पालिका स्तरीय फुटबल प्रतियोगितामा रोयल यूथ क्लव प्रथम

जुम्ला ः नेपालीहरुको महान चाँडपर्व तिहारको अवसरमा तातोपानी गाउँपालिका स्तरीय पुरुष खुला फुटबल प्रतियोगितामा रोयल यूथ क्लव श्रीनगर प्रथम भएको छ । तातोपानी गाउँपालिका–५ वडापालिकाको आयोजनामा भएको फुलबल प्रतियोगितामा सहभागी २२ वटा प्रतियोगी क्लव मध्ये रोयल यूथ क्लव श्रीनगर प्रथम भएको हो ।
यस्तै फुटबल प्रतियोगितामा लाम्रा यूथ क्लवले दोस्रो स्थान हासिल गरेको छ । प्रथम हुने क्लवलाई नगद २५ हजार, ट्रफी, मेडल र प्रमाण पत्रसहित पुरस्कार प्रदान गरिएको वडाध्यक्ष छिरिङ महतले बताए । उनले भने दोस्रो स्थान हासिल गर्ने क्लवले १६ हजार पाँच सय नगद रुपियाँ र ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
गाउँपालिकाको आर्थिक सहयोग तथा वडापालिकाको आयोजनामा सञ्चालन भएको पुरुष खुला फुटबल प्रतियोगिता गरिएको हो । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले यस्ता प्रतियोगिता पटक पटक गर्ने बताए । उनले भने खेलकुद क्षेत्रमा पालिकालाई अग्रस्थानमा ल्याउने लक्ष्य राखेका छौँ ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका अनुसार जिल्लामा यस्तो प्रतियोगिता हुदा झगडा हुने र शान्ति सुरक्षामा समस्या हुने गरेको थियो । तर पालिका स्तरमा शान्तिपूर्ण तवरले खेलकुद कार्यक्रम सम्पन्न भएको छ । खेल शान्ति पूर्ण तवरले सम्पन्न गर्नु पर्दछ । उनले भने यहाँको सिकाई जिल्ला तथा अन्य पालिकाले सिकाई गर्नु पर्दछ ।

 

प्रतिक्रिया दिनुहोस