जुम्ला । जुम्लाका २० प्रतिशत स्याउ किसानमात्रै बिमित रहेको पाइएको छ । झण्डै १२ हजार घरधुरी स्याउ खेतीमा निर्भर रहेको जुम्लामा २० प्रतिशत अर्थात २ हजार ४ सय ६१ जना किसान मात्रै हाल सम्म बिमित रहेको शिखर इन्सोरेन्स कम्पन्नी जुम्लाको तथ्यांक छ ।
सरकारी तथ्यांक अनुसार कुल १९ हजार बढी घरधुरी रहेको जुम्लाको जनसंख्या करिब १ लाख २० हजार रहेको छ । जसमध्य कुल घरधुरीको (९१.८९) प्रतिशत नागरिक कृषि पेशामा आश्रित रहेको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ । १९ हजार घरधुरीमध्य जुम्लाका १२ हजार घरधुरी व्यवसायीक स्याउ खेती गरिरहेका छन् । तर बिमित भने २४ सय ६१ ज्ना किसानमात्रै छन् । ३३ सय ५० हेक्टर जमिनमा १२ हजार घरधुरीका किसानले १४ हजार ५ सय बगैंचामा स्याउ खेती गरिरहेका छन् ।
विगतका वर्षमा असिना पानी,कालो तुसारो जस्ता प्रकोपले स्याउ किसानल करोडौकोे क्षति व्यहोर्दै आएका छन् । एकातिर पुजीँ अभाव र अर्को तिर चेतना शिक्षाको कमीले जुम्लाका किसान अझै अपेक्षित रुपमा कृषि बिमाको पहुँचमा पुग्न सकेका छैनन् ।
दुर्गमका किसान बिमामा लगानी गरेर लाभ लिन न ज्ञानले सक्षम छन, न उनीहरूसँग प्रयाप्त पुजीँ छ । जसका कारण वर्षभरी श्रम गरेर प्राकृतिक प्रकोपका कारण पटक पटक घाटा खेप्न बाध्य छन् । कृषि, पशु, स्वास्थ्य, जीवन तथा निर्जिवन लगायतका बिमाहरू स्थानीय नागरिकलाई अति आवश्यक छ । भिरपाखो नभनी स्वास्थ्यको ख्याल नगरी कृषि कर्ममा लाग्ने, कडा मेहनत गरी तरकारी फलाउने व्यक्तिलाई बिमाको आवश्यक छ ।
कृषिमा आत्मनिर्भर मुलुकमा किसान र किसानको उत्पादननै सुरक्षित गर्ने नीति र किसान संग प्रयाप्त पुजीँ नहुनु दुखद पक्ष भएकोले जुम्लाका स्याउ किसानको सरकारी तबरबाटै अनिवार्य बिमाको नीति निर्माण हुन जरुरी छ ।
८० प्रतिशत किसान बिमाबाट बन्चित
जुम्लामा शिखर ईन्सोरेन्स कम्पन्नीले वर्षौदेखि कृषि विकास कार्यालय संग समन्वय गरी स्याउ,मार्सीधान,पशु लगायतको बिमा गर्दै आएको छ । तर करिब आधा दशकबढी समय बितिसक्दा पनि जुम्लाका किसान अपेक्षित रुपमा बिमाको पहुँचमा पुग्न सकेका छैनन् ।
बिमा कम्पन्नीको रेर्कड अनुसार जुम्लाका २ हजार ४ सय ६१ किसान मात्रै अहिले सम्म बिमाको पहुँचमा पुगेका छन् । खेतीमा निर्भर रहेका जुम्लाका १२ हजार घरधुरी किसान मध्य २० प्रतिशत अर्थात २४ सय ६१ ज्ना किसानमात्रै बिमाको पहुँचमा पुगेका छन् । भने बाँकी ८० प्रतिशत अर्थात ९ हजार ६ सयबढी किसान अझै बिमाबाट बन्चित छन् । जुम्ली किसानको मुख्य आम्दानीको स्रोत मानिने स्याउको बिमा नगर्दा किसानले घाटा खादै आएका छन् ।
साथै जुम्ला भेडाबाख्रा,भैसी पालनका हिसाबले पनि प्रचुर सम्भावना भएको जिल्ला हो । यहाँका आठै पालिकामा भेडापालन हुन्छ । भेडापालन अधिकांशको पुर्खेउली पेशा समेत हो । चटयाङ परी सयौ भेडा मर्दा बिमा नगरेकै कारण गत वर्ष सिंजा,पातारासी र तातोपानीका भेडाकिसानले सुक्को राहत पाएनन् । तर बिमा कम्पन्नीको विवरण अनुसार हाल सम्म जुम्लाका ७ सय १ जनाले मात्रै पशु बिमा गरेका छन् । भने,६ जना धान बिमा गरेका छन् ।
जुम्लाको प्रमुख नगदेबाली,मुख्य आयस्रोत स्याउ खेतीमा जोखिम बढ्दै गएपनि पुँजी अभावले किसानले बिमाको पहुँचमा आउन नसकेकोे शिखर ईन्सोरेन्स जुम्ला शाखा प्रबन्धक दिप्दर्शन फडेराले बताउनुभयो । उहाँले भन्नुभयो,“विगतको तुलनामा बिमा शिक्षा पुगेको छ । तर किसानसंग आर्थिक नहुँदा बिमा गर्न सकेका छैनन् । जसका कारण प्रकोपले क्षति गर्दा घाटा खादै आएका छन् । स्थानीय सरकारले किसानको बिमा जोड दिन आबश्यक छ ।”
त्यस्तै गत वर्षको बेमौसमी वर्षाले जुम्लाको १८ हेक्टर मार्सीफाँटको धानबालीमा क्षति गर्दा १२ सय मेट्रिकटन धान उत्पादन घट्यो । तर किसानले सुक्को राहत पाएनन् । त्यसैले कृषि बिमा किसानको पहुँच बृद्धि गर्न स्थानीय सरकारको नीति आबश्यक रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारी बताउँनुहुन्छ ।
कृषिमा आत्मनिर्भर कर्णाली र कृषि प्रदान मुलुकमा किसानको र उत्पादनको सुरक्षा हुने,प्रकोपबाट हुने क्षतिको राहत सरकारनै दिने कृषिमैत्री नीति बन्न जरुरी रहेको उहाँको भनाई छ ।