को बन्ला प्रहरी महानिरीक्षक ? यस्ता छन् दाबेदार


काठमाडौँ । नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आईजीपी) का लागि रस्साकस्सी सुरु भएको छ । यही चैत २८ गते बहालवाला आईजीपी प्रकाश अर्यालले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश लिने भएपछि नयाँ आईजीपीका लागि रस्साकस्सी सुरु भएको हो ।

आईजीपीका लागि डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुस्कर कार्की चर्चामा छन् । डीआईजी उत्तम कार्की र धिरु बस्न्यालले समेत आईजीपीका लागि लविङ गरिरहेका छन् । पाँचैजना प्रहरी सेवामा अब्बल कार्यसम्पादन गर्ने अधिकृतका रुपमा चिनिन्छन् ।

तीनैजना अब्बल

वरियतामा पहिलो नम्बरका खनाल गुण्डागर्दी्विरुद्धको अपरेशन पर्नेमा चर्चित छन् । अनुसन्धानमा अब्बल अधिकृतका रुपमा खनाल चिनिन्छन् । उनले अहिले ट्राफिक महाशाखाको नेतृत्व गरिरहेका छन् । कुमार घैँटेसहित आपराधिक क्रियाकलापमा सं‌लग्नलाई खनालकै पाला इन्काउन्टर भएको हो ।

काठमाडौं प्रहरी प्रमुख, धनुषा प्रहरी प्रमुख हुँदै अञ्चल प्रहरी कार्यालय नारायणी र महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेका खनाल वरियताक्रममा समेत एक नम्बरमा छन ।

दोस्रो नम्बरका खरेल ’जनप्रिय’ प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । उनले आफु खटिएको क्षेत्र र जिल्लामा अपराधिक समूहलाई नियन्त्रणमा लिने काममा सफलता पाएका थिए । भ्रष्टाचार र अपराधविरुद्ध खुलेरै बोल्ने उनी दुई पटक काठमाडौंको प्रहरी प्रमुख भएर काम गरिसकेका छन् ।

एसपीका रुपमा कास्की प्रहरी प्रमुख हुँदा पोखराको गुण्डागर्दी्विरुद्ध उत्रिएर उनी चर्चामा आए । काठमाडौँको गुण्डागर्दीदेखि पर्साको वीरगन्जमा तस्करीविरुद्ध कडा कदम चालेर उनी चर्चामा आएका थिए । सामाजिक सञ्जालमा समेत उनका धेरै प्रशंसक छन् । उनले प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयको नेतृत्व सम्हालिरहेका छन् ।

तेस्रो वरियाता क्रममा रहेका पुस्कर कार्की पनि अब्बल अधिकृतका रुपमा चिनिन्छन् । महानगरीय अपराध महाशाखाको प्रमुख भएपछि कार्की चर्चित भए । उनको नेतृत्वमा गुण्डागर्दीमा संलग्न दिनेश अधिकारी ‘चरी’को इन्काउण्टर भएको थियो ।

हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख रहेका कार्कीको कमाण्डमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका योजनाकार समिरमान बस्नेत पक्राउ परे । मोरङको प्रहरी प्रमुख हुँदा समेत उनी चर्चामा आएका थिए । उनी प्रहरीमा रहँदा कुनै दाग लागेको छैन ।

खरेलसँगै प्रहरी सेवा प्रवेश गरेका चौथो नम्बरमा उत्तम कार्की इमान्दार प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । आईजीपीका मुख्य दाबेदार खनाल, खरेल र कार्कीमध्ये खरेल सबैभन्दा पहिले प्रहरी सेवा प्रवेश गरका हुन ।

एकैचोटी इन्स्पेक्टर

खरेल २०४५ फागुन १ मा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए । उनी असई (प्रहरी सहायक निरीक्षक) बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । तीनैजनाले प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भने सँगै नाम निकालेका हुन् ।

खनाल, खरेल र कार्की २०४६ माघ २९ मा इन्स्पेक्टर भएका थिए । आईजीपीका लागि पाँचै अधिकृत शक्ति केन्द्र धाइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा‘बादल’ देखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसम्म उनीहरुले लविङ गरिरहेका छन् ।

सरकार विवाद चाहँदैन

ओली सरकार आईजीपी नियुक्तको विवाद सकेसम्म फस्न चाहँदैन । योग्यमध्ये सबैभन्दा योग्य प्रहरी अधिकृतलाई प्रहरीको कमाण्ड सुम्पिनु र्ने दबाबमा सरकार छ । एसएसपी हुदाँसम्म खरेल खनाल भन्दा वरियताक्रममा अगाडी थिए भने डीआईजी हुँदा खनालले खरेललाई वरियताक्रममा पछाडि पारेका हुन् ।

अघिल्लो शेरबहादुर देउवाको सरकारको पालामा आईजीपी नियुक्तिमा ठूलो विवाद भएको थियो । वरियताक्रममा १ नम्बरका नवराज सिलवाललाई पाखा लगाएर सुदुरपश्चिमको नाताले जयबहादुर चन्दलाई बनाएपछि सर्वोच्च अदालतसम्म मुद्दा पुगेको थियो ।

अदालतले चन्दको नियुक्त बदर गरेपछि सरकार तेस्रो वरियता क्रममा रहेका प्रकाश अर्याललाई आईजीपी बनाइएको थियो । देउवा सरकारले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई यही विषयमा महाअभियोग समेत लगाएको थियो ।

महानिरीक्षक र अतिरिक्त प्रहरी महानिरीक्षकका लागि कार्यसम्पादन मूल्याङ्कनलाई सरकारले आधार मान्नुपर्ने पर्ने प्रहरी नियमावलीमा स्पष्ट व्यवस्था छ । कार्यसम्पादन मूल्याङ्कन, कार्यदक्षता र नेतृत्व गर्न सक्ने क्षमतालगायत प्रहरी नियमावलीले निर्दिष्ट गरेका प्रावधानलाई प्रमुख आधार बनाएर ‘प्रहरी प्रमुख व्यवस्था छ ।

खनाल, खरेल र कार्कीमध्ये एकजनालाई एआईजीपी बनाएर वा डीआईजीबाट सीधै आईजीपीको जिम्मेवारी दिने सम्भावना छ ।

के छ व्यवस्था ?

प्रहरी नियमावली २०७१ मा भनिएको छ, ’प्रहरी महानिरीक्षक पदमा बढुवाका लागि प्रहरी अतिरिक्त महानिरीक्षकहरुमध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायव महानिरीक्षकहरूमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ ।’

क्षमता देखाउ, दैलो नधाउ

आईजीपी प्रकाश अर्यालसहितका १५ एआइजी र २ डीआईजी यही चैत २८ मा अवकाशमा जाँदैछन् । ‘दक्षतालाई विश्वास गर्नुहोस, दैलो दैलो परिक्रमा नगर्नुहोस्, पूर्व प्रहरी नायव महानिरीक्षक केशव अधिकारीले आईजीपीका दाबेदार आफ्नो क्षेत्रमा समक्ष भएकोले दैलो परिक्रमा काम बन्द गर्न सुझाव दिएका छन् ।

पछिल्लो समयमा प्रहरी सेवा अत्यन्त कमजोर भएको बताउँदै पूर्वडीआईजी अधिकारीले आफ्नो दक्षता प्रदर्शन गरेर अहिलेको अवस्थाबाट प्रहरी सेवालाई ’निजात’ दिलाउने नेतृत्वको आवश्यकता रहेको बताए ।

’तपाईँहरु एउटा एउटा क्षेत्रमा दक्ष हुनुहुन्छ, आफ्नो दक्षताको प्रर्दशन गर्नुहोस्, दैलो दैलो परिक्रमा गर्ने काम बन्द गर्नुहोस’ उनले भने, ’तल्लो तहका प्रहरीलाई तेरो पछाडि म छु भन्ने नेतृत्व मात्रै प्रहरी सेवामा आवश्यक छ ।’

उनले पछिल्लो समय राजनीतिक हस्तक्षेपले प्रहरी सेवा अत्यन्त कमजोर बनेको टिप्पणी गरे । अधिकारीले निरीक्षक (इन्स्पेक्टर) देखि प्रहरी उपरीक्षक (एसपी) सम्म प्रहरीको मिड लेभल (मध्यम तह) एकदमै निराश रहेको विश्लेषण गरेका छन् ।

तल्लो तह निराश

‘बढुवा हुन १२र१४ वर्ष कुर्नु पर्छ, जसले गर्दा ’मिड लेबल’ अत्यन्त असन्तुष्ट र निरास छ, निरासा भएर इमान्दार प्रहरी अधिकृतहरु पलाय भइरहेका छन्।’ उनी भन्छन् । उनले उपल्लो तहमा भने एक वर्षमा नै ३र३ तह बढुवा हुने हुँदा तल्लो तहमा थप असन्तुष्टि र निरासा बढ्दै गएको बताए ।

अधिकारीले डीआईजीमाथिको एकै वर्षमा तीन तहसम्म बढुवा हुने गरेको तथ्य उजागर गरे । प्रहरीको चेन अफ कमाण्ड जबरजस्ती मात्रै चलेको अधिकारीको अनुभव छ ।

’प्रहरी भित्रको अनुशासनले मात्रै चेन अफ कमाण्ड चलेको छ, भित्रदेखि आफू भन्दा माथिल्लो तहको सम्मान छैन, बाहिर देखाउन मात्रै सलाम ठोकिन्छ’, उनले भने ।

उनले जवानदेखि अधिकृतसम्मकै मनोबल गिरेको बताए । उनले अहिलेको सरकारको उद्देश्य स्थायित्व, विकास र समृद्धि भएको बताउदैँ त्यसको लागि शान्ति सुरक्षा सुदृढ हुने पर्ने प्रष्ट पारे । ‘सरकारको उद्देश्य पूरा गर्न शान्ति सुरक्षा सुदृढ हुनुपर्छ तर शान्ति सुरक्षा गर्ने प्रहरी नै निराश छन्’, उनले भने ।

इतिहासमै कम्जोर ?

७२ हजार भन्दा बढी प्रहरीको नेतृत्व गर्न सक्ने र राजनीतिक हस्तक्षेपबाट संगठनलाई बचाउने सक्नेले नेतृत्व गर्नुपर्ने बताए । अधिकारीले २०४९ सालमा रत्न सम्शेरको पालापछि अहिलेसम्मकै सबैभन्दा कमजोर प्रहरी संगठन भएको बताए ।

’राजनीतिक हस्तक्षेपले प्रहरी संरचना गिजोलिएको छ’, उनले भने, ’जनशक्ति व्यवस्थापन थिलथिलो भएको छ ।’

तपाईको प्रतिक्रिया