
जुम्ला । जुम्ला सहित मुगु र कालिकोट तीन जिल्लाको सडक निर्माणमा काम गर्दै आएको ‘सडक डिभिजन कार्यालय जुम्ला’वर्षौदेखि न्युन कर्मचारीको भरमा चल्न बाध्य छ । प्राविधिक जनशक्ति प्रयाप्त हुनुपर्ने कार्यालयमा वर्षौदेखि ६ जना कर्मचारीकै भरमा तीन जिल्ला हेर्ने सडक डिभिजन जुम्ला मुस्किलले विकास निर्माणका काम गर्दै आएको हो ।
भौगोलिक हिसाबले विकट कर्णालीमा मौसमी प्रतिकुलताले वर्षमा ३ महिना मात्र मुस्किलले विकास निर्माणको काम हुन्छ । त्यसैमाथि प्रयाप्त प्राविधिक जनशक्ति नभई नहुने कार्यालयमा दरबन्दी अनुसारका अधिकतम कर्मचारी नहुँदा दैनिक कार्यसम्पादनमा कठिनाई भएको छ ।
जुम्लाबाटै कालिकोटको दैखोला,मुगुको नाक्चेलाग्ना नाका र जुम्ला–डोल्पा मौरेलेक सम्म पुगेर सिमित कर्मचारीले योजना स्टमेट,मुल्यांकन,ठेक्का पट्टा,अनुगमन निरिक्षणदेखि निर्माण व्यवसायीले आफै गर्नुपर्ने विल भुक्तानी सम्मका काम समेत कर्मचारीले गर्नु परेको छ । एक जना कार्यालय प्रमुख,२ जना ईन्जिनियर र ३ जना सव–ईन्जिनियर गरी ६ जना कर्मचारी तीन जिल्लाका दर्जनौ सडक योजना हेर्नुपर्ने बाध्यतामा छन् ।
कर्मचारी आउन मान्दैन्,विभागले पठाउँदैन्
सडक डिभिजन जुम्लामा ५ जना ईन्जिनियरको दरबन्दी हो । हाल दुईजना कार्यरत रहेकोमा एकजना विरामी छन् । डिभिजन प्रमुख राजीव श्रेष्ठ भन्छन,“एकजना मात्रै ईन्जिनियर काममा खटिएका छन् । ३ जना ईन्जिनियर पद रिक्त । भने, सव–इन्जिनियरको दरबन्दी १२ जनाको भए पनि कार्यरत ३ जना मध्य २ जना मात्रै सव–ईन्जिनियर काममा खटिएका छन् । ९ जना सव–इन्जिनियरको दरबन्दी रिक्त छ ।”
समग्रमा १ जना कार्यालय प्रमुख सहित ३ जना ईन्जिनियर,२ सव–ईन्जिनियर गरी ६ जना कर्मचारी तीन जिल्लाको सडक निर्माण तथा सुधारमा खटिएका छन् । भौगोलिक विकटता,हवाई सेवाको सहज पहुँच नहुनु,प्रयाप्त काम नहुनु लगायतका कारणले कर्णालीमा दक्ष प्राविधिक जनशक्ति आउन मान्दैनन् ।
कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो,“हाल सम्म कर्मचारी आपुर्तिका लागि विभागमा ५ पटक पत्राचार गरी माग गरिएको छ । तर सडक विभागले कर्मचारी पठाउन सकेको छैन् । कर्मचारी अभावले यता लक्ष्य अनुसार बजेट खर्च नहुने समस्या छ । विभागले प्राविधिक जनशक्ति खोज्नुस,हामी पठाइ दिन्छौं भन्छ । कर्मचारी आउनै मान्दैनन् । कार्यालयको दैनिक काम गर्नेकी कर्मचारी खोज्दै जानु ।”
मुगु गमगडी हुँदै नाक्चालाग्ना सडक निर्माणका लागि मुगुमा योजना कार्यालय खोलिएको छ योजना प्रमुख १ जना, इन्जिनियर २ जना, सब–इन्जिनियर ४ जना र १ लेखाअधिकृतको दरबन्दी रहेपनि कार्यरत शुन्य छ । सडक डिभिजनकै जनशक्तिले गमगडी हुँदै नाक्चालाग्ना योजना हेर्नुपर्ने बाध्यता छ । भने,योजना कार्यालय मुगुको प्रमुखको जिम्मेवारी पनि आफुलाई दिएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठ बताउँनुहुन्छ ।
कर्मचारी खोजेर सम्भव छैन् । पटक पटक माग गरेपनि विभागले कर्मचारी पठाउँदैन् । कार्यालयमा निर्माण व्यवसायीहरू भुक्तानी गरिदिन धर्ना दिइरहन्छन् जनशक्ति नहुँदा विकास निर्माणका काम अपेक्षित रुपमा अघि बढ्न नसकेको प्रमुख श्रेष्ठको भनाई छ ।
प्राविधिक जनशक्ति दरबन्दीअनुसारको नहुँदा गमगडी नाक्चालाग्ना सडक पनि प्राथमिकतामा पर्न सकिरहेको छैन । गमगडीदेखि नाक्चालाग्नासम्मको झन्डै ९६ किलोमिटरमध्ये अहिलेसम्म १७ किलोमिटर मात्र सडक खनिएको छ । सडक पहुँच नपुगेका मोटरसाईकल समेत नजाने नाक्चेलाग्ला नाका सम्म हिडेर जानु पर्नु पर्ने अबस्था छ ।
“कर्मचारीलाई खटनपटन देखि,कार्यालयको काम,बजेट माग्ने विभाग धाउनु पर्ने बाध्यता छ । कार्यालयमै बसेर बजेट आउदैन् । मान्छेहरु हाकिम सधै बाहिर जान्छ सोच्छन्,बास्तविकता बुझ्दैनन्”,श्रेष्ठले भन्नुभयो ।
प्रमुख श्रेष्ठले थपे,“भाडाकै घरमा चलेको डिभिजन कार्यालयको भवन निर्माणका लागि वर्षेनि बजेट आएपनि जग्गा नपाउँदा समस्या भएको छ । भने,दक्ष निर्माण व्यवसायी नहुनु,भौगिक विकटता,मौसम प्रतिकुलताले ३ महिनाबढी काम नहुनु,आफ्नै भवन नहुनु,दरबन्दी अनुसारका कर्मचारी नहुनु र जिम्मेवारी बढी तोकिनुले सकी नसकी,जुम्ला,मुगु र कालिकोटमा काम गर्ने पर्ने हाम्रा मुख्य चुनौती हुन ।”
कर्मचारी सिमित,योजना असिमित
सडक डिभिजन जुम्लामा वर्षौदेखि कर्मचारी सिमित र योजनाहरु असिमित छन् । भौगोलिक विकटताले एकै साईटमा जान समेत दुई दिन लाग्छ । जसमा कर्णाली राजमार्ग दैखोला–जुम्ला,महावुलेक,नाग्म–गमगडी, सडक स्तरबृद्धि,सडक चौडा गर्ने,रारा राजमार्ग जाजरकोट,डुसिल्या,टोप्लादेखि जुम्ला एयरपोर्ट,मनाङ–मुस्ताङ जुम्ला–डोल्पा सडक योजना संचालित छन् ।
त्यस्तै,निर्वाचन क्षेत्र रणनीति सडक कार्यक्रम अन्तरर्गत जुम्लामा ३ वटा बहुवर्षिय सडक योजना संचालित छन् । जसमा तलिउम जातिभिड भाडगाउँ नराकोट सडक–जुम्ला,पिपिपाखा,छाप्रे,दारे,छेड्ना,नाग्म सडक–कालिकोट र सल्लेरी पिना रैसेडी मुन्दुक,कोट्ला लिउडी सडक मुगु सडक टेण्डर भएर निर्माणधिन अबस्थामा छन् । साथै अन्य दर्जनबढी साना सडक मर्मत सम्भार स्तरबृद्धिको काम समेत नियमित रुपमा भईरहेका छन् ।
उल्लेखीत दर्जनबढी ठुला तथा साना सडक योजनाहरुको नियमित काम ६ जना कर्मचारीलेनै गर्नुपर्ने बाध्यता रहेको छ । विभागले कर्मचारी नपठाउने र कार्यालयका सिमित कर्मचारीले दर्जनौ योजनाको साईट निरिक्षण,लाईन अनुगमन,विड डकुमेन्ट, तयार गर्ने,टेण्डर गर्ने मुल्यांकन गर्ने,निर्माण व्यवसायीलाई साईट देखाउने,कामको सुपरिवेक्षण गर्ने,विल तयार गर्ने,म्याद थप्ने लगायतका थुप्रै काम गर्नुपर्ने बाध्यता छ ।
यसरी कर्णाली समृद्धीकै भाग्य रेखा कोर्ने कर्णाली राजमार्ग लगायत दर्जनबढी सडक योजनाको काम गर्ने सडक डिभिजन जुम्लामा न्युन जनशक्ति हुँदा दैनिक कार्यसम्पादनमा कठिनाई भएको छ । विभागले कर्मचारी व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।