सुर्खेत ः क्षमता भन्दा झण्डै पाँच दोब्बर कैदीबन्दी रहेको सुर्खेत कारागार कैदीबन्दीहरूका लागि यातनागृह बन्दै आएको यहाँका कैदीबन्दीहरूले गुनासो गरेका छन् ।
सुर्खेत कारागारको नियमित अनुगमनको क्रममा ०७४ चैत ७ गते कारागार पुगेका इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापासँग यहाँका कैदीबन्दीहरूले यस्तो गुनासो गरेका हुन् ।
”ङ’ वर्गको २५ जना क्षमता रहेको यस कारगारमा अहिले हामी १ सय ९६ जना कैदीबन्दीहरू एकै स्थानमा कोचिएर बस्न बाध्य भएका छौँ ।’(कैदी शम्भु रोकायले भने(‘हावाहुरी र पानी पर्दा रातभर जाग्राम बस्छौँ । खाना पकाउने भाँडाकुँडा र चुल्होको अभावमा समयमा कहिल्यै खान पाउँदैनौँ । यसलाई यातना गृह नभनेर के भन्ने ?’
‘सुत्ने कोठा नहुँदा त्रिपालमुनीको बास छ । त्यही त्रिपाल पनि हावाहुरी र पानी परेपछि खुल्ला आकाशमुनी दिनरात कटाउनुको विकल्प छैन ।’(टेकबहादुर नेपालीले भने(‘समयमा खाने र उचित बस्ने ठाँउ त छैन नै शौचालयमा २ घण्टासम्म पालो कुर्नुपर्छ । पालोपालो सुत्नुपर्छ । सुधार गृहमा यस्तो यातना भोग्नुपर्छ भने यस कारागारलाई किन सुधार गृह भन्ने ?’
कारागारमा १ सय ७६ जना पुरूष कैदीबन्दीहरूका लागि तीन वटा र १६ जना महिला कैदीबन्दीहरूका लागि एउटा शौचालय रहेको छ ।
विगत केही महिनायता दिनहुँ २र३ जनाको दरले नयाँ कैदीबन्दीहरू थपिने र यहाँ रहेका कैदीबन्दीहरूलाई अन्यत्र स्थानान्तरण गर्न कैदीबन्दीहरूले नै नदिने गर्दा दिनप्रतिदिन चाप बढेसँगै समस्या थपिएको जेलर लालबहादुर खत्रीले जानकारी दिए ।
२०२९ सालमा निर्मित सुर्खेत कारागार जीर्ण भएपछि नौवर्ष अघिदेखि निर्माण कार्य सुरू गरिएको १ सय जना क्षमताको सुधार गृह नबनेसम्म यहाँका कैदीबन्दीहरूले भोग्दै आएको समस्या समाधान हुन नसक्ने जेलर खत्रीले बताए । १ सय जना क्षमताको सुधार गृह निमार्णको जिम्मा लिएको ठेकेदार कम्पनी भागेपछि विगत पाँचवर्षयता निमार्ण कार्य पनि ठप्प हुन पुगेको छ ।
गर्मी बढेसँगै कैदीबन्दीहरू रूघाखोकीको चपेटामा
यसैबिच गर्मी बढेसँगै सुर्खेत कारागारका कैदीबन्दीहरू ज्वरो आउने र रूघाखोकी लाग्ने समस्यामा परेका छन् । गर्मी र मौसम परिवर्तनका कारण बन्दी जीवन बिताइरहेका अधिकांश कैदीबन्दीहरू रूघाखोकी, ज्वरो आउने र सामान्य पखाला लाग्ने जस्ता रोगहरूबाट ग्रसित हुने गरेको जेलर खत्रीले जानकारी दिए ।
क्षेत्रीय अस्पताल सुर्खेतबाट स्वास्थ्यकर्मीको टोली आएर महिनामा दुईपटक चेकजाँच गरेपनि चिसो भुँइमा सुत्नुपर्दा र एकै स्थानमा कोचिएर बस्नुपर्दा स्वासप्रस्वास तथा अन्य समस्याले पीडित हुनु परेको कैदीबन्दीको भनाइ छ ।