जुम्लाका चार उम्मेदवारको जमानत जफत


जुम्ला ः जुम्लाका चार उम्मेदवारको जमानत जफत भएको छ । हालै सम्प्न्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका चार उम्मेदवारको जमानत जफत भएको हो । दुई प्रतिनिधि सभा उम्मेदवार र दुई प्रदेश सभाका उम्मेदवार जमानत जफतमा परेका हुन् ।
जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार जमानत जोगाउनका लागि खसेको कूल सदरमतको कम्तिमा १० प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । उनले भने प्रत्यक्ष प्रतिनिधि सभा तर्फ नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाको जमानत जफत भएको हो । काफ्ले दोस्रो संविधान सभा २०७० सालका समानुपातिक सांसद हुन् । स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकाया माओवादी निकटतम मानिन्छन् । रोकयाले चुनाव चिन्ह प्राप्त पछि आफ्नो उम्मेदवारी निस्क्रिए गरे पनि मत प्राप्त गरेका छन् । प्रतिनिधिसभातर्फ नेमकिपाका काफ्लेले २ दशमलव २३ प्रतिशत मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार डाक्टर रोकायाले १ दशमलव २७ प्रतिशत मत पाप्त गरेका छन् ।
यस्तै प्रदेश सभा (क) प्रत्यक्ष तर्फका नेपाल मजदुर किसान पार्टीका राजेश्वर देवकोटा र प्रदेश सभा (ख) प्रत्यक्ष तर्फका नेपाल मजदुर किसान पार्टीकै उम्मेदवार विर्ष वहादुर रावतको जमानत जफत भएको हो ।
प्रदेशसभा (क) नेमकिपाका देवकोटाले २ दशमलव ९४ प्रतिशत र प्रदेश सभा (ख) तर्फ नेमकिपाकै उम्मेदवार रावतले ६ दशमलव ०३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जुम्लाबाट प्रतिनिधि सभा तर्फ पाँच जना, प्रदेश (क) तर्फ चार जना र प्रदेश (ख) तर्फ चार जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । यस पटकको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्येक उम्मेदवारले १० हजार र प्रदेश सभा निर्वाचनका लागि प्रत्येक उम्मेदवारले पाँच हजार रुपैंया जनामत (धरौटी) राख्नुपर्ने व्यवस्था थियो । जनामत जोगिनेले यसअघि राखेको धरौटी रकम फिर्ता पाउने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए ।
जुम्लाबाट प्रतिनिधि सभामा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही ४५ हजार २८४ खसेको मध्ये उनले २२ हजार ८१९ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । यस्तै, गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले ११ हजार ९५९ मत प्राप्त गरी पराजय भएकी छन् ।
०७० सालको दोस्रो संविधानसभा सदस्य तथा पशुपंक्षी राज्यमन्त्रीसमेत भएकी कुँवरलाई गठबन्धनबाट कांग्रेस, माओवादी र एकिकृत समाजवादी पार्टीको साथ भए पनि विजयी हुन सकिनन् ।
प्रदेश सभा निर्वाचन (क) मा प्रदेश सभापति शाहीविरुद्ध कांग्रेसकै बागी उम्मेदवार देवेन्द्रबहादुर शाहीले खसेको २४ हजार ६५५ मत मध्ये ९ हजार ६५४ ८ हजार ५२४ मत प्राप्त गरी विजयी भएका हुन् । गठबन्धनका साझा उम्मेदवार कांग्रेसका प्रदेश सभापति शाहीले ७ हजार ७५५ मत प्राप्त गरे ।
प्रदेश सभा (ख) मा एमाले पार्टीका उम्मेदवार टेकराज पछाईले खसेको २० हजार ६ सय १६ मत मध्ये ७ हजार ८ सय २७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी पदमबहादुर रोकायले ६ हजार ७ सय १५ मत प्राप्त गरे ।

 

प्रतिक्रिया दिनुहोस