तातोपानीको १२औँ गाउँसभाःबालबिवाह विरुद्ध रणनीति सहित ११ कार्यविधि र निर्देशिका पारित


जुम्ला । यहाँको तातोपानी गाउँपालिकाको १२ औँ गाउँसभा सम्पन्न भएको छ । गत बैशाखमा निर्वाचित नयाँ सरकारले हाल सम्म गरेका प्रगती प्रस्तुत तथा समिक्षा र विभिन्न कार्यविधि,ऐन,निर्देशिका पारित गर्दै गाउँसभा सम्पन्न भएको हो ।  गाउँसभाको उद्घाटन सकिए पश्चात बन्दशत्रबाट ११ वटा विभिन्न कार्यविधि तथा निर्देशिका पारित गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए । उनका अनुसार नागरिकतहबाट उठेका विभिन्न जिज्ञासा,गुनासा र सुझावको सम्बोधन गर्दै नीति बनाइएको छ ।

जस अन्तरर्गत तातोपानी गाउँपालिका बालबिवाह न्युनिकरण सम्बन्धी रणनीति तथा कार्ययोजना २०७९÷८० देखी ०८४÷८४ पारित भएको । तातोपानी जिल्लाका आठ पालिका मध्य बालबिवाह विरुद्धको रणनीति बनाउने पहिलो पालिका बनेको छ ।

१२ औँ गाउँसभाबाट तातोपानी गाउँपालिका शिक्षा ऐन २०७४ पहिलो संशोधन २०७९,तातोपानी गाउँपालिका शिक्षा नियमावली २०७४ पहिलो संशोधन २०७९, तातोपानी गाउँपालिकाको सार्वजानिक सम्पत्ति संरक्षण तथा व्यवस्था निर्देशिका २०७९,तातोपानी गाउँपालिका धारा व्यवस्थापन तथा संचालन कार्यविधि २०७९ सर्वसम्मत पारित भएको तातोपानीका प्रमुख प्रशासकिय अधिकृत तिर्थ कठायतले बताए ।

त्यस्तै,तातोपानी गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छाता सम्बन्धमा व्यवस्थ ागर्न बनेको विद्येयक २०७९,सुरक्षित खानेपानी युक्त समुदाय घोषणा निर्देशिका २०६९,तातोपानी खानेपानी सरसफाई तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली निर्देशिका २०७९, खानेपानी गुणस्तर तथा अनुगमन निर्देशिका २०७९, तातोपानी गाउँपालिका स्थानीय पूर्वाधार मर्मत सम्भार कोष तथा कार्य संचालन कार्यविधि २०७९, र तातोपानी गाउँपालिका स्थानीय पूर्वाधार विकास आयोजना संचालन कार्यविधि २०७९ पारित भएको प्रमुख प्रशासकिय अधिकृत कठायतले जानकारी दिए । उल्लेखीत नीतिले पालिकाको दैनिक कार्यसम्पादन,सहज सेवा प्रवाह,स्रोत परिचालन तथा संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको बताए ।

गाउँसभाका अबसरमा पालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले हाल सम्म भएका प्रगती विवरण उल्लेख गरेका थिए । जस अन्तरर्गत नेपालकै पहिलो पालिकाका रुपमा नीति कार्यक्रम र बजेट पारित गरेका,तातोपानी टाईम्स लागु तथा कार्यान्वयन,पहिलो प्रमुख प्रशासकिय अधिकृतसंग कार्यसम्पादन सम्झौता,पाँच शैया अस्पताल निर्माण प्रक्रिया अघि बढाएको प्रगती उल्लेख गरे ।

डिजिटल हाजिरी जडान,अनलाईन प्रणालीबाट राजश्व संकलन,विगतको भन्दा ४५० घर थपेर ५१२ घरको छाना फेरिदै,पहिलो पटक गिडीदह सम्मेलन सम्पन्न लगायत पूर्वाधार विकासमा निरन्तरता र सेवा प्रवाहलाई छिटो छरितो बनाउन आबश्यक विभिन्न कामहरु गरेको अध्यक्ष चौलागाईले उल्लेख गरे ।

जुम्लामा बढ्दै बालबिवाह न्युनिकरण गर्न प्रथामिकताका साथ तातोपानीले पाँच वर्षे नीतिनै बनाएको र कार्ययोजना तयार गरी बालबिवाह न्युनिकरणमा जुट्ने तातोपानीका उपाध्यक्ष रेवती रावलको भनाई छ । बालबिवाह न्युनिकरणको रणनीति बनाउने तातोपानी जिल्लाकै पहिलो गाउँपालिका बनेको छ । यस नीति चुलिदो बालबिवाह न्युनिकरणमा टेवा पुराउने अपेक्षा गरिएको पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए ।

तातोपानीको १२ आँै गाउँसभा उद्घाटन गर्न प्रतिनिधि सभा सांसद विनिता कठायत पुगेकी थिईन् । उनले स्थानीय सरकार दैलोको सरकार भएपनि आधारभूत विकासमा जोड दिनु पर्ने बताईन् । तातोपानीको विकास समृद्धीका लागि केन्द्रमा आफुले पहल गर्ने समेत बाचा गरिन् । १२ औँ गाउँसभाका अबसरमा दुईजना कर्मचारीलाई सर्बोत्कृष्ट कर्मचारीका रुपमा सम्मान समेत गरिएको छ । जसमा ईन्जिनियर डिल्ली बहादुर बुढा र अधिकृत छैटो ओम बहादुर चन्द रहेका छन् । उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै बुढा र चन्दलाई ढाका टोपी,सम्मान पत्र सहित सांसद विनिता कठायतद्धारा सम्मानीत गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस