२ दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

हुम्ला — हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । शनिबार रातिदेखि मौसम खराब हुँदा हुम्लाको हवाई सेवा अवरुद्ध भएको हो । नेपालगन्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले मौसम खराबीका कारण उडान भर्न नसक्दा आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन् ।

हुम्लालाई अन्तरजिल्ला जोड्ने एक मात्र माध्यम हवाई सेवा भए पनि जिल्लाको मौसम बिग्रिँदा नेपालगन्ज र सुर्खेतदेखि सिमकोटका लागि कुनै उडान भएको छैन । आइतबारदेखि जिल्लाको मौसममा फेरबदल भई पानी परेपछि २ दिनदेखि सिमकोट विमानस्थलमा नेपालगन्ज र सुर्खेतबाट यात्रुसहित कार्गो सामान आउन सकेको छैन । हुम्लादेखि नेपालगञ्ज र सुर्खेत जाने तथा नेपालगन्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ ।

नेपालगन्जबाट हुम्लाका लागि तारा, समिट, सीता र नेपाल एयरलाइन्सका जहाजले उडान भर्दै आएका छन् । हुम्लाको मौसम बिग्रिएकाले नेपालगन्जबाट सिमकोटका लागि हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी रोकिएको छ । यात्रुहरू नेपालगन्ज, सुर्खेत र सिमकोटमै अलपत्र परेको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले बताए ।

यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुन सकेको छैन । शनिबार रातिबाट एक्कासी मौसम परिवर्तन हुँदा दिनहुा उडान भर्ने निजी विमान कम्पनीका जहाजले उडान नभर्दा हवाई सेवा अवरुद्ध भएको प्रमुख गिरीले बताए ।

जिल्लाको व्यापार व्यवसाय जाहजकै भरमा चल्ने भएकाले अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग जिल्ला सदरमुकाम नजोडिएको एक मात्र जिल्ला हुम्लामा हवाई सेवा अवरुद्ध हुँदा समस्या भएको हो ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस