उपल्लो डोल्पामा निर्वाचनमा खटिएका १३५ कर्मचारी अलपत्र

जुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको विकट क्षेत्र ‘उपल्लो डोल्पा’मा १३५ जना कर्मचारी अलपत्र परेका छन् । गत मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि उपल्लो डोल्पामा खटिएका १३५ जना कर्मचारी २ दिनदेखि अलपत्र परेका हुन् ।

मतदान कार्य सम्पन्नपछि मंसिर ४ र ५ गने हेलिकप्टरले मतपेटिका तथा मतदान अधिकृतहरुलाई मात्र लिएको तर अन्य कर्मचारीहरुलाई नलिएर बेवास्ता गर्दा दुई दिनदेखि अलपत्र परेको कर्मचारी कमल बोहोराले गुनासो गर्नुभयो ।
माथिल्लो डोल्पा स्थित शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका १३५ कर्मचारी अलपत्र परेकोले उद्दारका लागि पहल गरिदिन बोहोराले टेलिफोन मार्फत गुहार गरेका छन् ।

माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिका १ कोवासस्थित सहिद दशरथचन्द आधारभूत मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहोराले चिसोका कारण पाँच कर्मचारी बिरामी परेको बताएउनुभयो । कर्मचारीलाई चिसोका साथै खान र बस्न पनि समस्या भएको छ । उहाँले भन्नुभयो,“हेलिकप्टर मतपेटीका मात्रै लियो । हामीलाई लिन आएन् । दुईदिन देखि कठ्याग्रिदो चिसोमा बसेका छौ । उद्दार नहुँदा कर्मचारी बिरामी हुने खतरा बढेको छ । टाउको दुख्ने, वाक्वाकी लाग्ने र सास फेर्ने समस्या छ । हिडेर जाने अवस्था पनि छैन ।”

चुनावका लागि खटिएका दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी मंसिर १ गतेदेखि चिसोमै थुनिएर उपल्लो डोल्पामा बस्न बाध्य भएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीका अनुसार डोल्पाका बाँकी मतपेटिका र १० जना कर्मचारीलाई हेलिकोप्टरबाट सारेपश्चात् बाँकी कर्मचारी ल्याउने तयारी रहेको बताउनुभयो । यदपी,हुम्ला प्रदेश ‘ख’ मा १३६ मतपेटिका सार्न हेलिकप्टर गएकोले माथिल्लो डोल्पामा रहेका कर्मचारीहरुको उद्धारमा ढिलाई भएपनि तत्काल उद्दारका लागि पहल भईरहेको पहल भइरहेको उल्लेख गर्नुभयो ।

मंसिर ४ गतेको निर्वाचनका लागि उनीहरुलाई हेलिकोप्टरमै उपल्लो डोल्पाका मतदान केन्द्रमा पुर्याइएको थियो । यता निर्वाचन अधिकृतको कार्यालय डोल्पाले अलपत्र कर्मचारीको उद्दार गर्न निर्वाचन आयोग नेपाललाई आग्रह गरेको जनाएको छ ।

डोल्पाको निर्वाचनमा ५ सय ११ कर्मचारी खटिएका थिए । २२ केन्द्रमा खटिएका मध्ये तल्लो क्षेत्रका केही कर्मचारी आइसकेका छन् । भने १२ मतदान केन्द्रमा खटिएका १३५ कर्मचारी थुनिएका छन् । बुधबार विहान हेलिकोप्टरले तीन मतदान केन्द्रको मतपेटिकासहित १० कर्मचारीको उद्धार गरेको छ ।

चिसो बढ्दै गएको र उक्त क्षेत्रमा हिउँ परेकोले केही कर्मचारी बिरामी पर्न थालेपछि छिटो उद्धार गर्न समेत माग गरिएको छ । कर्मचारीको जीवन सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको भन्दै प्रजिअ अधिकारीले प्रमुख निर्वाचन आयुक्तलाई जतिसक्दो चाँडो उद्धार गर्न आग्रह गरेको बताउनुभयो । उहाँका अनुसार माथिल्लो डोल्पाबाट कर्मचारी आउन नसके मतगणनामा जनशक्तिको अभाव समेत भएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस