सिंजामा स्वास्थ्य शिविर, ग्रामिण महिला पाठेघर रोगले ग्रसित 

जुम्ला ।  शुक्रबार सिंजा गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा यहाँका ३ सय २७ जना ग्रामिण महिला लाभान्वित भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासंग समन्वय गरि शिविर संचालन गरिएको हो । पालिका स्तरीय स्वास्थ्य शिविरमा पालिकाभरका ३ सय २७ महिला सहभागी भएका हुन् ।
जसमध्य नराकोट स्वास्थ्य चौकीमा १ सय १ जना, धाँपा स्वास्थ्य चौकीमा ७६ र सनिगाउँ स्वास्थ्य चौकीमा १ सय ५० जना गरी जम्मा ३ सय २७ जना एकै दिन शिविरबाट लाभान्वित भएको जनस्वास्थ्य निरिक्षक प्रकाश धितालले बताए ।
उनका अनुसार ४ जना महिलालाई पाठेघरको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ । साथै ५७ जना महिलालाई पाठेघर खस्न नदिन रिङ प्रेसर राखिएको छ । भने ३ सय २७ जना महिलालाई पाठेघर पाठेघर खस्ने,सेतो पानी बग्ने, तल्लो पेट दुख्ने र ढाड दुख्ने लगायतका समस्याकोृ जाँच गरिएको जनस्वास्थ्य निरिक्षक धितालले जानकारी दिए ।
चेतना अभिबृद्धि,कार्यबोझ न्युनिकरण तथा स्वास्थ्य सुरक्षामा स्वयम महिलाले ख्याल गर्ने र परिवारका सदस्यले साथ दिएको खण्डमा पाठेघर खस्ने समस्याबाट मुक्त भईने कर्णाली प्रतिष्ठानका स्त्रीरोग विषशज्ञ डा.सुबि बस्नेतले बताईन् । स्वास्थ्य शिविरबाट लाभान्वित सबै ग्रामिण महिला गाउँमै उपचार गराउन पाउँदा खुसी भएका छन् । गाउँमै पाठेघरको जाँच गराउन पाउँदा सिंजाका ३ सय २७ जना महिलानै खुसी भएका छन् । गाउँपालिकाले आगामी दिनमा पनि यस्ता शिखिरको आयोजना गर्नुपर्ने उहाँहरुको माग छ ।
धेरै बच्चा जन्माएका तथा कुनै नजन्माएका महिलामा पनि पछिल्लो समय पाठेघर सम्बन्धी समस्या देखा परेको छ । चेतना अभिबृद्धि,कार्यबोझ न्युनिकरण तथा स्वास्थ्य सुरक्षामा स्वयम महिलाले ख्याल गर्ने र परिवारका सदस्यले साथ दिएको खण्डमा पाठेघर खस्ने समस्या छ ।
सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धिताल भन्छन,“आफ्ना समस्या खुलेर भन्न नसकेकै कारण ग्रामिण महिला पाठेघर क्यान्सरको जोखिममा छन् । त्यसैले पालिकामै शिविरको आयोजनागरी महिलाको स्वास्थ्य जाँच गर्यौ । पाठेघर क्यान्सरको जोखिमबाट महिलालाई मुक्त गराउन कार्यबोझ घटाउने कार्यक्रममा जोड दिनुपर्ने देखियो ।”
अधिकांश ३० वर्ष माथिका ग्रामिण महिला पाठेघर खस्ने,सेतो पानी बग्ने,ढाड दुख्ने समस्याबाट पिडित छन् । गाउँमा संचालन हुने निशुल्क स्वास्थ्य शिविरले त्यस्ता पिडित महिलालाई राहत पुराएको छ ।
कार्यबोझ न्युनिकरण संगै महिला शसक्तिकरण,उद्यमशीलताको विकास र महिलाको स्वास्थ्य सुरक्षा सम्बन्धी कार्यक्रमलाई जोड दिईने अध्यक्ष धितालको जोड छ ।
सिंजा गाउँपालिका ४ की पदमकली बुढा लामो समयदेखि तल्लो पेट दुख्ने,सेतो पानी बग्ने समस्याबाट ग्रसित थिईन् । चेतनाको अभाव,घरको आर्थिक अबस्था कमजोर र परिवारसंग खुलेर भन्न नसकेरै उनी आफ्ना समस्या लुकाउन बाध्य भईन् । आफ्नो स्वास्थ्य भन्दा घरको काममा बढी केन्द्रित हुँदा पछि पदमकलीको पाठेघर खस्ने समस्या हुन थाल्यो । उपचारको प्रतिक्षामा भएपनि उनले आफ्नोे समस्या कसैसंग सुनाईनन् । साथै उपचार गर्ने र जचाँउने मेसो पनि पाईनन् ।
तर शुक्रबार सिंजाको नराकोट स्वास्थ्य चौकीमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा बुढाले पहिलो पटक आफ्नो पाठेघर जँचाईन् । पाठेघर नखस्ने रिङ हालिन् । स्वास्थ्य चौकीमा पाठेघर खस्न नदिन रिङ लगाउने र अन्य जाँच हुने थाहा पाएपछि गाउँमै सबै समस्या जँचाउन पाउँदा राहत महसुश भएको बुढाले बताईन् ।
लामो समयदेखि पाठेघर खस्ने,तल्लो पेट दुख्ने समस्याबाट पिडित थिए । उनले भनिन,“ठुला अस्पताल पुगेर उपचार गर्न जँचाउन आर्थिक अबस्थाले सम्भव थिएन् । गाउँमै त्योपनि निशुल्क जाँच र उपचार पाउँदा खुसी लाग्यो ।”
त्यस्तै सिंजा गाँउपालिका ३ कै बसना सुनार पनि पाठेघर सम्बन्धी समस्याबाट पिडित थिईन् । उनले शुक्रबार गाउँमै पाठेघरको जाँच गराईन् । उनले भनिन,“स्वास्थ्य भन्दा काममा ध्यान दिएर,सानैमा बिवाह गरेर,बेलैमा आफ्ना समस्या भन्न नसकेर पाठेघर खस्ने हुँदो रैछ । स्वास्थ्य जाँचसंगै त्यो ज्ञान पनि पाए । गाउँमै सुविधा पाउँदा उत्साहित छु ।”
स्वास्थ्य शिविरबाट आफ्ना समस्या पहिचान,स्वास्थ्य जाँच र रोकथामका उपाय थाहा पाउँदा पदम र बसना जस्तै सिंजाका सयौ महिला खुसी भएका छन् । तर पाठेघर सम्बन्धी समस्या भोगेका पदमकली र बसना एक उदाहरण मात्र हुन् । जुम्ला सहित कर्णालीका अधिकांश महिला पाठेघर खस्ने समस्याबाट ग्रसित छन् । धेरै बच्चा जन्माउनु,सानैमा बिवाह गर्नु,धेरै तौलको भारी बोक्नु,कार्यबोझ जस्ता कारणले पाठेघर खस्छ । यहाँका महिला यस्ता विषयमा ध्यान दिदैन् । बेलैमा जाँच र उपचार नगराए पाठेघर क्यानसर सम्म हुन्छ ।
कर्णालीमा अधिकांश ग्रामिण महिला पाठेघर क्यान्सरको जोखिममा छन् । पाठेघर क्यान्सरको जोखिमबाट महिलालाई जोगाउन स्थानीय सरकारले पटक पटक स्वास्थ्य शिविर संचालन संगै कार्यभार घटाउन कृषिमा यान्त्रीकीकरणको अबधारणा ल्याउनु पर्ने आबश्यक छ ।
प्रतिक्रिया दिनुहोस