राष्ट्रपति निर्वाचन समयमै गर्न सरकारसँग कांग्रेसको माग

blog

काठमाडौं, माघ ९ गते । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचन समयमै हुनेगरी आवश्यक कानुनी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

सोमबार बिहान धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले ५ वर्षे कार्यकाल पूरा भएको दिन नयाँ राष्ट्रपति पदबहाली हुने गरी राष्ट्रपति निर्वाचनको तयारी गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

सहमहामन्त्री पाण्डेले भन्नुभयो, ‘‘राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउनका लागि सम्पूर्ण खालको तागत लगाउने, एकतावद्ध तागत लगाउने आजको बैठकको निचोड यति नै हो । संविधान र ऐनको विषयमा केही विरोधाभाष देखिएको छ । मुख्य गरी त संविधानको जे प्रबन्ध छ । संविधानको प्रबन्ध अनुसार राष्ट्रपतिको कार्यकाल ५ वर्ष पुग्दैछ ।’’

संविधान र ऐनमा सो निर्वाचनबारे केही विरोधाभाष देखिएकाले त्यसलाई हटाई समयमै राष्ट्रपतिको निर्वाचन हुने गरी आवश्यक तत्परता देखाउन सरकार र निर्वाचन आयोगलाई सचेत गराइएको पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

‘‘राष्ट्रपतिको कार्यकाल ५ वर्ष पुग्दै गर्दा त्यो दिन अर्को राष्ट्रपति हामीले पदबहाली गर्न मिल्ने गरी संविधान, कानुन र यसका स्पिरिट अनुसार अर्को राष्ट्रपति त्यो ठाउँमा, त्यो स्थानमा पु¥याउने गरी निर्वाचन गर्नुपर्छ भन्ने कुरा हो । फागुन २८ सम्म अर्को राष्ट्रपति तयार भएर पुरानो राष्ट्रपति विदाई हुने र नयाँ राष्ट्रपतिलाई बहाली गर्ने अवस्था सृजना गर्नुपर्छ । त्यसका लागि नेपाल सरकार र निर्वाचन आयोगले त्यो तत्परता देखाउनु पर्छ ।’’

बैठकमा पार्टी सभापति देउवाले राष्ट्रपति निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन हुने गरी एकतावद्ध हुन पार्टीका नेताहरुलाई सचेत गराउनु भएको थियो । राष्ट्रपतिमा पार्टीको उम्मेदवारलाई जिताउने गरी पार्टीलाई एकतावद्ध बनाएर लैजाने निर्णय पनि बैठकले गरेको सहमहामन्त्री पाण्डेले बताउनु भयो ।

नेपाली कांग्रेसले सत्तारुढ नेकपा (माओवादी केन्द्र)को साथ लिएर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउने रणनीति अख्तियार गरेको छ ।

प्रतिक्रिया दिनुहोस