‘महाकवि देवकोटा गरिब थिए भन्ने हौवा मात्र हो’

sharethis sharing button

काठमाडौं , कतिपय साहित्यकारहरूको जीवन गरिबीमा नै वितेको भनिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा पनि धेरैले गरिब थिए भन्छन् तर उनको आर्थिक अवस्था त्यस्तो थिएन । त्यतिबेला देवकोटाका बुवा राजदरबारभित्रका पण्डित थिए । देवकोटा आफैँ पनि ट्युसन पढाउँथे,आर्थिक अवस्था एकदमै नाजुक थियो भनिन्छ तर त्यो हौवा मात्र हो ।

जति हौवा चलेको छ,त्यो रूपको गरीब देवकोटा होइनन् । खासमा उनले आफ्नो आयस्रोतलाई व्यवस्थापन गर्न नसकेका हुन् । देवकोटा उदार स्वभावका थिए । तलब सलब लिएर आयो,ट्युसन पढायो,विद्यार्थीसँग पैसा लियो अनि कुनै गरीब मान्छे देखे अथवा माग्न बसेको देखे,कोही जाडोले कामिरहेको देखे भने आफूसँग भएको पैसा दिइहाल्थे। तलब लिएर घर त आउँथे,घरमा पुग्दा बाँड्दा बाँड्दै सिध्याउने गर्थे ।

मैले सङ्गत नगरे पनि देवकोटा मेरा पिताजीका साथी हुन् । उनको र हाम्रो घरमा आउने जाने भइ नै रहन्थ्यो । २०१६ सालमा देवकोटाको देहान्त हुँदा म (१९९८ सालको) १८÷१९ वर्षको थिएँ । म आफैँ पनि उनको घरमा जाने आउने गर्थें । अहिले त्यो घर भत्काएर सङ्ग्रहालय बनाइएको छ ।

दार्जिलिङबाट हाम्रो घरमा मेरो बुवालाई चिया पठाइदिन्थे । दार्जिलिङमा राणाहरूको चिया बगान थियो । त्यहाँबाट नेपालमा चिया बेचिदिनुपर्यो भनेर पठाउँथे । बुवाले देवकोटाका भानिज जगन्नाथ लगायतलाई चिया बेच्ने काममा लगाइदिनुभएको थियो । उनीहरूले पनि बेचिदिन्थे ।देवकोटा साइँलो छोरो भएकाले बुवाले ‘ल यो पोको साइँला बाजेकहाँ पु¥याइदे’ भन्नुहुन्थ्यो । देवकोटालाई मेरा बाले पनि साइँला बाजे भन्नुहुन्थ्यो । देवकोटाले मेरो बुवालाई पण्डितजी भन्थे । म त्यो पोको लिएर जान्थेँ । अनि उनले बजैलाई बोलाएर ‘लु पण्डितजीले पठाइदिनुभएछ,यो चिया लगेर राख’ भन्नुहुन्थ्यो ।

देवकोटाको घरमा लामो खुला खालको कोठा थियो । त्यहाँ सुकुल,सतरन्जा ओछ्याइएको हुन्थ्यो । केटाकेटीहरूले त्यो सुकुलमा चिउराहरू छरेका हुन्थे । ती चिउरा टिपेर कुटु कुटु खाइरहेका हुन्थे । म कोठाभित्र पसेपछि ‘बाबु लौ आयौ,ए बजै लाऊ अब यो राख’ भनेर उनलाई दिन्थे,अनि चिया लानुहुन्थ्यो । ‘पण्डितजीले हामीलाई चिया खाने बानी नै बसालिदिनुभयो’ भन्थे ।

त्यसबाट के अनुमान भयो भने देवकोटालाई चिया खाने बानी चाहिँ हाम्रै घरबाट परेको रहेछ कि भन्ने मलाई लाग्यो । उनको घरमा जाँदा त्यस्तो देख्थेँ । त्यो बेलामा उनी साइकल चढेर हिँड्थे । उनको साइकल पनि ब्रिटिस रेले साइकल थियो,ब्रिटेनमा नै बनेको । त्यो बेला इन्डियन साइकल पनि हुन्थे । तर उनी ब्रिटिस रेले साइकल चढ्थे । त्यो बेलै चार पाँच सय नै पथ्र्यो होला । त्यो साइकल आफैँ किनेका हुनुपर्छ ।

सौखिन खालका व्यक्ति हुन् उनी । चुरोट एकदम खाइरहनुपर्ने,कोही उनलाई भेट्न जाँदा पनि चुरोटका बट्टाहरू नै लिएर उपहार दिन जान्थे । उनी ट्युसन पनि पढाउने,राणाहरूका दरबारमा पढाउने । ट्युसन पढ्ने विद्यार्थीहरूले पनि गुरुलाई खुसी पार्न चुरोटै लगिदिने गर्थे ।

मैले आफैँ देखेको चाहिँ होइन । त्यही बेलामा चर्चा सुनेको । त्यतिबेला ज्यापुहरू खर्पनमा काउली बोकेर घर घरमा बेच्दै हिँड्थे । उनी ट्युसन पढाएर वा नेपाली भाषा प्रकाशिनी समितिबाट फर्किंदाखेरि एक खर्पन काउली नै त्यो किसानलाई बोकाएर घरमा ल्याएछन् । घरमा पुगेपछि बजैले एउटा,दुईटा ल्याए भइहाल्थ्यो नि,यत्रो किन लिएर आउनुभएको भनेर गाली गरिछन् ।

अनि यो के गर्ने हो,मलाई थाहा छ भन्नुभयो रे । पछि बजैले तरकारी खानलाई एक दुईवटा लगिन् । अरू मजाले गाईलाई खुवाए रे ।

किन यसो गर्नुभएको भन्दा ‘तिमीहरू दूध चाहिँ खाने,यसलाई नखुवाउने ? भने अरे । गाई भएपछि घरमा गोठालो पनि चाहियो । गरिबले खान लगाउन दिएर गोठालो राख्न सक्छ ?गोठालो पनि उहाँकहाँ थियो । अनि भात पकाउने भान्से बाहुनी बजैहरू पनि थिए देवकोटाको घरमा । बजै पनि एउटी होइन । एउटा बाहुन,एउटी बजै । दुई जना किन राखिएको भने छुन नहुने हुँदा अर्कोले गर्नुपर्ने ।

बाजेबजै पनि दुई दुई जना,गोठालो पनि राखिएको छ । भाँडा माझ्ने मान्छे राखिएको छ । यस्ता नोकरचाकर पनि छन् । त्यसरी काउली ल्याएर खुवाउँछन् । फेरि देवकोटालाई मासु किनेर खाइरहनुपर्ने । यी सब गर्ने मान्छे अनि कसरी गरिब हुन्छ ?त्यो हौवा मात्र हो ।

देवकोटा गरीब थिए भन्ने अवस्था चाहिँ बेलामा कसैको उधारो पैसा समयमा तिर्न नसकेर हुन पनि सक्छ । एक पटक देवकोटाका साथी केदारमान व्यथित घरमा आए रे । देवकोटा चाहिँ उत्तानो परेर ओढ्ने ओढेर,मुख पनि छोपेर सुतेका रहेछन् । अनि व्यथितले ‘ए कविजी किन सुतिराखेका ? भने रे । हैन अहिले म उठ्न सक्ने अवस्थामा छैन भने रे ।

उता बजैले भान्सा तयार भयो भनेर बोलाइरहेकी थिइन् रे । व्यथितले धेरै कर गरेपछि मुख चाहिँ खोलेर हेरे तर उठेनन् रे ।

उनको लगौँटी धोएको थियो कि के भएर उठेर सुरुवाल लगाउने अवस्था बनेनछ । भान्से बाहुनी बजैका अगाडि त धोतीसोती फेर्न जानुपर्यो,लाजै भयो । के कारणले उनी नाङ्गै सुतेका रहेछन् । उठेर धोती फेर्न नसक्ने अवस्था भएको रहेछ । अनि व्यथितले नाङ्गै सुतेको देखेपछि लुगासुगा पनि रहेनछ कि क्या हो,फेर्ने स्थिति पनि रहेनछ कि क्या हो । साह्रै गरिब पो भएछन् कि क्या हो भनेछन् । व्यथितले भनेपछि अरूले भने होलान् ।

अरूले पनि घरको लथालिङ्ग अवस्था देखे,सुकुल ओछ्याएको छ,सतरन्जी छ,के के छ । त्यो सब देखेर अनि गरिब,पागल भन्ने पनि हल्ला चलाइदिए । त्यो स्थितिले देवकोटाको अवमूल्यन भएको हो । वास्तवमा देवकोटा गरीब होइनन् । उनले आफ्नो खर्चको व्यवस्थापन राम्ररी गर्न नसकेका मात्र हुन् ।

उनकी श्रीमती मन देवकोटा धार्मिक स्वभावकी थिइन् । पशुपतिमा कविप्रसाद गौतम भन्ने एक जना थिए । उनको त्यहाँ एउटा कवि हरेराम पार्टी भन्ने एउटा सम्प्रदाय नै थियो । उनी कवि हरेरामप्रसादको भक्त नै थिइन् । ती कविप्रसादलाई गुरु मान्ने,त्यहाँ बेलाबेलामा जाने गर्थिन् ।

गुरुकहाँ जाँदा टन्न फलफूल लिएर,खर्पनमा मान्छेलाई बोकाएर लिएर जान्थिन् । त्यसमा पनि पैसा खर्च हुने गथ्र्यो । कतिपय समयमा दहीको कतारोसहित लिएर जाने । महाकविले थाहा नपाउने गरी कतारोमा चाँदीका डबली हालेका हुन्थे रे भित्र ।

यसरी बजैले पनि कविप्रसाद गुरुकहाँ लगिदिने,कति देवकोटाले उधारो तिर्दै सिद्धिने हुन्थ्यो । देवकोटा सौखिन भएकाले मासु पनि खानुपर्ने,बडो मजा पनि गर्नुपर्ने जाता कारणले आर्थिक व्यवस्थापनको सन्तुलन नभएको हो । वास्तवमा देवकोटा गरीब होइनन् । देवकोटा बाहिर हिँड्दा चट्ट राम्रा लुगा लगाएर हिँड्थे,कहिले टोपी लगाउँथे,कहिले जुल्फी फर्काउँथे ।

प्रतिक्रिया दिनुहोस