जुम्ला । जुम्ला बहमुखी क्याम्पस जुम्लामा स्ववियु निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । त्रिभुवन विश्वविद्यालयले फागुन ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तोकेको छ । सोही अनुरुप साविकको कर्णालीको एकमात्र आंगिक जुम्ला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको सबै तयारी पुरा भएको हो ।
मतपत्र छपाई, परिचयपत्र वितरण, मतदान स्थलको व्यवस्थापन,सुरक्षा व्यवस्था आदि सबैका तयारी पूरा भएको निर्वाचन समितिका संयोजक तथा उपप्राध्यापक प्रकाशचन्द्र खत्रीले बताउनुभयो । विद्यार्थी संगठनहरु, जिल्लाको सुरक्षा समिति सबैको संयुक्त बैठक बसालेर भोलीको लागि छुट्टै आचारसंहिता बनाएको छ । निर्वाचनका लागि आठ वटा विद्यार्थी संगठन र समूह दर्ता भएपनि अध्यक्ष पदको उम्मेदवारी पाँच जनाले मात्रै दिएका छन् ।
जसमा नेविसंघबाट महेश हमाल नेतृत्वको प्यानल,अनेरास्ववियुबाट लोकेन्द्र बुढा नेतृत्वको प्यानल,अखिल (क्रान्तिकारी) बाट विष्णु भण्डारी नेतृत्वको प्यानल, राप्रविसंघबाट हरि थापा नेतृत्वको प्यानल र अखिल (क्रान्तिकारी) विप्लवबाट रमेश रावत नेतृत्वको प्यानलको उम्मेदवारी परेको संयोजक खत्रीले जानकारी दिनुभयो । ।
नेक्राविसंघ, स्वतन्त्र विद्यार्थी समूह र समाजवादीको अनेरास्ववियूले केही पदमा उम्मेदवारी दिएका छन् । निर्वाचनमा होमिएका विद्यार्थी संगठनहरुबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यदपी,सबै विद्यार्थी संगठनले स्ववियु चुनाव जित्ने आआफ्नै दाबी गरिरहेका छन् । आईतबार बिहान ८ बजेबाट मतदान सुरु भई साँझ ५ बजे सकिने छ । भने जम्मा ७ सय ७२ जना विद्यार्थीले स्ववियुको नयाँ नेतृत्व छान्न मतदान गर्ने छन् ।