राकममा ट्रमासेन्टर सहितको शिक्षण अस्पताल बन्ने,अक्सिजन प्लान्टको उद्घाटन


जुम्ला । दैलेख जिल्लाको आठबीस नगरपालिकाको केन्द्र राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्ने भएको छ । चार बर्ष अघि नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो ।

सम्झौतामा राकमकर्णालीमा एक सय शैयाको शिक्षण अस्पताल निर्माण गरि नागरिकलाई गुणस्तरिय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख छ । कर्णाली प्रदेश सरकार र संघीय सरकारको समन्वयमा शिक्षण अस्पताल निर्माण अघि बढ्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले बताउनुभयो । उहाँका अनुसार राकम अस्पतालको व्यवस्थापकीय जिम्मा प्रतिष्ठानले लिने छ ।

शिक्षण अस्पताल निर्माणका लागि आठबीस नगरपालिका–३ मा ४० रोपनी २ हजार १ सय ३० वर्गमिटर) क्षेत्रफल जग्गा व्यवस्थापन भईसकेको नगरप्रमुख तर्कबहादुर बडुवालले बताए । अस्पताल निर्माणको लागि डिपिआर बनिसकेको छ ।

नगरपालिकाले राकम कर्णालीस्थित अस्पतालबाट नागरिकलाई स्वास्थ्य सेवा दिइरहेको छ । विशेषज्ञ सेवा प्रदान गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशषज्ञ चिकित्सक खटाएको छ । अस्पतालमा एक्सरे, भिडियो एक्सरे, इसिजी ल्यावसहित अस्पताल फार्मेसी चलाइरहेको छ । विशेषज्ञ सेवा सञ्चालनका लागि अप्रेसन कक्ष र आवश्यक भौतिक सामग्री व्यवस्थापन भएको नगरप्रमुख बडुवालले बताउनुभयो ।

अक्सिजन प्लान्टको उद्घाटन
राकम कर्णाली आधारभुत अस्पतालको अक्सिजन प्लान्ट उद्घाटन गरिएको छ । सोमबार कणौली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिनोदकुमार शाह, प्रतिनिधिसभा सदस्य सोविता गौतमले अक्सिजन प्लान्टको उद्घाटन गर्नुभयो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)बाट प्राप्त अक्सिजन प्लान्ट प्रतिष्ठानले आठबीस नगरपालिकाको आधारभुत अस्पताललाई उपलब्ध गराएको हो । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिनोद कुमार शाहले कर्णालीको स्वास्थ्य सुधारका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताए । राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि प्रदेश सरकारले आबश्यक काम गर्ने उहाँको भनाई छ ।

पहिलो पटक कर्णालीमा पुगेकी प्रतिनिधिसभा सदस्य सोविता गौतमले अब दोस्रो पटक राकमकर्णालीमा आउँदा अस्पताल निर्माण भईसक्ने बताउनुभयो । उहाँले कर्णालीको सबैखाले समस्या संघीय संसदमा दृश्य वा अदृश्य रुपमा निरन्तर उठाउने बाचा गर्नुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ड.मंगल रावलले राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल आगामी दुईवर्षभित्रै ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गरेर सञ्चालन हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस