हुम्ला अस्पतालमा औषधीको चरम अभाव

हुम्ला । जिल्ला अस्पतालमा बिरामीका लागि आवश्यक पर्ने औषधीको अभाव देखिएको छ । आर्थिक वर्ष सुरु भएको चार महिना बिती सक्दा पनि प्रदेशबाट औषधी नआएको र जिल्लाले खरिद गर्ने औषधी समेत ढुवानी समस्याले आउन नसकेपछि अस्पतालमा औषधीको अभाव भएको हो ।

पाँच दिनदेखि अस्पतालमा उपचार गर्दै आउनु भएकी सिमकोट गाउँपालिका–८ का अनिल शाहीले अस्पतालमा औषधी पाउने छोडेको बताउनुभयो । उहाँले अस्पतालमा भर्ना भएर उपचार गरी रहेको भए पनि औषधी भने बाहिर मेडिकल र फार्मेसीबाट किनेर ल्याउनु पर्ने अवस्था रहेको बताउनुभयो । उहाँले आफु जस्तै सात जना अन्य बिरामी अस्पतालमा भर्ना भएर उपचार गरी रहेको भए पनि सबैले औषधी भने बाहिरबाट महङ्गोमा किन्नु पर्ने परिस्थिति रहेको बताउनुभयो । चिकित्सकसँग बिरामीले चेकजाँच गरेपछि औषधी माग्न जाँदा औषधी नै नभएको जवाफ पाउने गर्नु भएको छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले अस्पतालमा औषधीको चरम अभाव भएको बताउनुभयो । उहाँले अस्पतालको भण्डारमा औषधी नभएपछि बिरामीलाई चेकजाँच गरेर फिर्ता पठाउनु पर्ने अवस्था सृजना भएको बताउनुभयो । उहाँले विशेष गरी शल्यक्रिया गर्दा आवश्यक पर्ने औषधी, सुत्केरी गराउँदाका औषधी, दम, निमोनिया, अन्य दिर्घरोगीका बिरामीका लागि आवश्यक पर्ने लगायतका औषधीहरू अस्पतालसँग नभएको बताउनुभयो । उहाँले अस्पतालमा बिरामीका लागि बढी प्रयोग हुने सिटामोल समेत हाल पन्ध्र हजार मात्र बाँकी रहेकोले केही दिनमा त्यसको समेत अभाव देखिने अवस्था रहेको बताउनुभयो ।

यही अवस्था रहे अस्पतालले बिना औषधी उपचार गर्नु पर्ने देखिएको छ । अस्पतालमा हालसम्म अघिल्लो आर्थिक वर्षको औषधी प्रयोग भई रहेको र नयाँ औषधी खरिद भएको भए पनि ढुवानी भएर आउन सकेको छैन । उहाँले यसका लागि कार्यालयमा औषधी खरिदका लागि आएको दश लाख रुपियाँबाट डेढ महिना अगाडी औषधी खरिद गरेको भए पनि हालसम्म सो औषधी नेपालगन्जबाट ढुवानी हुन नसकेपछि औषधीको अभाव भएको बताउनुभयो ।

नेपालगन्ज विमानस्थलमा सात क्विन्टल अत्यावश्यक देखि सबै खाले औषधी खरिद गरेर राखिएको भए पनि त्यो ढुवानी हुन सकेको छैन । उहाँले विभिन्न एयरलाइन्सहरूसँग हारगुहार गर्दा पनि औषधी जस्तो संवेदनशील बस्तुलाई हालसम्म ढुवानी गर्न नमानेको बताउनुभयो । अर्को कुरा कार्यालयले प्रदेश आपुर्ती केन्द्र सुुर्खेतसँग दुई महिना अगाडी ७५ प्रकारका औषधी माग फारम भरेर पठाएको भए पनि सो औषधी केन्द्रबाट आएको छैन ।

प्रतिक्रिया दिनुहोस