जुम्ला । कालिकोटमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा मेला हेर्न जाने क्रममा शुक्रबार अटो दुर्घटना हुँदा जुम्ला हिमा गाउँपालिका–४ का बिर्खबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको हो । मृत्तक शाहीका श्रीमती र बच्चा भने घाईते भएका छन् । घाईतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।
घाइते हुनेमा शाहीकी पत्नी र छोरी रहेका छन् । खाडाचक्र नगरपालिका मान्म बजारदेखि तिलागुफा नगरपालिका गाल्जेमा सत्यदेवीको मेला हेर्न जाँदा खल्लागाड नजिकै भे १ ह ५९२२ नम्बरको अटो दुर्घटना भएको थियो । अटोमा चालकसहित ४ जना सवार थिए । चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृत्तक शाही नेपाल पत्रकार महासंघ शाखा जुम्लाको साधारण सदस्य पनि हुनुहुन्थ्यो । विगत लामो समयदेखि पत्रकार महासंघको सदस्यको रुपमा रहेका शाहीको निदन प्रति पत्रकार महासंघले विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेको छ । शाहीको मृत्युले पत्रकार महासंघलाई ठुलो क्षति पुगेको पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो ।
हिमा आवासिय विद्यालयका शिक्षक समेत रहेका शाहीको मृत्यु हिमा गाउँपालिकाले पनि औपचारिक शोक विज्ञप्ती जारी गर्दै दुख व्यक्त गरेको छ ।