यता रहेको उनले सुनाए । ‘चार छोरा छुट्टिएर बसेका छन् । आफू खनजोत गर्न सक्दिनँ । त्यसैले बाबुबाजेले अँगाल्दै आएको यही पेसामा छु,’ रातोपिरो भएर फलाम पिटेपछि निधारभरि पसिना चुहाउँदै उनले भने, ‘बुढेसकाल लागेपछि आफ्नै छोराछोरीले पनि हेला गर्दा रहेछन् ।’

कोदालो, हँसिया, कुटोलगायत कृषि सामग्री तथा विभिन्न भाँडाकुँडा बनाउने तथा मर्मत गर्ने काम गर्दै आएका नेपाली यस्ता सामग्रीबापत कसैसँग नगद लिने गर्छन् भने कसैसँग अन्नपात लिन्छन् । ‘वर्षमा कति आम्दानी हुन्छ भनेर लेखाजोखा गर्ने त गरिएको छैन,’ उनले भने, ‘आरन पेसाबाट नुन, तेल अनि लुगाफाटो गर्न, भोको पेट पाल्न दुई बुढाबुढीलाई सहज भएको छ ।’

लोप हुँदै आरन
यो पेसाका लागि विशेषगरी आगो फुक्न पंखा आवश्यक पर्दछ । तर, यस्ता सामग्री बिग्रिएको खण्डमा खरिदका लागि रकम अभाव हुने गरेको कैलो नेपाली बताउँछन् । उनले गाउँपालिकाबाट केही सहयोग पाएको खण्डमा यस पेसालाई थप व्यवस्थित ढंगले अघि बढाउने सोच रहेको बताए । दलित समुदायका ज्येष्ठ नागरिकले यस पेसालाई निरन्तरता दिइरहे पनि युवापुस्तामा आरनप्रति आकर्षण छैन । युवाहरू वैदेशिक रोजगारी तथा अन्य काममा आकर्षित हुने गरेकाले यस्तो पेसा अँगाल्न रुचि देखाउँदैनन् । आरनसम्बन्धी सिप सिकेका युवा कमै भेटिन्छन् ।

खेतीयोग्य जमिन खनजोत गर्न कुटो–कोदालो अत्यावश्यक हुने भए पनि युवापुस्ताको आकर्षण कम हुँदै जाँदा कृषि औजारमा समेत आत्मनिर्भर हुन समस्या पर्ने देखिएको छ । गाउँपालिकाले बजेट विनियोजन गरेर आधुनिक ढंगले तालिम व्यवस्थापन गर्न सके युवापुस्तालाई पनि यस पेसामा आकर्षित गर्न सकिने जानकारहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया