अपहरण गरेर १३ वर्षीया बालिकाको सामूहिक बलात्कार


जनकपुरधाम । धनुषामा एक १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरिएको छ। जिल्लाको सहिदनगर नगरपालिका ८ बिसरभोरा निवासी बालिकालाई गएराति करिब १० बजे घरबाटै जबरजस्ती समातेर खेतमा लगि बलात्कार गरेको खुलेको छ।

पीडित बालिकाका आमाबुवा घरमा नभएको थाहा पाएर स्थानीय ३२ वर्षीय भुट्टाई उपनाम गरेका मनोज नरसरिया र ३० वर्षीय दिपेश बिराजीले घरबाटै मुख बाँधेर गाउँबाट पर खेतमा लगेर बलात्कार गरेको खुलेको छ।

बालिकाका आमाबुवा सिरहास्थित मटलेश्वर गाउँमा आफ्ना नातेदार कहाँ निम्तो मान्न गएका थिए। बालिकालाई घरभन्दा एक किलोमिटर पर खेतमा लगाएर बलात्कार गरिएको इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक पवन झाले जानकारी दिए। पीडित बालिकालाई बलात्कारपछि युवाहरुले खेतमै छाडेर भागेका थिए। बालिका रुदैं कराउँदै घर फर्केपछि छिमेकीले घटनाबारे जानकारी पाएको र आफूलाई बिहीबार बिहान १० बजे मात्रै जानकारी गराइएको झाले बताए।

‘घटनाको विषयमा जानकारी भए लगत्तै अभियुक्तको खोजतलाश तिव्र गरेका छौं, प्रहरी निरीक्षक झाले भने, तर, ढिलो जानकारी आएको हुनाले उनीहरु गाउँबाट फरार भइसकेका रहेछन्।’

पीडित बालिकालाई स्वास्थ्य जांचका लागि जनकपुर अंचल अस्पताल ल्याइएको छ।

तपाईको प्रतिक्रिया